हरेक युगमा समयले यस्ता केही विशेष व्यक्ति जन्माउँछ, जसले समाजमा आशाको उज्यालो फैलाउँछन्, जनताको पीडा बोल्छन्, र परिवर्तनको यात्रा सुरु गर्छन्। ती व्यक्ति सामान्य जस्ता देखिए पनि उनीहरू वास्तवमै असाधारण हुन्छन्। युगका नायक, जसले इतिहासको दिशा फेर्छन्। जब देश संकटमा हुन्छ, जब समाज अन्योलमा हुन्छ, त्यही बेला यस्ता व्यक्ति एक दीपजस्तै उदाउँछन् साहस, सेवा र सत्यको उज्यालो लिएर।
यस्तैमध्ये एक हुनुहुन्थ्यो दार्चुलाका स्वर्गीय प्रेम सिंह धामी। उहाँले न केवल जनताको मन जित्नुभयो, बरु जनजीवनमा परिवर्तन ल्याउने मार्गदर्शक बन्नुभयो। सुदूरपश्चिम नेपालको एउटा सामान्य गाउँमा जन्मिएर राष्ट्रिय नेताका रूपमा उदाउनु, र आफ्नो जीवनलाई जनसेवा र राष्ट्र निर्माणमा समर्पित गर्नु, वास्तवमै प्रेरणादायी यात्रा हो।
स्व. प्रेम सिंह धामीको जन्म वि.सं. २००९ साल भदौ २९ गते, दार्चुला जिल्लाको मालिकार्जुन गाउँपालिका ३, भौतडी गाउँमा भएको थियो। उहाँले पञ्चायती कालमा निजामती सेवाबाट आफ्नो करियर सुरु गर्नुभयो र इमानदारी र निष्ठाका साथ राष्ट्रसेवा गर्नुभयो। तर जब वि.सं. २०४६ मा बहुदलीय प्रजातन्त्र पुनःस्थापित भयो, उहाँले आफ्नो जागिर त्याग गरेर सक्रिय राजनीतिमा होमिनुभयो। उहाँको विश्वास थियो राजनीतिक परिवर्तन बिना दार्चुला जस्ता दुर्गम क्षेत्रका जनताको जीवन सुधार सम्भव छैन।
वि.सं. २०४८ मा उहाँ कञ्चनपुरबाट प्रतिनिधिसभाको निर्वाचनमा उठ्नुभयो तर पराजित हुनुभयो। त्यो हारले उहाँलाई निराश होइन, झन् बलियो बनायो। त्यसपछि वि.सं. २०४९ मा उहाँ तत्कालीन नेकपा (माले) को केन्द्रीय सदस्य बन्नुभयो र राष्ट्रिय सभामा प्रवेश गर्नुभयो। सोही वर्ष उहाँ महाकाली अञ्चल इञ्चार्ज र पार्टीका ३३ केन्द्रीय सदस्यमध्ये एक हुनुहुन्थ्यो। उहाँको वाकशक्ति, नेतृत्व क्षमता र जनताप्रतिको निष्ठाले उहाँलाई विशेषगरी सुदूरपश्चिममा एक लोकप्रिय, विश्वासिलो र आदरणीय नेताको रूपमा चिनायो।
वि.सं. २०५१ मा मध्यावधि निर्वाचनमा सांसदमा विजयी भएपछि उहाँ मनमोहन अधिकारीको नेतृत्वमा बनेको नौ महिने कम्युनिष्ट सरकारमा भौतिक योजना तथा निर्माण मन्त्रालयको राज्यमन्त्री बन्नुभयो। छोटो कार्यकालमै उहाँले धेरै दृढ कदम चाल्नुभयो विशेष गरी पूर्वाधार विकासमा। उहाँले महाकाली राजमार्गलाई दार्चुलाको मेरुदण्ड ठानी त्यसको निर्माणको लागि सरकारलाई पटक–पटक दबाब दिनुभयो। बजेट विनियोजन नभएमा राजीनामा दिने चेतावनीसम्म दिनुभएको थियो। उहाँको दृढताले गर्दा त्यो राजमार्गको काम तीव्र भयो, जुन आज सुदूरपश्चिमका लागि जीवनरेखा बनेको छ।
धामीज्यू केवल विकासकर्मी मात्र होइन, सांस्कृतिक चेतनाका अभियन्ता पनि हुनुहुन्थ्यो। उहाँले सुदूरपश्चिमको गौरवशाली गौरापर्वलाई राष्ट्रिय मान्यता दिन संसदमा बारम्बार आवाज उठाउनुभयो। उहाँको प्रयासकै कारण सरकारले भदौ अष्टमीमा सार्वजनिक बिदा दिने निर्णय गर्यो। यसले सुदूरपश्चिमवासीको पहिचान र गर्वमा अभिवृद्धि गर्यो। उहाँ सधैं राष्ट्रको हितमा निर्भीक रूपमा बोल्नुहुन्थ्यो। उहाँको एउटा प्रसिद्ध प्रश्न “काठमाडौँलाई कालापानी किन दुखदैन ?” आज पनि जनताका मनमा गुञ्जिरहेकै छ।
वि.सं. २०५३ मा माओवादी द्वन्द्व उत्कर्षमा रहँदा सरकारद्वारा गठन गरिएको अध्ययन समितिको संयोजकको रूपमा उहाँले शान्तिपूर्ण समाधानको मार्ग खोजन प्रयास गर्नुभयो। यसबाट उहाँप्रतिको राष्ट्रिय विश्वास झल्किन्छ। तर दुःखद रूपमा, वि.सं. २०५४ साल भदौ २७ गते, नुवाकोटको क्युनिरी भीरमा भएको सवारी दुर्घटनामा उहाँले असामयिक रूपमा ज्यान गुमाउनुभयो। उहाँको निधनले दार्चुला मात्रै होइन, सम्पूर्ण नेपाल शोकमा डुब्यो। आज पनि उहाँको अभाव गहिरो रूपमा महसुस गरिन्छ।
प्रेम सिंह धामी साँचो अर्थमा जनताको नेता हुनुहुन्थ्यो सेवा, संघर्ष र समर्पणमा विश्वास गर्ने। उहाँले देखाउनुभयो कि साँचो नेतृत्व भनेको पद होइन, जनता र राष्ट्रप्रति उत्तरदायित्व हो। उहाँले भौगोलिक रूपमा टाढिएको सुदूरपश्चिमलाई विकासको मूलधारमा ल्याउने काम गर्नुभयो, पहिचानलाई सम्मान गराउनुभयो र राष्ट्रिय स्वाभिमानको पक्षमा निडर भएर बोल्नुभयो।
(यो लेखका लेखक महाकाली नगरपालिका-७ घर भएका विशाल सिंह रैखोला दार्चुला बहुमुखी क्याम्पसमा स्नातक तहमा अध्ययनरत छन् । – Inspired by Lokdarpan TV
(यस सामग्रीका केही विचार Lokdarpan TV बाट प्रेरित छन्।)





प्रतिक्रिया