दार्चुला । दार्चुलाको मार्मा गाउँपालिकाले सञ्चालन गरेको अध्यक्षसंग नागरिक स्वास्थ्य परीक्षण कार्यक्रमबाट ६ सय बढी नागरिकलाई सेवा प्रदान गरिएको छ।
हाल सम्म ३ चरणमा गाउँपालिकाका विभिन्न १० वटा ठाउँमा कार्यक्रम सञ्चालन भएकोमा ६ सय ७० जना नागरिकको स्वास्थ्य परिक्षण तथा उपचार सेवा प्रदान गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख चक्रसिंह धामीले बताउनुभयो ।
गाउँपालिकाको स्वाथ्य शाखाको आर्थिक बर्ष २०८१–८२ को स्वीकृत कार्यक्रम अनुसार नसर्ने रोगका बिरामीहरुलाई लक्षित गरि गाउँपालिकाका विभिन्न १० वटा ठाउँमा ३ वटा चरणमा अध्यक्षसंग नागरिक स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गरिएको उहाँले बताउनुभयो । पहिलो चरणमा पुस २२ गते देखि पुस २४ गते सम्म कार्यक्रम सञ्चालन गरिएको थियो ।
त्यस्तै माघ ४ र ५ गते दोस्रो चरणमा र माघ १३ गते देखि माघ १६ गते सम्म तेस्रो चरणमा कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख धामीले बताउनुभयो । उक्त कार्यक्रममा नसर्ने रोगहरु मधुमेह, उच्चरक्तचाँप, दम, अनिन्द्रा, मुटुरोग लगायतका रोगहरुको जाँच तथा उपचार सेवा प्रदान गरिएको उहाँले जानकारी दिनुभयो ।
त्यस्तै महिलाहरुको पाठेघरको मुखको क्यान्सर जाँच र ग्रामिण अल्ट्रासाउन्ड सेवा पनि प्रदान थियो । कार्यक्रममा डाक्टर लक्ष्मण थापाले स्वाथ्य परिक्षण तथा उपचार सेवा प्रदान गरिरहनु भएको छ। गाउँपालिकाका अन्य ठाउँहरुमा पनि कार्यक्रम सञ्चालनको लागी तयारी भइरहेको स्वास्थ्य शाखा प्रमुख धामीले बताउनुभयो ।




