
दार्चुला । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार प्रकाशन गरेको एसईई २०८१ को नतिजा अनुसार दार्चुलामा नौगाडको लटिनाथ मावि खारबाट सबैभन्दा बढी ९१.१८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । दार्चुलाका नौं वटा स्थानीय तहको पालिकागत नतिजा हेर्दा महाकाली नगरपालिकाले उत्कृष्ट नतिजा ल्याएको छ। जिल्ला सदरमुकाममा रहेको नगरपालिकाबाट एसईई परीक्षामा सहभागी विद्यार्थी मध्ये ५६.०३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्, यो जिल्लाका ९ वटै स्थानीय तहमा सबैभन्दा बढी हो । नगरपालिका भरिका १२ वटा सामुदायिक र संस्थागत विद्यालयका ५३५ जनाले एसईई परीक्षा दिएकोमा ३०१ जना विद्यार्थी उत्तीर्ण भएका छन् ।
नगरपालिकाको महेन्द्र नमुना माध्यमिक विद्यालय खलंगाबाट २७७ जनाले परीक्षा दिएकोमा १९३ जना (७० प्रतिशत) विद्यार्थी उत्तीर्ण (ग्रेडेड) भएका छन् । महेन्द्र नमुना माविका ३४ जना विद्यार्थीको ३.६ भन्दा माथिको जिपिए रहेको छ । प्राविधिक धारतर्फ मालिकार्जुन मावि धापले ८८ प्रतिशत नतिजा ल्याएको छ ।
त्यस्तै महाकाली नगरपालिका पछि जिल्लामा प्रतिशतमा बढी नतिजा ल्याउने स्थानीय तहमा दुहुँ गाउँपालिका रहेको छ। दुहुँ गाउँपालिकाबाट एसईई परीक्षामा ५२ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । गाउँपालिका भित्रका ५ वटा विद्यालयका ७८ जना विद्यार्थीले परीक्षा दिएकोमा ४१ जना अर्थात ५२.५६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको गाउँपालिकाले जनाएको छ।
त्यस्तै जिल्लामा उत्कृष्ट नतिजा ल्याउने तेस्रो स्थानीय तहमा नौगाड गाउँपालिका रहेको छ। नौगाड गाउँपालिकाबाट २०८१ सालको एसईई परीक्षामा ५१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । गाउँपालिकाबाट एसईई परीक्षामा सहभागी विद्यार्थी मध्ये ५१.४५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका हुन् । गाउँपालिका भरिका ७ वटा विद्यालयबाट १७३ जनाले एसईई परीक्षा दिएकोमा ८९ जना विद्यार्थी उत्तीर्ण भएको गाउँपालिकाका सूचना अधिकारी प्रेमराज जोशीले बताउनुभयो ।
यस्तै जिल्लामा प्रतिशतका आधारमा बढी नतिजा ल्याउने विद्यालयहरुमा क्रमशः प्रथम नौगाड गाउँपालिकाको लटिनाथ माध्यमिक विद्यालय खारको ९१.१८ प्रतिशत ग्रेडेड नतिजा रहेको छ। दोस्रो स्थानमा महाकाली नगरपालिकाको मालिकार्जुन माध्यमिक विद्यालय धापको प्राविधिक धार तर्फ ८८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । त्यस्तै नौगाड गाउँपालिकाको समैजी माध्यमिक विद्यालय सौकेबगडको ८१.८२ प्रतिशत ग्रेडेड नतिजा रहेको छ। महाकाली नगरपालिकाको राष्ट्रिय मावि दत्तुको ८० प्रतिशत, दार्चुला पब्लिक स्कुलको ७१ प्रतिशत ग्रेडेड नतिजा रहेको छ भने महाकाली नगरपालिकाकै महेन्द्र नमुना माध्यमिक विद्यालयको ७० प्रतिशत ग्रेडेड नतिजा रहेको छ । विद्यार्थी संख्याको आधारमा जिल्ला सदरमुकाम खलंगामा रहेको महेन्द्र नमुना माध्यमिक विद्यालयबाट धेरै विद्यार्थी उत्तीर्ण भएका छन् । महेन्द्र मावि खलंगाबाट २७७ जनाले परीक्षा दिएकोमा १९३ जना विद्यार्थी (ग्रेडेड) उत्तीर्ण भएका छन् ।
समग्रमा दार्चुलाबाट एसईईमा सहभागी भएका विद्यार्थी मध्ये ३५.०७५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । गत चैतमा सञ्चालन भएको एसईईमा २ हजार १८१ जना परीक्षार्थी सहभागी भएका थिए । परीक्षा फारम भरेका ३ जना परीक्षामा अनुपस्थित रहेका शिक्षा विकास तथा समन्वय इकाइ दार्चुलाले जनाएको छ। परीक्षामा सहभागी भएकामध्ये ७६५ जना उत्तीर्ण भएका छन् भने १ हजार ४१६ जना (अनुत्तीर्ण) ननग्रेड भएका छन् ।
ग्रेडेड भएका मध्ये ३.६ देखि ४ सम्म जिपिए ल्याउने ४१ जना रहेका छन् । यस्तै ३.२ देखि ३.६ भन्दा कम जिपिए ल्याउने ११६ जना रहेका छन् । २.८ देखि ३.२ भन्दा कम जिपिए ल्याउने ३१४ जना रहेका छन् भने २.४ देखि २.८ जिपिए भन्दा कम अंक ल्याउने २७२ जना र २ देखि २.४ सम्म जिपिए ल्याउने २२ जना रहेको शिक्षा विकास तथा समन्वय इकाई दार्चुलाले जनाएको छ। तुलनात्मक रूपमा दार्चुलामा न्यून नतिजा आएकोले विद्यालयको गुणस्तर सुधारमा सरोकारवाला सबैले ध्यान दिनु तथा थप जिम्मेवार बन्नु आवश्यक रहेको छ ।