दार्चुला । चीन र भारतको सीमा क्षेत्र लद्दाखको गलवान भ्यालीमा दुई देशका सैनिकबीच हिंसात्मक झडप भएको छ । झडपमा तीन भारतीय सैनिकहरु मारिएका छन् ।
मृत्यु हुनेमा एक आर्मी अफिसर र दुई सिपाही छन् ।सन् १९७५ पछि पहिलोपटक नियन्त्रण रेखामा भारतीय सेनाको ज्यान गएको हो ।
सीमा क्षेत्रमा बारम्बार तनाव उत्पन्न हुने गरे पनि गोली नचलेको लामो समय भइसकेको थियो । तर एक महिनादेखि लद्दाखमा भारतले गरेको बाटो विस्तारलाई लिएर दुई देशबीच नयाँ तनाव उत्पन्न भएको थियो ।
दुवै मुलुकले सीमाक्षेत्रमा आफ्नो सैनिकको संख्या बढाएका थिए भने ६ जुनमा वार्ता पनि भएको थियो ।तर सोमबार राति गोली हानाहान भएको छ ।भारतीय सेनाका प्रवक्ताले एक वक्तव्य जारी गर्दै भारतीय भूमिमा सेनाका एक अधिकारी र दुई जवान मारिएको दाबी गर्नुभएकाे छ ।
वक्तव्यमा अहिले दुई पक्षका वरिष्ठ सैनिक अधिकारीहरुको बीचमा वार्ता भइरहेको र स्थिति सहज बनाउने प्रयास भइरहेको उल्लेख छ ।चीनले भने भारतीय सैनिकले सीमा नाघेकाले झडपको अवस्था सृजना भएको बताएको छ ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले सोमबार मात्र भारतीय सेनाले दुईपटक सीमा पार गरेको बताउनुभएकाे छ ।उनीहरुले चिनियाँ सुरक्षाकर्मीमाथि आक्रमण गरेकाले गम्भीर रुपमा झडप भएको उहाँले बताउनुभयाे । तर त्यसबारे चिनियाँ सैनिकतर्फ क्षति भए नभएको बताउनुभएन् ।
पत्रकार जोशी लोकदर्पण मिडियाका लागि विभिन्न विधाका समसामयिक विषयमा कलम चलाउछन् ।