रुपेश बोहरा, काठमाडौं ।
पानी संसारका सबै जीवहरूका लागि अत्यावश्यक जीवनरेखा हो, र स्वच्छ तथा भरपर्दो पानी स्रोतहरूले मानव स्वास्थ्य र वातावरणको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्छन्।

सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लामा रहेको लेकम गाउँपालिकाका तीनवटा महत्वपूर्ण खोलाहरू-रिठेगाड (रिठेखोला), भुड्डोबगाड र दानुगाडको पानी पिउन र सिँचाइ गर्नका लागि उपयुक्त रहेको एक नयाँ अध्ययनले देखाएको छ। त्रिभुवन विश्वविद्यालय जर्नलमा प्रकाशित उक्त अनुसन्धानले यी खोलाहरूको पानीको रासायनिक गुणस्तर राम्रो रहेको र अन्तर्राष्ट्रिय मापदण्डहरू पूरा गरेको बताएको छ।

यसले स्थानीय समुदायलाई आफ्ना प्राकृतिक स्रोतहरूको संरक्षणमा प्रेरित गर्न सक्छ, किनकि पानीको शुद्धता कायम राख्न सके मात्र यसबाट दीर्घकालीन फाइदा लिन सकिन्छ। विशेषगरी, अध्ययनले भौतिक-रासायनिक पक्षमा उत्कृष्टता देखाए पनि जैविक प्रदूषण वा मलमूत्रजन्य फोहोरबाट बचाउन आवश्यक पहल गरेमा गाउँपालिकाको खानेपानी र सिँचाइ समस्या धेरै हदसम्म सम्बोधन हुन सक्छ ।

अनुसन्धानकर्ताहरूले pH, विद्युतीय चालकता (EC), कुल घुलित ठोस पधार्थ (TDS), कठोरता, क्याल्सियम, म्याग्नेसियम, सोडियम, बाइकार्बोनेट जस्ता रासायनिक तत्वहरू जाँचेका थिए। अध्ययनका मुख्य निष्कर्षहरू यस प्रकार छन्: यी खोलाहरूको पानीमा क्याल्सियम र बाइकार्बोनेट आयनहरूको मात्रा बढी छ, जुन हिमालय क्षेत्रका ताजा पानीका स्रोतहरूमा सामान्य हुन्छ।

रिथेगाड र भुड्डोबगाडमा आयनहरूको क्रम Ca²⁺ > Mg²⁺ > Na⁺ > K⁺ > NH₄⁺ रहेको छ भने दानुगाडमा Ca²⁺ > Na⁺ > Mg²⁺ > K⁺ > NH₄⁺ छ। एनियोनहरूको क्रम सबै खोलामा HCO₃⁻ > Cl⁻ > SO₄²⁻ > NO₃⁻ > PO₄³⁻ रहेको छ। सबै मापदण्डहरू विश्व स्वास्थ्य सङ्गठन (WHO) र राष्ट्रिय पिउने पानी गुणस्तर मापदण्ड (NDWQS) भित्र रहेको देखिएका छन्।

जल गुणस्तर सूचकाङ्क (WQI) अनुसार रिठेखोला र भुड्डोबगाडको पानी ‘उत्कृष्ट’ छ भने दानौगाडको गुणस्तर ‘राम्रो’ छ। दानौगाडमा EC र TDS को मात्रा अलि बढी हुनुको कारण स्थानीय कृषि बहाव र माटोको अपक्षयीकरणलाई मानिएको छ। यद्यपि, सबै खोलाहरूको पानी पिउन योग्य रहेको छ।

सिँचाइका लागि पनि यी खोलाहरू को पानी उपयुक्त देखिएको अध्ययन ले जनाएकोछ। सोडियम सोख्ने अनुपात (SAR), म्याग्नेसियम खतरा (MH), केली अनुपात (KR) जस्ता सूचकाङ्कहरूले पानी ‘उत्कृष्ट’ देखि ‘सुरक्षित’ वर्गमा पर्ने देखाएका छन्। विल्कक्स आरेख (Wilcox diagram) अनुसार भुड्डोबगाडका सतप्रतिशत नमुनाहरू C1-S1 (कम नुनिलो, कम सोडियम खतरा) मा छन् भने रिठेगाडका ७०% र दानुगाडका सतप्रतिशत नमुना C2-S1 (मध्यम नुनिलो, कम सोडियम खतरा) मा छन्। यी सबैले खाद्य तथा कृषि सङ्गठन (FAO) मापदण्डहरू पूरा गर्छन्।

लेकम गाउँपालिका दार्चुला जिल्लाको दक्षिण-पश्चिमी भागमा अवस्थित पहाडी स्थानीय तह हो जुन करिब ८३.९८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ। बिसं. २०७८ को राष्ट्रिय जनगणना अनुसार यस स्थानीय तहमा १३,७४३ बासिन्दाहरू (३०३० घरधुरीमा) बसोबास गर्दछन। गहुँ, मकै, धान, दाल, सोयाबिन, उखु, चिउरी, तेलहन र तम्बाकु यस क्षेत्रका उब्जाइने महत्वपूर्ण वालीनाली हुन्।

विज्ञहरूका अनुसार नेपालमा करिब २३७ अर्ब क्युबिक मिटर पानी उपलब्ध भएता पनि मात्र १५ अर्ब क्युबिक मिटर प्रयोग भइरहेको छ। जलवायु परिवर्तन र प्रदूषणका कारण पानीका स्रोतहरू जोखिममा रहेका छन्। यस अध्ययनले स्थानीय स्तरमा जल श्रोत तथा जलाधार व्यवस्थापनका लागि महत्वपूर्ण जानकारी दिएको छ। अनुसन्धानकर्ताहरूले निरन्तर अनुगमन र संरक्षणको आवश्यकता जोड दिएका छन् र साथै सुश्मजैविक (microbiological) आयामको अध्ययन को पनि आवस्यकता औल्याएका छन् ।

समग्रमा दार्चुलाका यी खोलाहरू प्राकृतिक रूपमा शुद्ध र जीवनदायी छन्, जसलाई जोगाउनु सबैको दायित्व हो।

यो अनुसन्धान अध्ययन त्रिभुवन विश्वविद्यालय वातावरण विज्ञान केन्द्रीय विभाग र सुदूरपश्चिम विश्वविद्यालय, वातावरण विज्ञान संकायका अनुसन्धानकर्ताहरूले संयुक्त रुपमा गरेका हुन् । लेकम गाउँपालिकाको अनुसन्धान अनुदान तथा त्रिभुवन विश्वबिद्यालय र सुदूरपश्चिम विश्वबिद्यालयको प्राविधिक सहयोगमा सो अध्ययन सम्पन्न गरिएको थियो ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

दार्चुलासहित सुदूरपश्चिममा भव्यताकासाथ गौरा मनाइयो, खेणी, धोणी बर्षाले प्रभावित (भिडियो)

२०८२ भाद्र १७, मंगलवार १४:४० गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?