दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिकामा तीन दिने नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। अपिहिमाल गाउँपालिकाको आयोजना र एक एक पाइला फाउन्डेशनको सहकार्यमा सञ्चालन भएको स्वास्थ्य शिविरबाट एक हजार पाँच सय ९२ जनाले सेवा लिएका छन् ।
तीन दिने शिविरमा ४५७ जना पुरूष र एक हजनर १३५ जना महिला गरि एक हजार ५९२ जनाले सेवा पाएको गाउँपालिकाका एमआईएस अपरेटर दिपक टमटाले जानकारी दिनुभयो। उक्त अवधिमा जम्मा तीन हजा १९ पटक विभिन्न स्वास्थ्य सेवाहरू प्रदान गरिएको तथा २९ वटा शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको उहाँले बताउनुभयो।
शिविरको पहिलो दिन ६३२ जना, दोस्रो दिन ५९३ जना र तेस्रो दिन २६७ जनाले सेवा पाएको बताइएको छ। सेवा प्रवाह विभागका अनुसार नाक, कान, घाँटी सम्बन्धि समस्या भएका ३१३ जना बिरामी आएकोमा १० जनाको शल्यक्रिया गरिएको छ। छाला तथा यौन रोग सम्बन्धि १४३ जना, सामान्य चिकित्सा ४३३ जना, सामान्य शल्यक्रिया २०३ जना, प्रयोगशाला ४९१ जना, आँखा सम्बन्धि ४७८ जना बिरामी आएकोमा १९ जनाको आँखाको शल्यक्रिया गरिएको छ। बाल रोग १२८ जना, दन्त सेवा ३२४ जना,
स्त्री तथा प्रसूति रोग सम्बन्धि २९९ जना बिरामी आएका छन् । हाडजोर्नी सम्बन्धि ३११ जना बिरामी शिविरमा आएका थिए।
तीन दिने बृहत् स्वास्थ्य शिविरमार्फत स्थानीय नागरिकहरूले विविध स्वास्थ्य सेवाहरू सहज रूपमा प्राप्त गरेको गाउँपालिकाले जनाएको छ। शिविरले रोग पहिचान, उपचार तथा स्वास्थ्य सचेतनामा महत्वपूर्ण योगदान पुर्याएको गाउँपालिका अध्यक्ष भक्त बहादुर सिंह ठेकरेले बताउनुभयो। शिविरलाई सफल बनाउन योगदान पुर्याउने एक एक पाइला फाउन्डेसनका स्वास्थ्यकर्मी, आयोजक, सहयोगी संस्था तथा सरोकारवालाहरूप्रति अपिहिमाल गाउँपालिकाले धन्यवाद समेत व्यक्त गरेको छ। शिविर समापन कार्यक्रममा सम्मानपत्रका साथै अपिहिमालमै बनेको हाते झोला र टोपी उपहारस्वरूप प्रदान गरिएको छ।




