विगत २ महिनादेखि कोरोनाका कारण देश ठप्प छ । खास गरी शिक्षालयहरू बन्द हुँदा लाखौँ बालबालिकाहरू विद्यालय जानबाट बन्चित भएका छन् । जस्तोसुकै कठिन परिस्थितिमा पनि बालबालिकाहरू शिक्षा लिन पाउने अधिकारबाट बन्चित हुनुहुँदैन भन्ने विश्वव्यापी मान्यता छ ।

यस परिस्थितिमा हाम्रो जस्तो अल्पविकसित देशमा यो कोरोनामय समयमा र कोरोनापछिको समयमा शिक्षाको स्वरूप कस्तो हुन सक्छ भन्ने विषयमा गम्भीर बहस र व्यवस्थापनको जरुरी छ । कोरोनाको आतङ्क कहिलेसम्म रहने हो  भन्ने अनिश्चित छ । अनुमान गर्न पनि कठिन छ । यस परिस्थितिमा अबको शिक्षालाई कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने चुनौती शिक्षामा सरोकार राख्ने सबैलाई भएको छ भने अर्कोतर्फ कोरोना आतङ्कले उत्तिकै रूपमा सम्भावनाका द्वारहरू पनि खोलेको छ ।

सर्वप्रथम त कोरोनासँगै चम्किएको अनलाइन कक्षाहरूको सञ्चालनलाई यसको सकारात्मक प्रभाव मान्नुपर्ने हुन्छ ।  निश्चित रूपमा अनलाइन शिक्षाका आफ्नै सीमितता छन् । व्यवस्थापन गाह्रो छ । व्यवस्थापन भए पनि विद्यार्थी कक्षामा उपस्थित भएर अध्ययन गरेजस्तो यो प्रभावकारी हुँदैन नै । यसका बाबजुद, अहिलेको वैज्ञानिक युगमा प्रविधिको प्रयोगविनाको शिक्षा अपूरो र अधुरो थियो । नेपालको सन्दर्भमा विद्यालयहरूले प्रविधिलाई महत्त्व दिएकै थिएनन् भन्ने स्थिति थियो ।

आज कोरोनाले हाम्रा विद्यालयलाई भर्चुअल कक्षाहरूमा जानै पर्ने पाठ सिकाएको छ । अब सरकार र विद्यालयहरूले प्रविधिलाई नकार्न नसक्ने भएका छन् । भाइबर, मेसेन्जर, फेसबुक, गुगल, जुम सबै प्रयोग गरिन थालिएका छन् । यिनीहरूको प्रभावकारिता कतिको भएको छ, त्यो बेग्लै कुरा भयो तर यस्ता कक्षाहरू सुरुवात गरिदिने कोरोन भाइरसले शिक्षामा नयाँ आयाम थपिदिएको मान्नुपर्ने हुन्छ । आज शिक्षकहरू, विद्यार्थीहरू, अभिभावकहरू प्रविधिमैत्री भइरहेका छन् ।

भर्चुअल कक्षा कहिल्यै पनि कक्षा कोठाको विकल्प हुन सक्दैन । अहिलेको वैज्ञानिक युगमा कक्षा कोठाहरू पनि भर्चुअल कक्षाको अभावमा अपूरा थिए । भर्चुअल कक्षा र कक्षाकोठा एकअर्काका परिपूरक हुन सकेमा शिक्षामा ठूलो परिवर्तन ल्याउन सकिन्छ, जसको जग कोरोना भाइरसले बसाइदिएको छ ।

अब बनाइने शैक्षिक नीति, नियमलाई भर्चुअलमैत्री बनाएर कार्यान्वयन गर्नुपर्ने बाटो कोरोनाले देखाइदिएको छ । सबै विद्यालय र सबै बालबालिकाहरूलाई इन्टरनेटको सहज सुविधा पुर्‍याउनै पर्ने चुनौती सरकारमाथि थपिदिएको छ भने शिक्षक र अभिभावकहरूलाई समेत प्रविधि सिक्न प्रोत्साहन गरेको छ ।

यदि कोरोनाको समय लम्बियो भने सधैँ विद्यालय बन्द गरेर सम्भव छैन । कोरोना सँगसँगै विद्यालय सञ्चालन गरेर शैक्षिक क्रियाकलापहरू सञ्चालन गर्नुपर्ने हुन्छ । यसका लागि हामीले आवश्यक पूर्वतयारीहरू गर्न आवश्यक छ । अहिले हामीले विद्यालयमा अभ्यास गरिरहेका धेरै कुराहरूमा परिवर्तन ल्याउनुपर्ने हुन्छ । स्कुल बसहरूमा कोचाकोच गरेर विद्यार्थी ओसार्ने दिनहरूलाई कोरोनाले बिदाइ गर्ने नै छ ।

बसहरूमा भौतिक दूरी कायम गरेर बस्न मिल्ने सिटहरूको व्यवस्थापन गर्न जरुरी देखिन्छ । अबका दिनहरूमा हाम्रा क्याण्टिन र शौचालयहरूमा प्रशस्त पानी र साबुनको व्यवस्थापन गरेर हात धुने व्यवस्था गराउनुपर्ने हुन्छ । अब कोरोनालाई जितेर यसबाट मुक्ति हुनेभन्दा पनि कोरोना सँगसँगै शैक्षिक क्रियाकलापहरूलाई सञ्चालन गर्दा हामीले हरेक बच्चालाई कसरी व्यक्तिगत सरसफाई गर्ने भन्ने सिकाएर स्कुलको गेटबाट भित्र पसेपछि गेटबाहिर ननिस्किउन्जेल सुरक्षित भएर बस्न सिकाउनुपर्ने हुन्छ ।

भौतिक दूरी कायम राख्दै अध्ययनका क्रियाकलापहरू गराउनुपर्ने हुन सक्छ । यदि कोरोनाको समय धेरै महिना रह्यो भने हामीले हाम्रा बानी व्यवहारमा आमूल परिवर्तन ल्याउने नै छौँ । यस कोरोना महामारीले शिक्षाको सिकाइ पद्धति  मूल्याङ्कनलगायत सम्पूर्ण आयाममै आमूल परिवर्तन गरिदिएर हाम्रो शिक्षालाई नयाँ उचाइमा पुर्‍याउने सम्भावना पनि त्यतिकै छ ।

कोरोना निर्मूल भएर हामी पहिलेकै अवस्थामा फर्किने सम्भावना कम देखिन्छ बरु हामीले हाम्रा बानी व्यवहारहरू,  नीति, नियमहरू कोरोना सापेक्ष बनाउनु जरुरी देखिन्छ ।

वर्तमान अवस्थामा हाम्रा कक्षाहरूमा विद्यार्थीहरू कोचाकोच भएर, अटेसमटेस भएर बस्नुपर्ने स्थिति छ । एउटै शिक्षकले करिब ४० जनालाई एउटै कक्षामा राखेर पढाउने, गृहकार्य दिने तर फर्केर नहेर्ने गरेको अवस्थामा अबका कक्षाकोठाहरूमा एकल कुर्सी राखेर भौतिक दूरी कायम राख्दै १५-२० जना विद्यार्थीहरूको मात्र कक्षा सञ्चालन गर्नुपर्ने हुन सक्छ । यस अवस्थामा पढाइको गुणस्तर बढ्ने स्वत: अनुमान गर्न सकिन्छ । प्रविधिको प्रयोग गर्दै १५-२० जनाले कक्षाकोठामा पढ्न पाउने अवसर पनि कोरोनाले खोलिदिने सम्भावना छ ।

अबको शिक्षालाई व्यवस्थापन गर्न आर्थिक चुनौती त छ नै । कुनै समयमा कुल बजेटको २० प्रतिशत शिक्षा क्षेत्रका लागि खर्च छुट्याएको सरकारले उक्त्त बजेटलाई अहिले झण्डै १० प्रतिशतमा झारेको अवस्थामा शिक्षा क्षेत्रमा आमूल परिवर्तन हुन सक्ने सम्भावना कम नै छ ।

शिक्षा क्षेत्रको बजेटलाई २५ प्रतिशतमा पुर्‍याएर नयाँ योजनाका साथ अघि बढ्न आवश्यक छ । सरोकारवालाहरूले यो कोरोनामय समयलाई अवसरको रूपमा लिई नीति, नियम बनाई अबको शिक्षाको कार्यदिशा बनाउनु आवश्यक मात्र नभएर अनिवार्य छ । यदि यस मोडमा पनि शिक्षा क्षेत्रमा परिवर्तन ल्याउन सकिएन भने हामीले ठूलो अवसर गुमाउनेछौँ । भावी सन्ततिहरूले समेत पुरानै शिक्षा प्रणालीमा अभ्यस्त भई नयाँ सम्भावनाका लाभबाट बन्चित हुने निश्चित छ ।

(लेखक काठमाडौं विश्वविद्यालयबाट एजुकेसनल लिडरसिपमा एमफिल तहको रिसर्च गर्दै छन् )

-शिलापत्रबाट साभार ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

स्वस्थानी व्रत कथा शुरू, रेडियो लोकदर्पणमा ज्यो. ईन्द्रदेव जोशीको प्रस्तुती (भिडियोसहित)

२०८१ पुष २९, सोमबार ०८:३०

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?