३३ औँ विश्व एड्स दिवस, आज सचेतनामूलक कार्यक्रम गरी मनाइएको छ । एचआईभी नियन्त्रण तथा रोकथामका लागि विश्वव्यापी ऐक्यवद्धता तथा साझा जिम्मेवारी भन्ने नारासहित आज दिवस मनाइएको हो ।
दार्चुलामा हाल सम्म एड्सका ३८ जना संक्रमित स्वास्थ्य कार्यालय दार्चुलाको सम्पर्कमा आएका छन् । जिल्लाका नौ ओटा स्थानीय तहमा ३४ र ४ जना जिल्ला बाहिरका गरि ३८ जना एड्स संक्रमित सम्पर्कमा रहेको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।
दार्चुलामा हालसम्म १६ पुरुष, १९ महिला र ३ बालबालिका गरी ३८ जना एचआइभीका संक्रमित रहेका छन् । एड्स संक्रमण पुष्टि भएका ४ जनाले दार्चुलामा ज्यान गुमाएको स्वास्थ्य कार्यालय दार्चुलाको तथ्याङ्क छ ।
हालसम्म मालिकार्जुन गाउँपालिका र शैल्यशिखर नगरपालिकामा १०÷१० जना एड्स संक्रमित रहेका छन् । लेकम गाउँपालिकामा ७ जना, महाकाली नगरपालिकामा ७ जना, मार्मा गाउँपालिकामा ३ जना र दुहुँ गाउँपालिकामा १ जना एड्स संक्रमित रहेका छन् ।
व्यास, अपिहिमाल र नौगाड गाउँपालिकाबाट कोहिपनि एड्सका संक्रमित सम्पर्कमा नरहेकोे स्वास्थ्य कार्यालय दार्चुलाका सूचना अधिकारी खगेन्द्र कार्कीले बताउनुभयो । जिल्लामा एड्सका विरामीमध्ये तीन जना १४ वर्ष मुनिका वालवालिका रहेका छन् । ‘गाउँघरमा विरामी भए पनि स्वास्थ्य संस्थाको सम्पर्कमा पुग्न नसकेको अवस्था हुनसक्छ’ स्वास्थ्य कार्यालयका दार्चुलाका सुचना अधिकारी कार्कीले भन्नुभयो ।
एचआइभी एड्सको नियन्त्रणमा समुदायको भूमिका महत्वपूर्ण हुने जिल्ला स्वास्थ्य कार्यलयका जनस्वास्थ्य अधिकृत जयराज भट्टले बताउनुभयो । विरामीको पहिचान, उपचार र रोकथाममा समुदायको सक्रियता आवश्यक हुने उहाँले बताउनुभयो । रोग लाग्नबाट बच्नसक्नु नै एकमात्र उपयुक्त विकल्प भएको उहाँको भनाई छ । रोग लागिसकेको अवस्थामा समयमै उपचार गराएर नियमित औषधि प्रयोग गरेर केही वर्ष आयु लम्ब्याउन सकिने उहाँले बताउनुभयो ।
सन् १९८१ मा अमेरिकाबाट पत्ता लागेको एड्स रोगको संक्रमण नेपालमा सन् १९८८ देखि फैलिएको इतिहास छ । स्वास्थ्य संस्थाको सम्पर्कमा आएका सबै विरामीले नियमित रुपमा एआरभी औषधि सेवन गरिरहेको सूचना अधिकारी कार्कीले बताउनुभयो ।
एचआईभी सङ्क्रमित व्यक्ति एड्सको अवस्थामा पुग्नका लागि दशौँ वर्ष लाग्छ । समयमै पहिचान भएर उपचार भएमा एड्सको अवस्था आउँदैन । एड्स भएपछि शरीरको रोगसँग लड्ने क्षमता ह्रास भएर क्यान्सर जस्ता अवसरवादी रोग लाग्ने गर्दछन । रगतको परीक्षण गरेपछि एचआईभी भए नभएकोबारे थाहा हुन्छ । विशेष गरेर असुरक्षित शारीरिक सम्पर्क गर्ने व्यक्ति, सुईमार्फत ड्रग्स लिने व्यक्तिले एचआईभीको जाँच समयमै गराउनु पर्ने उहाँले बताउनुभयो ।
एचआईभी सार्ने मुख्य कारणमध्ये नेपालमा ७६ प्रतिशत असुरक्षित शारीरिक सम्पर्कबाट नै सर्ने गरेको अनुसन्धानले देखाएको छ । त्यसैगरी, ड्रग्समा फसेका मानिसले सुई आदान–प्रदान गरेको अवस्थामा र सङ्क्रमित आमाबाट जन्मिएका २५ प्रतिशत बच्चामा एचआईभी सङ्क्रमण हुने सम्भावना हुन्छ । कहिलेकाहीँ गुणस्तरहिन किटबाट रगत परीक्षण गर्दा पनि एचआईभी हुने सम्भावना हुने डाक्टरले बताएका छन् ।
सरकारले एचआईभी सङ्क्रमितलगायत उनीहरुको परिवारका सदस्यलाई निशुल्क स्वास्थ्य बीमा कार्यक्रम लागूू गरेको छ । नेपाल सरकारले सन् २०१० देखि २०१९ सम्म एड्सका कारण हुने मृत्युदर ८५ प्रतिशतले घटाएको दाबी गरेको छ । यस्तै, स्वास्थ्य मन्त्रालयका अनुसार नयाँ सङ्क्रमण हुने दर ६४ प्रतिशतले घटेको छ ।
दिगो विकास अन्तर्गत सन् २०३० सम्ममा एड्सको महामारी अन्त्य गर्ने प्रतिवद्धताका साथ योजना बनाएर काम गरिरहेको स्वास्थ्यमन्त्री भानुभक्त ढकालको दाबी छ । एचआईभी र एड्ससम्बन्धी प्रभावकारी रोकथाम, हेरचाह, सहयोग तथा उपचार सेवाको लागि विश्वव्यापी ध्यानाकर्षण गर्दै जनचेतना जोगाउन सन् १९८८ देखि हरेक वर्ष डिसेम्बर १ तारिखमा यो दिवस मनाउने गरिन्छ ।





प्रतिक्रिया