दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिकाको भाडाको सवारी साधन दुरुपयोग भएको भन्ने आरोपबारे नौगाड गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुष्कर सिंह धामीले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो भनाइ सार्वजनिक गर्नुभएको छ ।

धामीले आफू मिति २०८२ चैत २४ गते लालसिंह ठगुन्नाको बोलेरो गाडीमार्फत होपरीगाडबाट धनगढी पुगेको बताउनुभएको छ। त्यसपछि चैत २५ देखि ३० गतेसम्म सैपाल रिसोर्ट, खानीडाँडामा सञ्चालन भएको तालिममा सहभागी भएको र २०८३ वैशाख १ गतेदेखि ५ गतेसम्म सपरिवार दार्जिलिङ भ्रमणमा निस्किएको उल्लेख गर्नुभएको छ ।

उहाँले शैल्यशिखर नगरपालिकाको कार्यालय प्रयोजनका लागि भाडामा रहेको गाडी चैत २७ गते साँझ धनगढी पुगेको र त्यसपछि २८ र २९ गते सार्वजनिक बिदा तथा नयाँ वर्षका कारण मर्मत सम्भार हुन नसकेको जानकारी सवारी चालकसमेत रहेका आफन्तमार्फत पाएको उल्लेख गर्नुभएको छ।

धामीका अनुसार भ्रमणका क्रममा प्रयोग गरिएको सवारी आफ्नै मिल्ने साथीको ‘निक्सन कार’ भएको र उक्त गाडी उहाँका भाइले चलाएर पशुपतिनगरसम्म लगेर फर्किएको हो। उहाँले नगरपालिकाको भाडाको सवारी प्रयोग गरेको भन्ने आरोपलाई अस्वीकार गर्नुभएको छ ।

आफ्नो नाम तोकेर सामाजिक सञ्जालमा गरिएको प्रचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै उहाँले बिना कुनै जानकारी नलिई राजनीतिक उद्देश्यले कुप्रचार गरिएको बताउनुभएको छ। साथै प्रमुख जिल्ला अधिकारीसँग भएको संवाद अनुमति बिना रेकर्ड गरी सामाजिक सञ्जालमा सार्वजनिक गर्नु व्यक्तिगत गोपनीयताको उल्लङ्घन भएको उल्लेख गर्नुभएको छ ।

धामीले आधारहीन आरोप लगाउँदै पोस्ट गर्ने, सेयर गर्ने तथा टिप्पणी गर्ने व्यक्तिहरूविरुद्ध आवश्यक परे कानुनी प्रक्रिया अघि बढाउने चेतावनीसमेत दिनुभएको छ ।

यसअघि रास्वपा शैल्यशिखर नगर कमिटीले नगरपालिकाले भाडामा लिएको स्कार्पियो गाडी जनप्रतिनिधिका आफन्तले निजी प्रयोजनमा प्रयोग गरेको आरोप लगाएको थियो।

धामीले आफ्नो सामाजिक सञ्जाल फेशबुकमा लेखेको स्टाटस

म मिति २०८२/१२/२४ गतेका दिन लाल सिह ठगुन्नाज्यूको बलेरो जीवमा होपरीगाड देखि धनगढी पुगेको। चैत्र २५-३० सम्म सैपाल रिसोर्ट खानीडाडामा तालिममा सहभागी भएको। मिति २०८३ बैशाख १ गते देखि ५ गते सम्म सपरिवार दार्जलिङ सम्म घुमघाममा निस्किने अबसर प्राप्त भएको।
शैल्यशिखर नगरपालिका कार्यालय प्रयोजनमा भाडामा रहेको गाडि मिति २०८२/१२/२७ गते साझ धनगढी पुगेको र २८ र २९ गते सार्वजनिक विदा रहेको साथै नयाँ वर्ष सुरु भईसकेकोले मिस्त्रीहरु छुट्टिमा रहेकाले गाडि मर्मत हुन नसकेको भन्ने जानकारी शैल्यशिखर नगरपालिकाको हसचा (मेरो सहोदर फुपूको छोरो ) बाट जानकारी प्राप्त भएको र निज सँग धनगढिमा भेट भएको साथै घुम्नजाने चाँजोपाजो धनगढिमानै मिलेको जसमा धनगढीमै बसोवास गर्ने मेरो मिल्ने साथिको निक्सन कार मेरो भाईले चलाएर पशुपति नगर सम्म लगेर फर्किएको व्यहोरा सम्पूर्णमा फेसबुक मार्फतनै जानकारी गराउदछु।
मेरो नामै तोकेर सामाजिक सञ्जालमा केहि व्यक्तिहरुले गरेको कुप्रचार प्रति मेरो गम्भीर ध्यान आकर्षण भएको छ।
मलाई एक कलनै नगरी अर्थात् म सँग यो विषयमा जानकारीनै नलिई आफ्नो राजनीतिक अभीष्ट पुरा गर्ने उद्देश्यले गरिएको दुष्प्रयास प्रति गहिरो खेद व्यक्त गर्दछु।
श्रीमान प्रमुख जिल्ला अधिकारीज्यू सँग भएको सम्वाद उहाँको अनुमति वेगर रेकर्ड गरी सामाजिक सञ्जालमा पोष्ट गर्ने कार्य व्यक्तिगत गोपनियताको गम्भीर उलङ्घन हो।
धेरै उम्लियो भने पोखिने र भाडो पनि जल्ने प्रकृतिको नियम हो।
#अन्तमा
शंकाको भरमा, व्यक्तिगत तथा पारिवारिक रिसिवि र राजनीतिक अभीष्ट पुरा गर्ने उद्देश्यले मेरा विषयमा फेसवुक पोष्ट गर्ने, पोष्ट सेयर गर्ने र पोष्टमा कमेण्ट गर्नेहरुका विरुध्द न्यायालयको शरणमा जान बाध्य भएको छु।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?