दार्चुला। विगत तीन दशकदेखी बन्द रहेको गोकुलेश्वर विमानस्थल पुनर्निर्माणको काम अलपत्र परेको छ । चार वर्ष पहिले केएस कन्स्ट्रक्सन प्रालि धनगढीले विमानस्थलमा माटो भर्ने (फिलिङ र ग्याबिन) को काम गरेपनि त्यसपछि बजेट अभावमा निर्माणको काम अलपत्र परेको हो ।

शैल्यशिखर नगरपालिका–९, गोकुलेश्वरमा रहेको विमानस्थल सञ्चालनमा आए दार्चुलाका साथै बैतडी र बझाङ जिल्लाका नागरिकले समेत सेवा पाउने छन् । तत्काल बजेट विनियोजन गरेर विमानस्थलको बाँकी काम अगाडी बढाउनुपर्ने स्थानीयबासीको माग छ । २०४६ सालदेखि सञ्चालनमा आएको गोकुलेश्वर विमानस्थल २०५० सालदेखि बन्द रहेको छ । २०६० देखि कार्यालय सहयोगीका भरमा छाडिएको विमानस्थल अहिले जीर्ण छ । बन्द भएको तीन दशकभन्दा बढी समय वितेपछि विमानस्थलको भवन भग्नावशेषमा परिणत भएको छ भने पिच गर्नुपर्ने विमानस्थल खेलमैदान र गौचरणमा परिणत भएको छ ।

आर्थिक वर्ष २०७७/०७८ मा विमानस्थल पुननिर्माणका लागि तत्कालिन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेशसिंह ठगुन्नाको पहलमा अर्थ मन्त्रालयबाट ५० करोड ४९ लाख ४९ हजार बजेटको सुनिश्चितता गरिएको थियो । त्यसपछि बहुबर्षिय ठेक्का भएर २०७८ सालमा तीन करोड ५८ लाखमा फिलिङ र ग्याबीनको काम सम्पन्न गर्नेगरी केएस कन्स्ट्रक्सनसंग सम्झौता गरिएको थियो । अर्थ मन्त्रालयबाट बजेटको सुनिश्चितता भएर बहुवर्षीय ठेक्का भएपनि लक्ष्यअनुसार पछिल्लो वर्षहरुमा बजेट निकासा नहुँदा कार्यप्रगति न्यून रहेको शैल्यशिखर नगरपालिकाका प्रमुख विजयसिंह धामीले बताउनुभयो । पछिल्ला वर्षहरुमा विमानस्थलमा बजेट विनियोजन नहुँदा निर्माण कार्य अलपत्र परेको उहाँको भनाई छ । विमानस्थल सञ्चालनका लागि पहल गर्न नसकेको भन्दै दार्चुलाबाट निर्वाचित प्रदेश र केन्द्रीय सासंदसंगै सरकारसंग स्थानीयले आक्रोश व्यक्त गर्ने गर्ने गरेका छन् ।

विमानस्थल बन्द हुँदा आपतकालिन बिरामी, यात्रु र व्यवसायी सबैलाई समस्या हुने गरेको छ । विमानस्थल सञ्चालन भएपछि तीन जिल्लाका यात्रुलाई सेवा पाइनुका साथै जिल्लाको आर्थिक, पर्यटकीय लगायत विभिन्न क्षेत्रको विकासमा फाइदा पुग्ने भएकोले सरकारले आवश्यक बजेटको व्यवस्थापन गरि विमानस्थल छिटो सञ्चालन गर्नुपर्ने स्थानीय व्यवसायी सुरेशसिंह भण्डारीको भनाई छ । अहिले हवाइ यातायातको सुविधा नहुदा प्रदेश राजधानीबाट झण्डै साढे तीन सय किलोमिटर सडकमार्गबाट सास्ती भोग्दै दार्चुला सदरमुकामसम्म पुग्न कष्टकर यात्रा गर्नुपर्ने बाध्यता छ । हवाइ यातायात सेवा, पर्यटन विकास, जनजीविका, व्यापारव्यवसाय र यस क्षेत्रको विकासका लागि यो विमानस्थल निर्माण गर्नु जरुरी रहेको स्थानीय प्रेम जोशीले बताउनुभयो । निर्माणको काम रोकिएपछि यो विमानस्थल घोडा, खच्चर, गाई, भैँसी चरन तथा खेलमैदानका रूपमा प्रयोग हुँदै आएको छ ।

जिल्लामा हवाइ सेवा नहुदा समयमै अस्पताल पुग्न नपाएर बिरामीहरुले अकालमै ज्यान गुमाइरहेका छन् । कार्यालय प्रमुख र अधिकारीहरु तथा पर्यटकहरु समेत यातायातको सहज व्यवस्था नहुदा दार्चुला आउन कमै रुचाउने गरेका छन् । दार्चुलाको विकासका लागि महत्तपूर्ण मानिएको गोकुलेश्वर विमानस्थल छिटो पुननिर्माणगरी सञ्चालनमा ल्याउनुपर्ने स्थानीयको जोडदार माग रहेको छ ।

लोकदर्पण मिडियाको विमानस्थलसम्बन्धि जानकारीसहितको चार वर्ष पुरानो एक भिडियो हेर्न यो लिंकमा जानुहोस

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?