दार्चुला । बैतडी जिल्लाको डिलासैनी गाउँपालिका वडा नम्बर १ स्थित आदर्श माध्यमिक विद्यालय, सेल्तडामा कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूको औपचारिक विदाई कार्यक्रम सम्पन्न गरिएको छ।
डिलासैनी गाउँपालिकाकै कान्छो विद्यालयका रूपमा रहेको उक्त विद्यालयले कक्षा १० को पहिलो ब्याचका २२ जना विद्यार्थीलाई शुक्रबार विदाई गरेको विद्यालयका शिक्षक विष्णु दत्त जोशीले जानकारी दिनुभयो। गत वर्षदेखि मात्रै माध्यमिक तहको पठनपाठन सुरु गरेको विद्यालयले यस वर्ष पहिलो पटक कक्षा १० का विद्यार्थी उत्पादन गरेको हो।
विद्यालयका प्रधानाध्यापक केशव बहादुर रानाका अनुसार विद्यालयले यसअघि सञ्चालन गरेको एसईई प्रि–टेस्ट परीक्षा सम्पन्न भएसँगै विद्यार्थीहरूको विदाई कार्यक्रम आयोजना गरिएको हो।
शिक्षक अभिभावक संघका अध्यक्ष गोरख सिंह रानाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष बल्देव भट्टको प्रमुख आतिथ्यता तथा प्रधानाध्यापक रानाको विशिष्ट आतिथ्यता रहेको थियो। कार्यक्रममा शिक्षक, कर्मचारी, अभिभावक तथा विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो।
विदाई कार्यक्रममा विद्यार्थीहरूलाई खादा तथा फूलमाला लगाई उज्ज्वल भविष्यको कामना गर्दै सम्मानपूर्वक विदाई गरिएको शिक्षक जोशीले बताउनुभयो।




