
✍️विशाल सिंह रैखोला, दार्चुला ।
समाज भनेको केवल भिड होइन, सोच र स्वभावको संगालो हो। म हुर्किएको, हेरेको र महसुस गरेको समाज यस्तो छ। समाज समय सापेक्ष परिवर्तन हुनुपर्छ भन्ने मेरो मान्यता हो। पुर्खाहरूका नकारात्मक कुरालाई त्याग्दै सकारात्मक कुराहरूलाई आत्मसात गर्दै अगाडि बढ्नु आजको आवश्यकता हो।
मानिस परिवर्तनशील र गतिशील प्राणी हाे तसर्थ पनि समयको मागअनुसार हामी परिवर्तन हुनुपर्छ संगै अरूलाई पनि सकारात्मक परिवर्तनको बाटोमा हिँडाउनुपर्छ । तर मैले देखेको समाजमा भने त्यस्तो छैन। यहाँ सकारात्मकता भन्दा बढी नकारात्मकता छ। भक्तिभन्दा बढी दुर्ब्यसनी छ, हात तान्नेहरू भन्दा खुट्टा तान्ने बढी छन्। यहाँ प्रेरित गर्नेहरू भन्दा निरुत्साहित गर्नेहरू बढी छन्। के समाज यस्तै हुनुपर्छ त? मेरो प्रश्न यही हो।
पूर्वजहरूभन्दा एक सिँढी त पक्कै पनि मेरो समाज अगाडि छ। तर जस्तो हुनुपर्ने हो, त्यस्तो भने पटक्कै छैन। मैले देखेको समाजका केही सकारात्मक पक्ष पनि नभएका होइनन् जस्तै सहयोग गर्ने, सहानुभूति देखाउने, भक्तिभाव प्रकट गर्ने, सुख-दु:खमा साथ दिने आदि। तर यी सकारात्मक पक्ष सबै व्यक्तिहरूमा भने छैनन्। न्यून मात्रामा मात्र यी कुरा पाइन्छन्। समाजमा यस्ता सकारात्मक सोच भएका थोरै व्यक्तिको आवाज मैले सधैं दबिएको देखेको छु न त ती व्यक्तिको समाजमा गिन्ती हुन्छ, न सम्मान नै।
सकारात्मक पक्ष भएपछि नकारात्मक पक्ष पनि हुन्छन् नै। नकारात्मक पक्षको वर्णन जति गरे पनि साध्य छैन। नकारात्मकताको कुरा गर्दा सबैभन्दा पहिले “उत्कृष्टको उत्कृष्ट” सर्वोत्कृष्ट पार्टीहरू आउँछन् (एमाले, कांग्रेस, माओवादी, रास्वपा आदि)। अपसोचको कुरा के हो भने यहाँ मन्दिरमा पनि राजनीति हुन्छ “यहाँ मान्छे पिच्छे भगवान छन्।” यहाँ मान्छेको व्यवहार, इमानदारीता भन्दा पनि पार्टी हेरिन्छ। मन्दिरजस्तो पवित्र स्थलमा राजनीति हुन्छ भने अन्य समाजको स्थिति कस्तो होला? आकलन गरौँ “यहाँ मन्दिर जाँदा हातमा पुष्प होइन, रक्सीको बोतल हुन्छ।” यहाँ मुखमा राम-राम, बगलिमा छुरा हुन्छ। यहाँ शिक्षित व्यक्तिलाई पनि हेपिन्छ, अशिक्षितको कुरै नगरौँ। खुट्टा तान्नेहरूले यदि हात तानेको भए हाम्रो समाज आज कहाँ पुग्ने थियो होला!
यहाँ त विकासका विरोधी छन्- आफ्नो पार्टीले गरे विकास, अर्को पार्टीले गरे विनाश! विडम्बना यहाँ मूल मन्त्र र तन्त्र नै त्यही हो।
के अब यो समाज यस्तै रहने हो त? कि अब परिवर्तन हुने हो? यो एउटा गम्भीर प्रश्न हो। समाज यस्तै रह्यो भने अब आउने पुस्ता कस्ता हुन्छन्? उनीहरूले यो समाजबाट के सिक्छन्? हामीले उनीहरूबाट के अपेक्षा राख्ने? यी तमाम प्रश्नहरू मेरो मानसपटलमा घुमिरहेका छन्।
पार्टी, पार्टी, पार्टी भन्ने यो समाजमा योग्यता नभए पनि फलाना पार्टीको कार्यकर्ता भए नियुक्ति पाइन्छ। ठेक्का पाइन्छ। अँ! एउटा कुरा भन्न त बिर्सेछु चुनाव लाग्दा यहाँ एकै बुवाका दुई छोराबीच कुटाकुट हुन्छ। बुवा–छोराबीच बोलचाल बन्द हुन्छ। एउटै गाउँका गाउँलेहरू अर्काे गाउँसँग बोल्दैनन्। हाहाहा… कस्तो अचम्मको कुरा हो है! तर के गर्ने, कटु सत्य यही हो।
के यो शिक्षाको कमिले हो त? मेरो उत्तर “होइन”। किनभने यहाँ अधिकांश शिक्षित नै छन्। शिक्षाको कमिले होइन, के को कमिले होला त? खै… यसको उत्तर म पनि खोजिरहेको छु।
निष्कर्षमा भन्नुपर्दा पहिला समाज परिवर्तनको इच्छा राख्नु भन्दा पहिले आफू परिवर्तन हुनुपर्छ। अरूलाई औँला देखाउँदा चार औँला आफैतिर छन् भन्ने कुरा बिर्सनु हुँदैन। मेरो समाजमा मानवता बोल्छ तर मौन अन्याय छ। एकातिर शिक्षाको उज्यालो फैलिँदै छ, अर्कोतिर अन्धविश्वासले जरा गाडेको छ।
अन्ततः मैले देखेको समाज जस्तो छ, त्यस्तै रहनुपर्छ भन्ने होइन। समाजलाई सबै मिलेर रामराज्य बनाउन सकिन्छ यदि हामी सबैले परिवर्तनको बीउ आफैँबाट रोप्यौँ भने। परिवर्तन सम्भव छ, आफैंबाट सुरू गरौँ!