दार्चुला । दार्चुलामा पनि पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क एचपीभी खोप अभियान सुरु भएको छ । अभियानको सुरु भएपछि विभिन्न केन्द्रमा स्वास्थ्यकर्मीहरूले किशोरीहरुलाई खोप लगाइरहेका छन् ।
विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेरका किशोरीहरुलाई यो खोप लगाइदै छ ।
महाकाली नगरपालिकामा मंगलबार आज देखि माघ २८ गते सम्म, शैल्यशिखर नगरपालिका, मालिकार्जुन गाउँपालिका, नौगाड गाउँपालिका र ब्याँस गाउँपालिकामा माघ २२ गते (आज) देखि माघ २६ गते सम्म अभियान सञ्चालन हुने छ भने, लेकम, दुहुँ, मार्मा र अपिहिमाल गाउँपालिकामा माघ २५ गते सम्म अभियान सञ्चालन हुने स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।
दार्चुलामा कक्षा ६ देखि १० सम्म अध्ययनरत र विद्यालय नजाने १० देखि १४ वर्ष उमेर समूहका ७ हजार २ सय ६४ जना किशोरीलाई खोप लगाइने छ । खोप अभियान प्रभावकारी बनाउन जिल्लाभर २२८ वटा खोप केन्द्र मार्फत अभियान सञ्चालन भइरहेको स्वास्थ्य कार्यालयले जनाएको छ।
खोप सुरक्षित र प्रभावकारी भएकाले ढुक्क भएर लगाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुरोध गरेको छ ।




