एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन(डब्लूएचओ)लाई ३० दिनभित्र ठूलो सुधार नगरे विश्व स्वास्थ्य संगठनलाई दिँदै आएको सहयोग सधैँका लागि रोक्ने चेतावनी दिनुभएकाे छ।
सोमबार राति प्रेस मिटका क्रममा राष्ट्रपति ट्रम्पले डब्लूएचओका महानिर्देशक डाक्टर ट्रेडोस एडहानोम गेहब्रेयससलाई संगठनको सुधारका लागि ३० दिनको समयसीमा ताेक्नुभएकाे हाे। यदि तीस दिनभित्र संगठनको कार्यशैलीमा बदलाव नल्याए स्थायी रुपमा सहयोग रोक्ने चेतावनी उहाँले दिनुभएकाेछ ।
चीनको प्रशंसा गरेकोप्रति डब्लूएचको आलोचना गरेको भन्दै ट्रम्पले ‘यो स्पष्ट छ कि तपाईँ र तपाईँको संगठनले बारम्बार चालेका कदमको मूल्य विश्वले चुकाउनु परेको बताउनुभयाे । विश्व स्वास्थ्य संगठनका लागि एउटा मात्र बाटो भनेको वास्तवमै चीनको दबाबमा नआई काम गर्नुु हो ।
’ अमेरिकाले डब्लूएचओलाई वार्षिक रुपमा ४ सय देखि ५ सय मिलियन अमेरिकी डलरसम्म सहयोग गर्दै आएको उल्लदे गर्दै ट्रम्पले चीनले ‘मात्रै ४० मिलियन’ सहयोग गर्ने गरेको बताउनुभयाे ।यसैबीच चीनले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) लाई २ अर्ब अमेरिकी डलर सहयोग प्रदान गर्ने भएको छ । उक्त रकम दुई वर्षभित्र प्रदान गर्ने निर्णय भएको चिनियाँ राष्ट्रपति सी चिनफिङले सोमबार बताउनुभयाे ।
विश्वव्यापी महामारीका कारण संगठनलाई अहिले अझ धेरै आर्थिक सहयोगको आवश्यकता रहेको भन्दै संगठनले सहयोगका लागि अपिल गर्दै आएको छ । आगामी दिनमा डब्लूएचओ चीन र अमेरिकाको विवादको चेपुवामा पर्ने देखिएको छ । विश्लेषकहरुले स्वास्थ्य क्षेत्रको वैश्विक संगठनलाई कसैले पनि हस्तक्षेप नगरी स्वतन्त्र ढंगले काम गर्न दिनुपर्ने बताएका छन् ।
पत्रकार जोशी लोकदर्पण मिडियाका लागि विभिन्न विधाका समसामयिक विषयमा कलम चलाउछन् ।