यूभल नोहा हरारी । अल्गोरिदमले मानव र मानव संस्थानहरूप्रति अविश्वास पैदा गरिरहेको छ । अर्थतन्त्रमा ‘भर्चुअल’ वित्तीय प्रणाली निर्माण भइरहेको छ । लोकतन्त्रमा अतिवादको प्रवद्र्धन हुँदै छ । अल्गोरिदमको सहायतामा रहस्यमय शैलीमा मानिसहरूलाई महामानव बनाइँदै छ । लोकतन्त्रका लागि यो सबैभन्दा घातक छ ।
हामी एआइ र अल्गोरिदमको युगमा छौँ । विश्वमा जैविक र गैरजैविक प्रणालीबीच द्वन्द्व छ । यो द्वन्दवको मारमा समुदाय छ । यसको प्रभाव अर्थतन्त्रमा परेको छ । यसको असर राजनीतिमा देखापरेको छ । समाज, अर्थतन्त्र, मिडिया र राजनीतिमा एआई र अल्गोरिदमको बढ्दै गएको प्रभुत्वबारे चर्चा गरौँ ।
मानवीय संवाद शैली बिथोलिरहेको अल्गोरिदम
मानिस जैविक प्राणी हो । अर्बौँ वर्षदेखि हाम्रा गतिविधिहरू चक्रीय प्रणालीमा चलिरहेका छन् । मानिसलाई कामका लागि निश्चित समय छुट्टाइयो, आरामका लागि पनि समय तोकियो । तर, गैरजैविक तत्व एआई र अल्गोरिदमले मानसिका चक्रीय प्रणाली बिथोलिरहेका छन् ।
गैर जैविक तत्वहरू चक्रीय प्रणालीमा चल्दैनन् । उनीहरूलाई आराम गर्नुपर्दैन । उनीहरू निरन्तर सक्रिय हुन सक्छन् । असीमित रूपमा सक्रिय एआई र अल्गोरिदमले मानिसको संवाद शैली परिवर्तन गरेका छन् । मानव संवादका विषय अल्गोरिदमले निक्र्यौल गरिरहेका छन् ।
मानिसका हात हातमा धेरै सुविधायुक्त प्रविधि छ । संवादमा प्रविधिले ल्याएको सहजताकाबीच एक विरोधभास बढिरहेछ । विपरीत ध्रुवमा रहेका मानिससँगको संवाद तुरून्तै संभव हुँदा सहकर्मी र छिमेकीका आपसी संवादमा भने दुरी छ । संवाद भनेको बोल्नु मात्रै होइन सुन्नु पनि हो ।
मानिसहरू कसैका कुरा सुन्न चाहिरहेका छैनन् । साधारण सत्यमाथि पनि मानिसहरूले विश्वास गरिरहेका छैनन् । सञ्चारका लागि अत्यावश्यक गुण श्रवण हराइरहेको छ । मानिसहरूबीचको संवाद गैरजैविक तत्व अल्गोरिदमले निर्देशित गरिरहेको प्रशस्तै उदाहरण छन् ।
फेसबुक, टिकटक इन्स्टाग्राममा अल्गोरिदमको सहायताबाट मानव अन्तरक्रिया वृद्धि गरिन्छ । अल्गोरिदमको सहायताबाट अन्तरक्रिया वृद्धिका लागि अर्बौँ मानिसहरूमा अनुसन्धान भएको थियो । मानिसहरूको कमजोरी पत्ता लगाउने उद्देश्यले अनुससन्धान केन्द्रित भयो ।
मानवबीच अन्तरक्रिया बढाउने साधरण उपायका रूपमा ‘लाइक’ र ‘डिसलाइक’ बटन । ‘एंग्री बटन’ जस्ता फिचर ल्याइयो । यस्ता फिचरले अन्तरक्रिया बढाउन कसरी सहयोग गर्यो त ?
अल्गोरिदमको सहायताबाट कस्ता कस्ता पोस्टमा मानिसहरू कतिबेर सक्रिय हुन्छन् भन्ने पत्ता लाग्यो ।
प्रविधिको सहायताबाट मानिसको कमजोरी पत्ता लगाइयो । एउटा ह्याकरले डिभाइस वा वेबसाइट ह्याक गर्नुअघि पहिले कोडको कमजोरी पत्ता लगाउँछ । अनि त्यसपछि ह्याक गर्छ ।
अल्गोरिदमलाई पनि मानवीय कमजोरी पत्ता लगाउन उपयोग गरिन्छ । मानिसहरूलाई के कुराले आक्रोशित बनाइरहेको छ ? के कुरामा उनीहरू अत्यधिक रमाइरहेका छन् ? के कुराले उनीहरूमा घृणा पैदा गरिरहेको छ ? मानिसहरूका यी आनीबानी पहिचान गर्दै तदअनुरूपको सूचना उनीहरूमाझ पुर्याइन्छ ।
निश्चय पनि मानिसहरूको संलग्नताकै कारण सूचना र सन्देश अल्गोरिदमले निर्देशित गरिरहेका हुन् । यद्यपि मानिसहरूलाई त्यसमा सक्रिय हुन अल्गोरिदमले नै बाध्य बनाउँछन् । यसले मानिसमा नकरात्मकता बढाएको छ । समाजमा सबैभन्दा धेरै नकरात्मकता फैलिरहेको छ ।
मानिसहरूलाई एआईले आफ्नो जागिर खोस्ने चिन्ता छ । सबैभन्दा पहिले एआईले ट्याक्सी ड्राइभरहरूको जागिर खोसेको हो । सामान्य जागिर मात्रै होइन वर्चश्वशाली जागिर पनि एआईले खोसेको छ । अल्बानियाले त एआईलाई मन्त्री नै बनायो । मानिसहरूले एआईले जागिर खोस्ने चिन्ता कम गर्नुपर्छ । एआई र अल्गोरिदमले मानिसहरूका कमजोरी पत्ता लगाउने भएकाले आफूहरूका कमजोरी थाहा नदिनेतर्फ मानिसहरूले चिन्तन गर्न जरूरी छ ।
मानिसहरूले अभिव्यक्ति स्वतन्त्रताका आवरणमा नकरात्मक वा घृणा फैलाउने पोस्ट गर्न सक्छन् । यस्ता पोस्ट आफैँमा घातक छन् । तर जब यी पोस्ट अल्गोरिदमले अर्बौँ मान्छेकहाँ पुर्याउँछ यो अवस्था सबैभन्दा बढी घातक हुन्छ । नकरात्मकता फैलाउन अल्गोरिदमको प्रयोग नहुनुपर्ने हो तर यस्तै भइरहेको छ । त्यसैले एआई वा अल्गोरिदमलाई मानिसको नक्कल गर्नबाट रोक लगाउनुपर्छ ।
आममानिसहरूले पनि आफूले च्याटबोटसँग कुराकानी गरिरहेको हो वा होइन भन्ने विषय निक्र्यौल गर्न सक्नुपर्छ । मानवीय सक्रियताकै कारण एआई र अल्गोरिदमले सञ्चार निर्देशित गरेकाले मानिसहरू नै सबैभन्दा बढी सतर्क हुनुपर्छ ।
हाम्रै अधिक सक्रियताका कारणले मानवीय संवाद गैरजैविक तत्वबाट निर्देशित भएको कुरामा हामी जानकार छौँ । तैपनि हामी थप सक्रिय भइरहेका हुन्छौँ । हाम्रो पहुँचमा आएका सबै सूचनामा हामी विश्वस्त नहुन सक्छौँ तर पनि हामी ‘स्क्रोल’ गर्न छोड्दैनौँ । विश्वास भनेको अभिव्यक्ति मात्रै होइन, अभ्यास हो ।
हवाईजहाजमा बसेर तपाईले वायुसेवा प्रदायकप्रति अविश्वास प्रकट गर्न सक्नुहुन्छ । हवाईयात्राबारे नकरात्मक धारणा व्यक्त गर्न सक्नुहुन्छ । यद्यपि तपाईको हवाई सयरले वायुयान बनाउने इन्जिनियर र यसलाई उडाउने पाइलटप्रति तपाईको विश्वास प्रतीत हुन्छ ।
तपाईले सचेतपूर्क सञ्जालका सूचनामा विश्वास गर्दिँन भन्न सक्नुहुन्छ । तर जब तपाई ‘स्क्रोल’ गर्न थाल्नहुन्छ त्यसले तपाईको विश्वास प्रतिविम्बित गर्छ । विश्वास पनि मानव वा मानव संस्थानभन्दा बाहिर अल्गोरिदम र एआईतर्फ सरेको छ । बहुसंख्यक मानिसहरू विवेक प्रयोग गरेर विश्लेषण गर्दैनन् ।
अल्गोरिदमले प्रवाह गरेको सन्देशमा तुरून्तै विश्वस्त भइरहेका हुन्छन् । अल्गोरिदमले मानिसलाई सामाजिक सञ्जालको लत बसाइदिएको छ । एकैछिन सामाजिक सञ्जालबाट पर रहने बित्तिकै मानिसमा छटपटी हुन्छ । कतै केही कुरामा म पछि त परिनँ भन्ने तनाव मानिसमा देखिन्छ ।
अर्थतन्त्रमा एआई र अल्गोरिदमको प्रभाव
अल्गोरिदमको मारमा अर्थतन्त्र पनि छ । पहिले वालस्ट्रिट सोमबारदेखि शुक्रबारसम्म चल्थ्यो । बिहान ९ः३० देखि अपराह्न ४ः३० सम्म कारोबार हुने वालस्ट्रिटको पनि आफ्नै चक्रीय प्रणाली थियो । लगानीकर्ताहरूले कम्तीमा हप्ताको दुई दिन आराम गर्न पाउँथे । ब्रोकर र बैंकरले पनि आराम पाउँथे ।
वालस्ट्रिटको वित्तीय प्रणाली एआई र अल्गोरिदमबाट निर्देशित हुन थालेसँगै त्यसको चक्रीय प्रणाली बिथोलिएको छ । लगानीकर्ताहरू पहिलेभन्दा बढी सक्रिय हुनुपरेको छ । अलिकति आराम गर्ने बित्तिकै उनीहरूको लगानी डामाडोल हुनसक्छ ।
पहिले आर्थिकलगायत हरेक काम मानवबाट मात्रै सम्भव थियो । अब एआईबाट धेरै काम सम्भव छन् । एआईले मानव सम्मिलित अर्थतन्त्रमा अविश्वास पैदा गरिसक्यो । क्रिप्टोकरेन्सीको सिर्जना त्यसैको उपज हो । मानव सम्मिलित बैंकिङ संस्थामा अविश्वासकै कारणले क्रिप्टो कारोबार बढ्दै गयो । लगानीकर्ताहरूले अल्गोरिदमबाट सिर्जित भर्चुअल पैसामा बढी सुरक्षित महसूस गरे ।
वित्तीय क्षेत्रमा एआईबाटै बैंक खाता सञ्चालन सम्भव छ । एआईले नै खरिद– बिक्रीको काम गर्नसक्छ । गैरजैविक तत्व एआई निकै प्रभावशाली छ । यसले नयाँ सोचमा काम गर्नसक्छ । आफ्नो निर्णय आफैँ लिनसक्छ । अब यसले एक मानवझैँ कानुनी वैद्यता पायो भने यसको परिणाम के होला त ?
अमेरिकामा एआईलाई मानिसझैँ कानुनी वैधता प्राप्तिको बाटो खुलेको छ । अमेरिकी कानुनले संस्थालाई कानुनी वैधता प्राप्त व्यक्ति बराबर नै मान्छ । सन् २०१० मा अमेरिकी सर्वोच्च अदालतले नै संस्थालाई कानुनी वैधता प्राप्त व्यक्ति मान्ने फैसला गर्यो ।
संस्थाहरूलाई कानुनी वैधता प्राप्त व्यक्ति मान्नेबित्तिकै उनीहरूले पनि अभिव्यक्ति स्वतन्त्रताको उपयोग गर्न पाउने भए ।
संस्थाहरूलाई राजनीतिक दललाई चन्दा दिने अधिकार छ । यो प्रबन्धले एउटा जोखिम निम्त्याएको छ । एआई र अल्गोरिदमबाट सिर्जित क्रिप्टोकारोबाट कुनै एआई संस्थाले पैसा कमाएको खण्डमा उसले राजनीतिक दललाई चन्दा उपलब्ध गराउने भयो ।
उक्त चन्दाको आडमा उसले आफ्नो अधिकार विस्तारका लागि लबी गर्ने जोखिम बढेको अवस्था छ । झट्ट सुन्दा यो निकै काल्पनिक सुनिन्छ । तर वास्ताविकतामा परिणत हुने जोखिम बढिरहेको छ ।
अल्गोरिदम सिर्जित अतिवादको जोखिममा लोकतन्त्र
लोकतन्त्र भनेको खुला संवाद हो । सामूहिक समस्याको निराकरणका लागि मानिसहरू एक ठाउँमा आएर छलफल गर्दै निर्णय लिने पद्धति लोकतन्त्र हो । निश्चित संख्याका मानिसबीच संवाद सहज र सरल हुन्छ ।
प्रविधिले लाखौँ र करोडौँ मानिसकसँगको संवादलाई सरल बनाएको छ । इतिहासमा सानो संख्या र समूहकाबीच रहेको लोकतन्त्रलाई फैलाउने काम पत्रपत्रिका, रेडियो, टेलिभिजनबाट भयो । इन्टरनेटको आगमनसँगै यसले लोकतन्त्रको फैलावट बहुसंख्यक मानिसकाबीच भयो ।
त्यसैले आमसञ्चारका प्रविधि विलासिता होइनन् यी प्रविधि आधारभूत आवश्यकता हुन् । आमसञ्चारका प्रविधिले लोकतन्त्रमा अत्यावश्यक संवादलाई आकार दिन सहयोग पुर्याउँछन् । संवाद के मा गर्ने, के कुरामा प्रश्न उठाउने भन्ने निक्र्यौल पहिले मानिसहरूले गर्थे । पत्रपत्रिका, रेडियो टेलिभजनका सम्पादकहरूले नागरिकलाई उठाउनुपर्ने प्रश्नप्रति सचेत गराउँथे । उनीहरू समाजका निकै प्रभाशाली मानिसहरू मानिन्थे । त्यो अवस्था कमजोर बन्दै गएको छ । यसको एकै कारण हो, अल्गोरिदम ।
अल्गोरिदमले नै न्युज फिड अध्यावधिक गरिदिन्छ । प्रयोगकर्ताका फेसबुक र टिकटकमा आउने न्युजफिडहरूको नियन्त्रण अल्गोरिदिममा छ । पाठकहरूले परम्परागत मिडिया र तीनका सम्पादकमाथि अविश्वास गर्दै आफ्नो सामाजिक सञ्जाल अध्यावधिक गरिदिने अल्गोरिदमप्रति बढी विश्वास गरिरहेका छन् । जब सार्वजनिक संवाद अल्गोरिदमको नियन्त्रणमा हुन्छ त्यसले लोकतन्त्रलाई चुनौती थपिदिन्छ ।
अल्गोरिदमका कारण विश्व राजनीतिमा मध्ययुगीन कालझैँ परिस्थिति सिर्जना भइरहेको छ । उतिबेला मानिसहरू लोकतान्त्रिक संस्थामा भन्दा चामत्कारिक व्यक्तिमा विश्वास गर्थे । त्यही परिस्थिति निम्तिरहेको छ । अल्गोरिदमको सहायतामा रहस्यमय मानिसहरूलाई महामानव बनाइँदै छ । लोकतन्त्रका लागि यो सबैभन्दा घातक छ ।
लोकतन्त्र भनेको निश्चित अवधिका लागि आफूमाथि शासन गर्ने शासक चयनको प्रणाली हो । यो पद्धतिमा एउटा जोखिम रहन्छ । आफूमाथि शासन गर्न चयन भएको शासकले तोकिएको समयावधिपछि शासनसत्ता जनतामा फिर्ता नगर्न पनि सक्छ । जनताले शासनसत्ता सुम्पिएको मानिसले जनतालाई शासन सत्ता फिर्ता नगरे के गर्ने ?
यस्ता प्रतिनिधिले लोकतन्त्रको नियन्त्रण र सन्तुलन भताभुङ्ग पारिदिन्छन् । त्यसैले निकै होसियारीपूर्वक शासक चयन गर्नुपर्ने हुन्छ । अल्गोरिदमले तयार गरिरहेको भाष्यबाट प्रभावित हुँदै शासक चयन गरेमा लोकतान्त्रिक प्रणालीमा चलिरहेको मुलुक निरंकुशतामा प्रवेश गर्न कत्ति पनि समय लाग्दैन । एकपटक निरंकुशतामा प्रवेश गरिसकेपछि फेरि लोकतन्त्रमा फर्किन निकै कठिन हुन्छ ।
लोकतन्त्र बलियो हुन यो प्रणालीप्रति बहुसंख्यक मानिसको सद्भाव र विश्वास हुन जरूरी छ । समृद्ध संविधान हुँदैमा लोकतन्त्र समृद्ध हुँदैन । लोकतान्त्रिक समृद्धिको मापन कागजमा नभएर व्यवहारिक अभ्यासमा हुने हो । लोकतन्त्र जीवित छ वा मृत भन्ने कुरा जनताको अनुभूतिमा निर्भर हुन्छ ।
आवधिक निर्वाचनले मात्रै लोकतन्त्र सुनिश्चित हुँदैन । लोकतन्त्रले राम्रोसँग काम गर्न धेरै मानिसहरूको विश्वास र सद्भाव भएको लोकतान्त्रिक आचरणको व्यक्तिको पनि आवश्यकता हुन्छ । आवधिक निर्वाचन त रूस, भेनेजुएला र उत्तर कोरियामा पनि हुन्छ । रूसको समृद्ध संविधान मृत प्रायः छ । तसर्थ, शासक चयनमा जनताले निकै ध्यान दिनुपर्छ ।
यदि जनता नै लोकतन्त्रप्रति आकर्षित छैनन् भने उनीहरूलाई जबरजस्ती यस प्रणालीमा बस्नुपर्छ भन्न सकिँदैन । तर सम्झाउन के जरूरी छ भने लोकतन्त्रले सबैलाई सुन्छ । निरंकुशताले आफू अनुकूलको कुरा मात्रै सुन्छ ।
शासकीय दृष्टिकोणले लोकतन्त्र निकै जटिल प्रक्रिया हो भने निरकुंशता धेरै सहज कुरा हो । लोकतन्त्रमा देखापरेका समस्या कसैले पनि जादूको भरमा समाधान गर्न सक्दैन । यसका लागि लोकतान्त्रिक संस्थाहरूलाई नै बलियो बनाउनुपर्छ । नियन्त्रण र सन्तुलनलाई बलियो बनाउनुपर्छ ।
अल्गोरदिमको यो युगमा यता भने कमैको ध्यान छ । अल्गोरदिमले मध्ययुगीन समयमाझैँ कुनै एक व्यक्तिको व्यक्तित्वको प्रचार–प्रसार गरेर उबाट सबै समस्याको हल हुने मनोविज्ञान तयार गरिरहेको छ ।
पहिले मानिसहरू राजनीतिक सिद्धान्त र विचारका आधारमा नेताहरूबाट प्रेरित हुन्थे । अब अल्गोरिदमले गरिदिएको प्रचारबाट प्रभावित भइरहेका छन् । निर्वाचनमा मानिसहरू भावना र इच्छा अनुसार मतदान गर्छन् । मानिसहरूमा अल्गोरिदमले भावना जागृत गरिरहेको छ, जुन लोकतान्त्रका लागि निकै घातक छ ।
सामाजिक सञ्जालले समाजलाई निकै ध्रुवीकृत बनाइरहेको छ । अल्गोरिदमले राजनीतिक अतिवाद फैलाइरहेको छ । लोकतन्त्रले सन् १९३०, १९६० र १९७० को दशकमा पनि संकटको सामना गरेको थियो ।
लोकतन्त्र निकै अनुकुलनीय रहेकाले यो संकट पनि लोकतन्त्रले पार गर्नसक्ने छ । यद्यपि लोकतन्त्रको भविष्य भने जनतामा नै नीहित छ । शासक छनौटमा जनताले प्रयोग गर्ने विवेकले नै लोकतन्त्रको दिशा तय गर्छ । विवेक नै अल्गोरिदमको बन्धक बन्ने जोखिम भने उच्च छ ।




