दार्चुला । दुर्गम क्षेत्रका नागरिकलाई ग्रामीण स्वास्थ्य चौकीहरुबाटै विषेशज्ञ सेवा दिने उदेश्यले सञ्चालन गरिएको स्मार्ट हेल्थ कार्यक्रम प्रभावकारी बन्दै गएको छ। दुर्गम पिछडिएका तथा सीमान्तकृत वर्गका नागरिकको सुलभ स्वास्थ्य उपचार सेवाका लागि जिल्लाका ३ वटा स्थानीय तहले एक एक स्वास्थ्य चौकीमा ग्लोबल स्मार्ट हेल्थ संगको सहकार्यमा स्मार्ट हेल्थ कार्यक्रम सञ्चालन गरिरहेका छन ।
दुर्गमका सेवाग्राहीले स्मार्ट हेल्थ सेवा पाउन थालेपछि बिरामीहरुलाई खर्च नहुने र अन्यत्र जानुपर्ने अवस्था पनि नरहेको स्मार्ट हेल्थ कार्यक्रम सञ्चालन गरिरहेका स्वाथ्य संस्थाहरुले जनाएका छन।
यो सेवा गुणस्तरीय रुपमा सञ्चालन गर्न इन्टरनेट र नियमित विद्युत अति आवश्यक भएपनि त्यस्को उचित व्यवस्था भने नभएको स्मार्ट हेल्थ कार्यक्रम सञ्चालन गरिरहेको व्याँस गाउँपालिकाको सुन्सेरा स्वास्थ्य चौकीका प्रमुख जमन बडालले बताउनुभयो ।
अहिले जिल्लाको व्याँस गाउँपालिकाको सुन्सेरा स्वास्थ्य चौकी, मालिकार्जुन गाउँपालिकाको उकू स्वास्थ्य चौकी र अपिहिमाल गाउँपालिकाको खण्डेश्वरी स्वास्थ्य चौकीमा स्मार्ट हेल्थ कार्यक्रम सञ्चालनमा रहेको छ । यि स्वास्थ्य चौकीमा सम्बन्धीत स्थानीय तह र ग्लोबल स्मार्ट हेल्थको सहकार्यमा कार्यक्रम सञ्चालन भइरहेको हो ।
स्वास्थ्य चौकीमा सञ्चालन गरिएको स्मार्ट हेल्थ कार्यक्रम प्रभावकारी बन्दै गएको कार्यक्रम सञ्चालन गरिरहेको सुन्सेरा स्वास्थ्य चौकी प्रमुख जमन बडालले बताउनुभयो ।
गत मंसिर महिनाबाट स्वास्थ्य चौकीमा सञ्चालन गरिएको कार्यक्रमबाट मंसिर महिना देखि हाल सम्म २ सय बढी नागरिकले सेवा लिएको उहाँले बताउनुभयो । स्वास्थ्य चौकीमा आउने बिरामीहरुमा दैनिक आधाभन्दा बढी बिरामीले स्मार्ट हेल्थ कार्यक्रमबाट सेवा लिइरहेको बडालले बताउनुभयो ।
स्वास्थ्य चौकीमा समस्या समाधान गर्न नसकिने बिरामीका लागी विषेशज्ञ चिकित्सक संग भिडियोकल मार्फत सल्लाह गरि स्वास्थ्य चौकीबाटै सेवा प्रदान गरिरहेको उहाँले बताउनुभयो । “स्वास्थ्य चौकीमा आउने सामान्य बिरामीलाई हामी आफैले हर्छौ, डाक्टरलाई देखाउनै पर्ने समस्या भएमा, बिरामीले डाक्टर संग परार्मश गर्न चाहेमा वा बिरामीलाई डाक्टर संग देखाउनुपर्ने आवश्यकता भएमा बिरामीले स्मार्ट हेल्थ कार्यक्रम अन्तरगत बिषेशज्ञ चिकित्सक संग भिडियोकल मार्फत आफ्ना समस्या राख्छन” उहाँले भन्नुभयो ।
बिरामी संगको परामर्शको आधारमा चिकित्सकले भने अनुसार बिरामीलाई स्वास्थ्य चौकीमा भए सम्म औषधी उपलब्ध गराउने गरेको उहाँले बताउनुभयो । अहिले सुन्सेरा स्वास्थ्य चौकीबाट दैनिक १० जना सम्मले स्मार्ट हेल्थ कार्यक्रम अन्तरगत सेवा लिइरहेको स्वास्थ्य चौकी प्रमुख बडालले बताउनुभयो ।
विद्युत र नेटवर्क समस्याको कारणले कार्यक्रम सञ्चालनमा केही समस्या भइरहेको उहाँको भनाई छ । नियमित विद्युत र स्तरीय इन्टरनेट नहुँदा बिरामीलाई चिकित्सक संग भिडियो कल मार्फत कुराकानी गर्न समस्या भइरहेको उहाँले बताउनुभयो । विद्युत र नेटवर्कको समस्या समाधान गर्न सके यो कार्यक्रम झन प्रभावकारी हुने उहाँको भनाई छ।
त्यस्तै स्मार्ट हेल्थ कार्यक्रम सञ्चालनमा रहेको जिल्लाको अपिहिमाल गाउँपालिकाको खण्डेश्वरी स्वास्थ्य चौकीमा पनि कार्यक्रम प्रभावकारी भइरहेको छ । स्वास्थ्य चौकीमा कार्यक्रम सञ्चालन भए पछि स्थानीय नागरिकले गाउँमै विषेशज्ञ सेवा पाइरहेको स्वास्थ्य चौकी प्रमुख गणेश राज जोशीले बताउनुभयो ।
खण्डेश्वरी स्वास्थ्य चौकीमा पनि विद्युत र नेटवर्क समस्या भने रहेको छ। तर पनि कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन भइरहेको जोशीको भनाई छ। गत साउन महिनाबाट गाउँपालिका र ग्लोबल स्मार्ट हेल्थ संगको साझेदारीमा सञ्चालन भएको कार्यक्रमबाट मासिक ५० जना भन्दा बढी बिरामीले सेवा लिइरहेको स्वास्थ्य चौकी प्रमुख जोशीले बताउनुभयो ।
अहिले सम्म उक्त कार्यक्रमबाट करिब ५ सय जनालाई सेवा प्रदान गरिएको जोशीले जानकारी दिनुभयो । स्वास्थ्य चौकीमा इन्टरनेटको समस्या संगै सम्बन्धीत बिरामीको समस्या हेर्ने डाक्टर समयमा अन्लाइन नभेटिने समस्या पनि रहेको उहाँले बताउनुभयो । “नेटवर्क समस्या त छ नै, त्यो संगै कहिले बिरामी संग सम्बन्धी डाक्टर अन्लाइर्न भेटिदैन्न” उहाँले भन्नुभयो ।
मालिकार्जुन गाउँपालिकाको उकू स्वास्थ्य चौकीमा पनि कार्यक्रम प्रभावकारी रहेको स्वास्थ्य चौकी प्रमुख दिनेश जोशीले बताउनुभयो । भाद्र महिनाबाट सञ्चालन भएको कार्यक्रमबाट दैनिक ७-८ जनाले सेवा लिइरेहेको उहाँले बताउनुभयो । स्वास्थ्य चौकीमा व्यवस्थित ल्याव र फार्मेसी सेवा सञ्चालन गर्न सके कार्यक्रम थप प्रभावकारी हुने उहाँको भनाई छ ।
जिल्ला अस्पताल सम्म पनि आउन नसक्ने र गाउँमा रोग पालेर बसेका पिछिडिएका अतिगरिब तथा विपन्न समुदायका नागरिकको स्वास्थ्य अवस्थालाई मध्यनजर गरी स्वास्थ्य चौकीहरुमा स्मार्ट हेल्थ कार्यक्रम सञ्चालन गरिएको थियो । यो कार्यक्रमबाट नागरिकले अनलाइन (भिडियोकल) मार्फत विषेशज्ञ डाक्टरसँग परामर्श गर्न पाइरहेका छन, भने बिरामीको अवस्था र प्रकृति हेरेर सम्बन्धीत स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीले चिकित्सक तथा विषेशज्ञ सँग परामर्श तथा उपचार सेवा प्रदान गर्ने गरेका छन ।




