आज सपनाको देशबाट सपनाकै झोला बोकेर आफ्नो देश छोडेको पनि ठ्याक्कै साढ़े तिन वर्ष पुगेछ। लाग्छ जिवनको सबैभन्दा उर्जाशिल समय विदेशमै जाने भयो । र म जस्ता लाखौं लाख नेपालीहरुको यो उर्जाशिल उमेर आफ्नो देश को लागी रहेनछ ।
मेराे देशको त्यो अन्धकार अवस्था देख्दा म र मेराे देशकाे भविष्य पनि अन्धकारमै छ जस्तो लाग्छ । कहिलेकाहीँ मनमा देशभक्ति भाव जाग्छ र लाग्छ यो समय आफ्नै देशमा खर्चेको भए? यसो सोच्छु गिद्दी नभएको उर्जाले के नै योगदान पो हुन्थ्यो होला र ?
सिप क्षमता दक्षता भएकाहरु पनि आखिर बेरोजगार नै छन के अवसर छ र देशमा? फेरि सोच्छु देशमै रोजगारीको अवसर सहज भइदिएको भए कुन रहरले विदेश पसिन्थ्यो र ? सोच्दछु देशमै केही गरेको भए ,अझ गर्न लगानी भइदिएको भए? यसो हेर्छु यताउती जागिरे,व्यवसायीहरु पनि त जागिर व्यवसाय छाेडेर यतैतिर आएको देख्दछु, विदेशमै काम गरिरहेको देख्दछु र चित्त बुझाउँछु । फेरि मन डुल्छ नेपालमै जागिर तथा व्यवसाय गर्ने मित्रहरू देखेर गर्व लाग्छ ।
परदेशको कारणले आफू पछाडि परियो भन्ने पश्चाताप पनि लाग्छ। चार-पाँच हजारको जागिरको लागि तोके बमोजिमको शैक्षिक प्रमाणपत्र बोक्दै फर्म भर्दै अन्तर्वाता दिदैं हिँडेको।कहाँ भूल्न सक्छु र ? अनि भाषा सिक्नका लागी काठमाडौंका विभिन्न ईन्स्टिच्युट हरु धाएको ।
एउटा युवालाई पढ्दै गर्दा जागिरकाे पिडा,जागिर खान सोर्सफोर्स चाहिने तर आफ्नो आफन्त कही कतै नहुनुमा अर्को पिडा ! एकसुरले पढ्दै गर्दा जब दिमागमा जागिर र पैसाको हाउगुजीको प्रवेश हुन्छ तब पढाई सढाईमा डामाडोल शुरु हुन्छ। डिग्री गरेर पनि स्वदेसमा रोजगारको अवसर नपाएका दाजुभाईहरु देखेर मेरो मनमा पनि निराशाले छाँउछ।
के.एम.सी.मा बि.एड.दोस्रो बर्ष चलिरहेको थियो यता समयले भने जिम्मेवारी थप्न भनिरहेको थियाे अनि दाइले मलाई कोरियन भाषा पढन सिफारिश गर्नु भयो र कोरियन भाषा पढ्ने निधोँ गरे । धनगढीका केही ईन्स्टिट्यूट धाएँ एक दुई हप्ता पछि काठमाडौ गएर पढने निधोँ गरे । काठमाडौंमा भिनाजु पनि हुनुहुन्थ्यो म पनि काठमाडौं हिडे थुप्रै साथिहरुले एक–डेढ महिना अगावै देखि पढिसकेका थिए त कोहिले दुइ तिन बर्ष अगाडी देखी नै पढिरहेका रहेछन ।
म भिनाजु सगैं कोठामा बस्थे। भिनाजु भने एक महिना अगाडी देखी नै सामाखुसीमा कोरियन भाषा पढदै हुनुहुन्थ्यो मैले पनि भिनाजु सगैं को क्लास शुरु गरे अनिदुबै जनाले कोरियन भाषा पढन शुरु गरे एक दुई महिना पछि फर्म खुल्यो ।
त्यो बर्ष देखि फर्म भर्न राहदानी अनिवार्य भन्यो र ईन्स्टिट्यूट बाट एक हप्ताको विदा लिएर धनगढी तिर लागे धनगढी बाट राहदानीको लागी सिफारिश लगेर काठमाडौ गए आमा बुवाले पसिना साचेर कमाएको दस हजार लगेर काठमाडौं गएर एक हप्तामा राहदानी बनाइयो र फेरि पढन सुरु गरे कहिले एक्जाम दिन बागबजार कहिले किर्तिपुर जान्थे यस्तै दौड़ धुप गर्दागर्दै फर्म भर्ने बेला भयो कोरियन भाषा परिक्षाको लागि आवेदन दिन महाराजगंजको भ्यालीमा विहान ४ बजे देखि लाईन लागे केहि साथीहरु भने राती नै आएर लाईन लागिरहेका रहेछन त्यो कठिन संघर्ष, पानि पिउन, खाना खान पनि लाईन छोडेर निस्कन नपाउने किनकी एक छिन लाईन छोड्यो भने लाईनको लास्टमाबस्नु पर्थ्यो।
त्यसपालि नेपाललाई थोरै कोटा दियो मेनु भन्दा एग्रीमा बढी कोटा थियो मेनुमा कम कोटा को कारण जसरी नि जानु पर्छ भनेर एग्रीमा फर्म भरे फर्म भरेपछि को खुसीकाे त्यो पल सम्झँदा हिजो जस्तै लाग्छ। बिस्तारै एक्जाम दिइयो र दुबै जना पास पनि भयाैं।
विदेश कुल्लिन जान भनेर गरेको संघर्षको सफल परिणामले पनि म र हामीजस्ता नेपालीहरुलाई खुसी नै पार्दाे रहेछ ।अभिमुखीकरण तालिम गर्न भैसेंपाटीमा सात दिन जति क्लास पनि लिए । CCVI नआएकाले अनि उता बि. एड. तेस्रो बर्ष को एक्जाम दिन भनि धनगढी हिडे ठ्याकै त्यहि दिन CCVI पनि झरेछ । एक्जाम नै नदिइ फेरि काठमाडौ को यात्रा तय गरियो। घर परिवारसंग फेरि कोरिया जानु भन्दा अगाडी भेट्न आउछु भनेको थिए तर फ़्लाइट पनि छिट्टै आएकोले घर जान नभ्याउने भए र काठमाडौ बाटै फोन गरेर भने बा पर्सी मेरो फ़्लाइट छ ! अन्ततः कोरिया जाने टिकेट पनि हात पर्यो ।
अब केही दिन मात्रै बाँकी थियो उडान भर्नका लागि । समय थोरै भएकोले भेटघाट, किनमेल अनि बाँकी रहेका कामहरु पुरा गर्नमा व्यस्तभएँ । जति जति समय नजिकिदै थियो त्यति त्यति नै मनमा भने न्यास्रो लागिरहेको थियो । त्यसअघिसम्म कहिले जान पाइएला भन्ने हतारो हुन्थ्यो । नहोस् पनि कसरी ? यसैको लागि महिनौसम्म मिहेनत जो गर्नु परेको थियो । बिडम्बना ! अर्काको देशमा श्रम गर्न जान पनि सजिलो छैन । यदी स्वदेशमै रोजगारीको पर्याप्त अवसरहरु भैदिएको भए शायद कोही पनि विदेशिनु पर्ने थिएन होला ।
सधैं हिडिरहेने यी बाटोहरु, गाउँबस्तिहरु, मान्छेहरु विदेश पुगेर फर्किदासम्म कस्तो हुने हुन् ? अनि कहिल्यै नपुगेको त्यो बिरानो ठाउँ कस्तो होला ? के होला ? यस्ता-यस्तै अनेकथरी कल्पनाहरु उब्जिन थालेको थियो मनभरी । विदेशिनु रहर त पक्कै थिएन तर समय र परिस्थितिले लाचार बनाएपछि विवषतालाई अँगाल्नुको बिकल्प नहुँदो रहेछ र आफ्नो देश लाइ नचाहदां नचाहदैं नि विदाई गरियो ।
आज मैले पनि दुईचार पैसा कमाउने ठाउँ पाएँ । परिवारलाई यसो आर्थिक सपोर्ट भयो । यसो कतै कतै दुईचार पैसा सहयोग गरेर कथित समाजसेवी बन्न पनि पाएको छु। संघर्षको ति दिनहरुमा धेरैले धेरै प्रकारको सहयोग गर्नुभएको छ। ति गुणहरु तिर्न अझै सकेको छैन, ऋणी छु ती सहयोगी मनहरुकाे। घर परिवारको अभाव सदैव खड्किन्छ। तर संसारीक रित हामी हाम्रो हरेक प्रिय मान्छेहरुलाई गुमाउनैपर्ने हामीलाई पनि कसैले गुमाउनै पर्छ। ठूलो सपना केही छैन, कोरियाले परिश्रम गर्न सिकाएको छ ।
समयसंग हिंडन सिकायो वश अब ईमान्दाररुपमा आफ्नै मिहेनत,पसिनाको भरमा बाँच्ने हो । यसपछिको बाकीं समय मेरो समाज र मेरो देशको माटोमा केही गर्न चाहन्छु ।

सुन्दरबावु साउद, लेकम गाउँपालिका वडा नम्बर १ सर्मोली घर भइ हाल दक्षिण कोरिया





प्रतिक्रिया