दार्चुला । संस्कृति संरक्षण तथा जर्गेनाको लागि शैल्यशिखर–१ ले स्थानीय धामी–झाँक्रीहरुलाई वाद्यवादन सामग्री वितरण गरेको छ । स्थानीय संस्कार, संस्कृति तथा धार्मिक परम्पराको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले लटिनाथ मन्दिर बारील र धौकुच्चे मन्दिर बलाचका धामी–झाँक्री, भरणे तथा श्रद्धालुहरूलाई वाद्यवादन सामग्री वितरण गरिएको हो ।
बुधबार आयोजित कार्यक्रममा हार्मोनियम, मादल, तबला तथा अन्य आवश्यक वाद्यवादन सामग्री हस्तान्तरण गरिएको वडा अध्यक्ष भरतबहादुर खडायतले जानकारी दिनुभयो।
उहाँका अनुसार समाजमा रहेका मौलिक संस्कार र संस्कृतिको संरक्षण गर्दै सामाजिक विकृति, विसंगति तथा कुसंस्कारविरुद्ध जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले उक्त सामग्री वितरण गरिएको हो। वडा अध्यक्ष खडायतले धार्मिक तथा सांस्कृतिक गतिविधि समाजलाई सभ्य, अनुशासित र एकताबद्ध बनाउन महत्त्वपूर्ण माध्यम भएकाले यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने बताउनुभयो।
उहाँले स्थानीय कला, संस्कृति र धार्मिक परम्पराको संरक्षणमा सबै पक्षको साँझा प्रयास आवश्यक रहेको उल्लेख गर्दै वडा कार्यालयले समुदायको आवश्यकताअनुसार यस्ता सहयोगात्मक कार्यक्रम सञ्चालन गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो।





प्रतिक्रिया