दार्चुला । पत्नी सीता दाहालको उपचारका लागि नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड – नेपाल) समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सोमबार भारत जाने भएका छन्।
स्रोतका अनुसार प्रचण्ड सीताको उपचारका लागि भारतको मुम्बई जान लागेका हुन्। काठमाडौंबाट मुम्बई सिधा उडान नहुने भएकाले उनी नयाँदिल्ली भएर मुम्बई जान लागेका हुन्।
अहिले काठमाडौं-नयाँदिल्ली रूट नेपाल एयरलायन्स र एयर इन्डियाका दैनिक दुई उडान हुन्छन्।
यसअघि आइतबारको स्थायी कमिटी बैठकमा प्रचण्डले आफ्नी पत्नीलाई थप उपचारका लागि भारत लैजानु पर्ने भएको जानकारी दिनुभएको थियो ।
सुरूमा प्रचण्डले पत्नीको उपचारमा छोरीहरूलाई मात्र पठाउन खोजेको भए पनि सीताले प्रचण्डलाई पनि जान आग्रह गरेकाले उहाँ जान लाग्नुभएको हो ।
मुम्बईमा सीताको उपचार कुन अस्पतालमा हुनेछ भन्ने खुलाइएको छैन।
वंशानुगत पार्किन्सन जस्तो देखिने रोगबाट पीडित सीताको स्वास्थ्यमा थप समस्या देखिएपछि गत बुधबार उनलाई मेडीसिटी अस्पताल भर्ना गरिएको थियो। यसअघि उनको उपचार अमेरिका, सिंगापुर र भारतमा पनि भएको थियो ।
पछिल्लो केही समय उहाँले घरमै आराम गरिरहनुभएको थियो ।





प्रतिक्रिया