दार्चुला । डोटीबाट डडेल्धुरा आउँदैगरेको जिप दुर्घटनामा परेको छ। शनिवार मध्याह्न १२ बजे भएको दुर्घटनामा परेर पाँच जना यात्रु घाइते भएका छन्। डोटी र डडेल्धुरा जोड्ने केआईसिंह राजमार्ग अन्तर्गत डडेल्धुराको गन्यापधुरा गाउँपालिका –३ मछलीखोलामा जिप दुर्घटनामा परेको हो।
लुम्बिनी प्रदेश ०१००१ च ३३०१ नम्बरको बलेरो जिप सडकमै पल्टिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुरा प्रमुख प्रहरी नायव उपरीक्षक वरुणबहादुर सिंहले जानकारी दिनुभयो । उहाँका अनुसार दुर्घटनामा परेर जिपमा सवार डोटीको सायल गाउँपालिकाका पाँच जना घाइते भएका छन्। घाइते हुनेहरूमा १७ वर्षीया लाली साउँद, १८ वर्षीया लक्ष्मी साउँद, १९ वर्षीया अपेक्षा साउँद, १९ वर्षका मदन साउँद र १६ वर्षका केशव साउँद रहेको प्रहरीले जनाएको छ।
घाइतेहरुमध्ये चार जनाको अवस्था सामान्य छ भने लाली साउँदको अवस्था मध्यम रहेको प्रहरीले बताएको छ। घाइतेहरू सबैको प्रहरीले उद्धार गरी डडेल्धुरा अस्पताल लगिएको र चार जनाको उपचारपछि डिश्चार्ज भएको र बाँकी एक जना पनि डिश्चार्ज हुने प्रक्रिया थालिएको प्रमुख प्रहरी नायव उपरीक्षक सिंहले बताउनुभयो । दुर्घटनाको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।





प्रतिक्रिया