दार्चुला । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गर्नुभएको छ ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले आइतबार दिउँसो संसद विघटन गर्नुभएको हो ।
राष्ट्रपतिको कार्यालय शितल निवासले विज्ञप्ति जारी गर्दै संसद विघटन गरेको जानकारी दिएको छ।
संविधानको धारा ७६ को उपधारा (१०) र (७०) तथा धारा ८५ एवं संसदीय प्रणालीको आधारभूत मर्म एवं मूल्य मान्यता तथा हाम्रो आफ्नै र संसदीय प्रणाली भएका विभिन्न मुलुकहरूको अभ्यास बमोजिम संघीय संसदको वर्तमान प्रतिनिधि सभा विघटन गरी ताजा जनादेशका लागि नेपाली जनता समक्ष जान मिति २०७८ साल वैशाख १७ गते शुक्रबार पहिलो चरणमा र मिति २०७८ साल बैशाख २७ गते सोमबार दोस्रो चरणमा अर्को प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्ने गरी निर्वाचनको मिति तोक्न नेपाल सरकार, मन्त्रिपरिषद्को बैठकबाट निर्णय भई सोही बमोजिम सम्माननीय प्रधानमन्त्रीबाट सिफारिस भएकोले उक्त सिफारिस बमोजिम संघीय संसदको वर्तमान प्रतिनिधि सभा विघटन गरी मिति २०७८ साल वैशाख १७ गते शुक्रबार पहिलो चरणमा र मिति २०७८ साल वैशाख २७ गते सोमबार दोस्रो चरणमा प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्ने गरी निर्वाचनको मिति तोक्नु भएको छ,’ राष्ट्रपति कार्यालयको विज्ञप्तिमा भनिएको छ।
राजनीतिक घटनाक्रम फेरिएसँगै चारै सुरक्षा निकायले आफ्ना मातहतलाई ‘चनाखो बस्न’ सर्कुलर गरेका छन् ।
राजनितीक परिदृश्य फेरिएको भन्दै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागले देशभर ‘चनाखो’ बस्न भन्दै सर्कुलर गरेका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन भएपछि सुरक्षा निकायलाई ‘हाई अलर्ट’ राखिएको गृह मन्त्रालयका एक उच्च अधिकृतले बताउनुभयो ।
‘शान्ति सुरक्षाको अवस्था र अन्य गतिविधि निगरानी भएको अवस्था हो’ नेपाल प्रहरीका प्रवक्ता (एसएसपी) वसन्त कुँवरले भन्नुभयो ।
सुरक्षा निकायले देशभर संवेदनशील र ‘चनाखो हुन’ सर्कुलर गरेका छन् । सुरक्षा निकायलाई ‘अलर्ट’ बस्न भनिएको प्रधानमन्त्री कार्यालयका एक उच्च अधिकारीले बताउनुभयो ।
प्रधानमन्त्री निवास बालुवाटार आसपास र शीतल निवास क्षेत्रमा ठुलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा प्रेमकुमार राई सिफारिस हुनुभएको छ । संवैधानिक परिषद्को गत मंसिर ३० गतेको बैठकले राईको नाम सिफारिस गरेको परिषद् सदस्य समेत रहेका राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले जानकारी दिनुभयो । उहाँले अन्य निकायहरुमा पनि नियुक्ति सिफारिसको निर्णय भएको बताउनुभयो ।
संसद् विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयप्रति असन्तुष्टि जनाएर सामूहिक राजीनामा दिएका सात जना मन्त्रीले प्रधानमन्त्री ओलीको कदमको सामना गर्दै परिवर्तनलाई बचाउने बताएका छन् । उनीहरूले यो कदमलाई असंवैधानिक भन्दै उपलब्धि बचाउन सङ्घर्ष र प्रयत्न गर्ने प्रतिबद्धता जनाएका छन् ।
सामूहिक राजीनामा दिँदै मन्त्रीहरूले आवेगमा राजीनामा नगरेको र प्रधानमन्त्री सच्चिनु हुन्छ कि भनेर राजीनामा दिएको बताएका छन् । सिंहदरबारमा रहेको कृषि समितिको हलमा भएको कार्यक्रममा शिक्षामन्त्री गिरिराजमणि पोख्रेलले संसद् विघटन गर्ने कदमलाई रोक्न पहल गरेको र यो कदम गैरसंवैधानिक भएको टिप्पणी गर्नुभयो ।
उहाँले देशको राजनीति र पार्टीमा आएको अकल्पनीय सङ्कटमा आफू नागरिकको साथमा रहेको समेत बताउनुभयो ।
त्यस्तै कृषिमन्त्री घनश्याम भुसालले नागरिकले स्थिर सरकार र विकासका लागि मत दिएको र अहिले नागरिकको सपनामा धक्का लागेको बताउनुभयो ।
उहाँले संसद् विघटनपछि देश दुर्घटनामा पुगेको बताउनुभयो । मन्त्री भुसालले देशको वामपन्थी आन्दोलनमा समस्या आएको र यसको सामना गर्ने बताउनुभयो । यसको क्षतिपूर्तिका लागि सक्षम हुने पनि उहाँको भनाइ छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले पनि आजको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्रीलाई नागरिकको मतको अपमान हुने गरी कदम नचाल्न सुझाव दिएको भन्दै यसले परिवर्तनमा धक्का पुगेको टिप्पणी गर्नुभयो । उहाँले संविधानमा भएका व्यवस्थाहरू बचाउन पहल गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।
प्रधानमन्त्रीको कदमप्रति असन्तुष्टि जनाउँदै ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पुन, शिक्षामन्त्री पोख्रेल, वनमन्त्री बस्नेत, संस्कृति पर्यटन तथा नागरिकमन्त्री भट्टराई, खानेपानी तथा सरसफाइ मन्त्री विना मगर, श्रममन्त्री रामेश्वर राय यादव र कृषिमन्त्री भुसालले सामूहिक राजीनामा दिनुभएको हाे ।
नेकपाको पहलमा तीन दलका नेताहरुको बैठक कांग्रेस संसदीय दलको कार्यालय, सिंहदरबारमा बसेको थियो । बैठकमा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ र देव गुरुङ थिए भने कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रमुख सचेतक बालकृष्ण खाँड र मिनेन्द्र रिजाल तथा जसपाका डा। बाबुराम भट्टराई र राजेन्द्र महतो थिए ।
बैठकले संसद विघटन गर्न प्रधानमन्त्रीले गरेको सिफारिस र त्यसलाई अनुमोदन गर्ने राष्ट्रपतिको कदम दुबै असंवैधानिक र अलोकतान्त्रिक भएको निष्कर्ष निकालेको छ ।
यसको विरोध गर्ने र संयुक्त रुपमा प्रतिवाद गर्ने निर्णय समेत भएको नेकपा प्रवक्ता श्रेष्ठले बताउनुभयो । नेताहरुबिच भोलि फेरि बैठक बस्ने सहमति भएको छ ।
आइतबार बिहान १० बजेर ५० मिनेटमा नै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रैका ९० जना सांसदले प्रधानमन्त्रीविरुद्ध व्यवस्थापिका संसद् सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।
तर साढे १० बजे नै प्रधानमन्त्रीले आकस्मिक रूपमा मन्त्रिपरिषद्को बैठक डाकेर एकलौटी रूपमा संसद् विघटनको प्रस्ताव राष्ट्रपतिकाेमा पठाउनुभएको थियो । बिहान १० बजेर ५० मिनेटमा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको देखिएको छ भने संसद् विघटन २ बजेर ४१ मिनेटमा भएकाे देखिन्छ ।




