दार्चुला । दार्चुलाका व्यावसायिक तरकारी उत्पादक कृषक धनसिंह सितोली ‘भीमदत्त उत्कृष्ट कृषक’ पुरस्कारबाट पुरस्कृत हुनुभएको छ।
कृषि ज्ञान केन्द्र दार्चुलाको सिफारिसमा नौगाड गाउँपालिका–२ दल्लेखका व्यावसायिक तरकारी उत्पादक कृषक धनसिंह सितोलीलाई ‘भीमदत्त उत्कृष्ट कृषक’ पुरस्कार प्रदान गरिएको कृषि ज्ञान केन्द्र दार्चुलाका प्रमुख विक्रम चौधरीले जानकारी दिनुभयो।
सुदूरपश्चिम प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले प्रदेशका नौवटै जिल्लाबाट सिफारिस भएका नमूना कृषकमध्ये उत्कृष्ट चार जनालाई छनोट गरी उक्त पुरस्कार प्रदान गरेको हो।
पुरस्कार प्राप्त गर्नुभएका सितोली विगत लामो समयदेखि व्यावसायिक तरकारी खेतीमा संलग्न रहँदै आउनुभएको छ। उहाँले आधुनिक कृषि प्रविधिको प्रयोगमार्फत तरकारी उत्पादन वृद्धि गर्दै जिल्लामा नमूना कृषकका रूपमा पहिचान बनाउन सफल हुनुभएको कृषि ज्ञान केन्द्र दार्चुलाका प्रमुख चौधरीले बताउनुभयो ।
कृषि क्षेत्रमा निरन्तर योगदान पु¥याउँदै आएका कृषकलाई सम्मान गर्ने उद्देश्यले प्रदेश सरकारले ‘भीमदत्त उत्कृष्ट कृषक’ पुरस्कार प्रदान गर्दै आएको छ।





प्रतिक्रिया