दार्चुला । लेकम गाउँपालिका वडा नम्बर ४ रातामाटामा नागरिक आरोग्य सेवा केन्द्रको उद्घाटन गरिएको छ । लेकम गाउँपालिकाका अध्यक्ष परमानन्द जोशीले एक औपचारीक कार्यक्रमका बिच नागरिक आरोग्य सेवा केन्द्रको उद्घाटन गर्नुभएको हो ।
आरोग्य सेवा केन्द्रको उद्घाटन समारोहमा लेकम गाउँपालिका वडा नम्बर २ का वडाअध्यक्ष भवानसिंह धामी, लेकम गाउँपालिका स्वास्थ्य संयोजक हरिदत्त जोशी, हुनैनाथ माबि रातामाटाका प्रधानाद्यापक श्यामराज जोशी, लेकम गाउँपालिका वडा नम्बर २ का सदस्य पदमराज जोशी, कालाशैनी आधारभुत विद्यालयका प्रधानाद्यापक रेबाधर जोशी, लेकम गाउँपालिका वडा नम्बर १ का वडासचिब रामसिंह साउँद लगायतको उपस्थिति रहेको थियो ।
दार्चुलाका तीन वटा स्थानीय तहमा यो वर्षदेखि नागरिक आरोग्य सेवा केन्द्र सञ्चालन हुने भएका छन् । लेकम गाउँपालिकाको रातामाटा, मार्मा गाउँपालिकाको लाम्बगर र नौगाड गाउँपालिकाको होपरीगाडमा सेवा केन्द्र थप भएसंगै सबैभन्दा पहिले रातामाटामा केन्द्रको उद्घाटन गरिएको जिल्ला आयुर्बेद स्वास्थ्य केन्द्र दार्चुलाका निमित्त कार्यालय प्रमुख एबं कबिराज निरीक्षक लोकेन्द्र प्रसाद जोशीले जानकारी दिनुभयो । नागरिक आरोग्य सेवा केन्द्रबाट बिरामीको नियमित जाँच, निःशुल्क आयुर्बेदिक औषधी बितरण लगायतका सेवाहरु उपलब्ध हुनेछन् ।
कबिराज निरीक्षक जोशीका अनुसार आयुर्बेद औषधीलाई समेत अत्यावश्यकिय सेवा अन्तरगत राखिएकोले विशेषगरी बाथ रोग, अम्लपित्त, युरिक एसिड, दम, उच्च रक्तचाप, सुत्केरी महिलाका लागि दुग्ध बर्धक औषधी, जेष्ठ नागरिकहरुका लागि शक्तिवद्र्धक आयुर्बेद औषधीहरु सेवा केन्द्रहरुबाट बितरण हुनेछन् ।

रातामाटामा आयोजित सेवा केन्द्रको उद्घाटन समारोहमा स्वागत मन्तब्य तथा आरोग्य सेवा कार्यक्रमबारे जानकारी जिल्ला आयुर्बेद स्वास्थ्य केन्द्र दार्चुलाका बैद्य तुलाराम हौजाली मगरले राख्नुभएको थियो । कार्यक्रमको सञ्चालन मालिकार्जुन गाउँपालिका आयुर्बेद शाखाका बरिष्ट बैद्य दिवाकर जोशीले गर्नुभएको थियो ।









प्रतिक्रिया