दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका–५ बरमुडेस्थित लटिनाथ आधारभूत विद्यालयमा विद्यार्थीको दिवा खाजाका लागि विनियोजित रकम खर्चसम्बन्धी विषयमा प्रश्न उठेको छ। विद्यालयमा विद्यार्थीलाई दिवा खाजा नखुवाइएको अवधिको रकमसमेत भुक्तानी भएको भन्दै अभिभावकले छानबिनको माग गरेका छन्।
स्थानीयका अनुसार नगरपालिकाले गत आर्थिक वर्षको असारमै विद्यालयलाई विद्यार्थीको दिवा खाजाका लागि ५८ हजार ८ सय रुपैयाँ भुक्तानी गरेको थियो। तर उक्त अवधिमा विद्यार्थीलाई दिवा खाजा नखुवाइएको र भाद्र ८ गतेदेखि मात्रै खाजा खुवाउन थालिएको स्थानीय राजेन्द्रसिंह साउदले जानकारी दिनुभयो।
विद्यालयले वैशाख २५ गतेदेखि असार मसान्तसम्म नियमित रूपमा दिवा खाजा खुवाउनुपर्ने भए पनि उक्त अवधिमा विद्यार्थीलाई खाजा नखुवाइएको अभिभावकको दाबी छ। नगरपालिकाले दिवा खाजाको रकम भुक्तानी गर्दा भ्याट बिललगायतका कागजातका आधारमा भुक्तानी गर्ने व्यवस्था गरेको अवस्थामा विद्यार्थीलाई खाजा नै नखुवाइएको अवधिको रकम कसरी भुक्तानी भयो भन्ने विषयमा अभिभावकले प्रश्न उठाएका छन्।
विद्यालयका प्रधानाध्यापक रमेशप्रसाद विष्टले आफू असारमा मात्रै प्रधानाध्यापकको जिम्मेवारीमा आएको र रकम भुक्तानी तथा दिवा खाजा नखुवाइएको विषय आफ्नो नियुक्तिभन्दा अघिको भएको बताउनुभयो। उहाँका अनुसार उक्त रकम आफू प्रधानाध्यापक बन्नुअघि नै विद्यालयको खातामा आएको थियो। सो अवधिमा विद्यार्थीलाई दिवा खाजा नखुवाइएको स्वीकार गर्दै उहाँले विद्यालयमा कार्यालय सहयोगी नभएका कारण खाजा कार्यक्रम सञ्चालन हुन नसकेको बताउनुभयो।
“म प्रधानाध्यापक हुनुअघि नै रकम विद्यालयको खातामा आएको हो। त्यस अवधिमा विद्यार्थीलाई दिवा खाजा खुवाइएको छैन। रकम कसरी भुक्तानी भयो भन्ने विषयमा मलाई जानकारी भएन। अहिले रकम विद्यालयकै खातामा छ। नगरपालिकाले जे निर्देशन दिन्छ, सोहीअनुसार रकम फिर्ता गर्छौँ,” प्रधानाध्यापक विष्टले भन्नुभयो। यस विषयमा अघिका प्रअ संग आफुले बुझ्दा विद्यार्थीहरुलाई खाना खुवाउने भनेर बजेट माग गरेको तर पालिकाले तोकेको मेनु अनुसारको खुवाउन नसकेको र कायालय सहयोगी पनि नभएपछि समस्या भएको भन्ने जवाफ पाएको प्रधानाध्यापक विष्टले बताउनुभयो ।
अहिले भने कायालय सहयोगी नभए पनि विद्याथीहरुलाइ भोकै राख्नुभन्दा शिक्षकहरुले नै खाना पकाएर खुवाउन थालेको विष्टले बताउनुभयो । विद्यालयमा दरबन्दी अनुसारका शिक्षक कर्मचारी र कार्यालय सहयोगी समेत नहुँदा समस्या भएको विष्टले बताउनुभयो ।
यता, शैल्यशिखर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हितप्रसाद पौडेलले पनि उक्त भुक्तानी आफू बिदामा बेला भएको बताउनुभयो।
जुन शीर्षकमा रकम निकासा भएको हो, सोहीअनुसार कार्यक्रम सञ्चालन नभएको पुष्टि भए रकम फिर्ता गरिने उहाँले बताउनुभयो। विद्यार्थीलाई दिवा खाजा नखुवाई रकम कसरी भुक्तानी भयो भन्ने विषयमा तत्कालीन जिम्मेवार अधिकारीसँग बुझेर वास्तविकता स्पष्ट पार्ने उहाँको भनाइ छ। विद्यालयले उक्त अवधिमा खाजा नखुवाएको पुष्टि भए रकम तत्काल राजस्व खातामा दाखिला गर्न लगाइने उहाँले बताउनुभयो।
प्रमुख प्रशासकीय अधिकृत पौडेलले कार्यक्रम नै सञ्चालन नगरी वा जुन शीर्षकमा बजेट विनियोजन भएको हो, सोही शीर्षकमा खर्च नगरी रकम उपयोग गरेको पाइए प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनीसमेत दिनुभएको छ। विद्यार्थीका लागि विनियोजित दिवा खाजा कार्यक्रमको रकम निकासा तथा खर्च प्रक्रियामा सम्बन्धित निकायबाट पर्याप्त अनुगमन भएको थियो कि थिएन भन्ने प्रश्नसमेत उठाएको छ। नगरपालिकाले रकम निकासा प्रक्रियादेखि विद्यालयमा भएको वास्तविक खर्चसम्म छानबिन गरी आवश्यक निर्णय लिनुपर्ने अभिभावकहरुको माग छ ।





प्रतिक्रिया