
दार्चुला । ग्रामीण सडकहरुदेखी प्रमुख मार्गको रुपमा रहेको बैतडी हुदै दार्चुला सदरमुकाम खलंगा जोड्ने महाकाली लोकमार्गमासमेत जोखीमपुर्ण सडकका कारण दुर्घटनाको उच्च जोखिम छ । साघुरो सडकमा, सडकको क्षमताभन्दा ठुलो आकारका सवारी साधनहरु सञ्चालन गर्दा दुर्घटनाको जोखीम रहेको चालकहरुले नै बताउँने गरेका छन् । दार्चुलाको ग्रामिण क्षेत्रका आधा दर्जनबढी सडकमा चल्ने जिपहरुदेखी लोकमार्गमा दैनिक चल्ने डिलक्स बसहरु भगवान भरोसामा ओहोरदोहोर हुने गरेका छन् ।
बर्षायाममा कच्ची अनि खाल्डाखुल्डी परेका सडकमा क्षमताभन्दा बढी यात्रु र सामान ओसार्ने गरेका सवारी चालकहरु जेखीम मोलेर सवारी सञ्चालन गर्न बाध्य रहेको जीपचालक हरक सिह धामीले बताउँनुभयो । सडक सुधार नहुदा जोखीमपुर्ण कष्टप्रद यात्रा गर्नुपरेको यात्रुहरुले गुनासो गर्ने गरेका छन । सडकको स्तरोन्नती नहुनु, क्षमताभन्दा बढी यात्रु बोक्नु, सडकको क्षमताभन्दा ठुला यातायातका साधनहरु गुडाउँनु र तिब्र गतिका कारण ठाउँठाउँमा दुर्घटना हुने खतरा रहेको छ । यात्रुहरुको आग्रह र समस्यालाइ हेरेर कहिलेकाही क्षमताभन्दा दोब्बर यात्रु समेत बोक्ने गरेको धामीले बताउँनुभयो ।
जिल्लाको मार्मा क्षेत्रमा चल्ने जिपहरु रामनाम जप्दै अनुमति समेत नपाएको सडकमा घुइकिने गरेका छन् । पारीबगरदेखी लटिनाथ सम्म होस वा लटिनाथ देखी गन्ना पुग्दासम्म ठाउँठाउँमा दुर्घटनाको जोखीम रहेको छ । लेकम क्षेत्रको उकु क्षेत्र, नौगाड गाउँपालिकाका सडकहरुमा चल्ने जिपहरु र दुहु क्षेत्रमा समेत सवारी साधनहरु जोखीम मोलेरै यात्रा गरीरहेका छन् । सुखद पक्ष अहिलेसम्म जिल्लामा ठुला दुर्घटनाहरु भएका छैनन तर यसै अवस्थामा सडक गुडाउँने हो भने कुनै दिन ठुलो दुर्घटना निम्तीन सक्छ भन्ने कुरा नकार्न सकिदैन ।
महाकाली लोकमार्गमा अहिले झन्डै एक दर्जन फोल्डीङ सिट भएका डिलक्स बसहरु दैनिक चल्ने गरेका छन । साघुरो सडकका कारण एकले अर्को गाडिलाइ साइड दिन समेत धेरै पछाडि गएर बस रोक्नुपर्ने अवस्था छ । सडक स्तरोन्नतीको नाममा बर्षेनि राजनीतिक मुद्धा बन्ने र अलिअलि पैसापनि खर्च हुदै आएपनि दैनिक सयौ सवारीसाधनहरु आवतजावत गर्ने सडक स्तरोन्नती गर्न कसैले ध्यान दिन सकेको छैन ।
सडक दुर्घटनाको जोखीम कम गर्न सडकको स्तरोन्नती, सामान्य गति र चालकको होसीयारी आबश्यक रहेको यात्रुहरुले बताउँनेगरेका छन ।

पत्रकार जोशी लोकदर्पण मिडियाका लागि विभिन्न विधाका समसामयिक विषयमा कलम चलाउछन् ।