दार्चुला । दार्चुलाका पाँच वटा स्वास्थ्य संस्थाको स्तरोन्नती गर्न चार करोड २५ लाख बजेट निकासा गरिएको छ ।
लेकम गाउँपालिकाको रिठाचौपाता स्वास्थ्य चौकी, अपि हिमाल गाउँपालिकाको खण्डेश्वरी स्वास्थ्य चौकी, नौगाड गाउँपालिकाको खार स्वास्थ्य चौकी, दुहुँ गाउँपालिकाको धारी स्वास्थ्य चौकी र मालिकार्जुन गाउँपालिकाको पस्ती स्वास्थ्य चौकीलाई स्तरोन्नती गर्दै १० शैयाको अस्पताल निर्माण गर्न लागिएको छ ।
पाँच वटै स्वास्थ्य संस्थाहरुलाई स्तरोन्नती गर्दै १० शैयाको अस्पताल निर्माणको लागि सम्बन्धित स्थानीय तहमा ८५ लाखका दरले चार करोड २५ लाख बजेट निकासा गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उक्त बजेटबाट स्वास्थ्य संस्थाहरुमा अस्पतालका लागि आवश्यक भौतिक संरचना तयार गरिने जनाइएको छ ।
बजेट निकासा भएका पाँच वटै स्थानीय तहमा अस्पताल निर्माण पश्चात दार्चुलाका सबै स्थास्थ्य संस्थाहरुमा न्युनतम स्वास्थ्य सेवा प्राप्त हुने प्रतिनिधिसभा सदस्य गणेशसिह ठगुन्नाका स्वकिय सचिव दौलतसिह ठगुन्नाले जानकारी दिनुभयो । यसअघि व्याँस गाउँपालिका र मार्मा गाउँपालिकाका एक÷एक स्वास्थ्य संस्था १५ शैयाको अस्पताल निर्माणका लागि छनोट भइसकेका छन् । व्याँस गाउँपालिकाको हुती स्वास्थ्य चौकी र मार्माको लटिनाथ स्वास्थ्य चौकीलाई स्तरोन्नती गर्दै १५ सैयाको अस्पताल बनाउन लागिएको ठगुन्नाले बताउनुभयो ।
महाकाली नगरपालिकाको वडा नम्बर ४ खलंगामा जिल्ला अस्पताल र शैल्यशिखर नगरपालिकामा गोकुलेश्वर अस्पताल पहिलेदेखि नै २५ सैयामा सञ्चालित छन् । दुबै अस्पतालमा प्रयाप्त भौतिक संरचना र जनशक्ति नहुदा सेवा प्रवाहमा समस्या हुने गरेको छ । बिरामीहरुले आधारभुत स्वास्थ्य सेवा लिन समेत जिल्ला बाहिर जानुपर्ने बाध्यता पूर्ण रुपमा हट्न सकेको छैन् ।

३८ करोडमा सुदूरपश्चिमका ४३ स्वास्थ्य संस्थाको स्तरोन्नती गरिदै
सुदूरपश्चिम प्रदेशका ४३ वटा स्वास्थ्य संस्थाको स्तरोन्नती गर्न ३८ करोड बजेट निकास गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेशका ९ वटा जिल्लाका स्वास्थ्य संस्थाको स्तरोन्नतीका लागि ३८ करोड ५० लाख बजेट निकासा गरिएको जनाएको छ ।
मन्त्रालयले स्वास्थ्य चौकी तथा प्राथमिक स्वास्थ्य केन्द्रलाई १० र १५ शैयामा स्तरोन्नती गर्न उक्त बजेट निकास सम्बन्धीत स्थानीय तहलाई निकासा दिईसकेको जनाएको हो । जसमा ३० वटा स्वास्थ्य संस्थालाई १० शैयामा स्तरोन्नती गर्न ८५ लाखका दरले २५ करोड ५० लाख र १३ स्वास्थ्य संस्थालाई १५ शैयामा स्तरोन्नती गर्न एक करोडका दरले १३ करोड बजेट बजेट निकासा दिएको छ ।
मन्त्रालयका अनुसार बाजुराका ७ वटा, बैतडी र कञ्चनपुरका ६÷६, डोटी र दार्चुलाका ५÷५, कैलाली, अछाम र बझाङका ४÷४ र डडेल्धुराका दुई वटा स्वास्थ्य संस्थाको स्तरोन्नती गरिनेछ ।
नेपाल सरकारले एक स्थानीय तह एक अस्पतालको नीति अन्तरगत स्वास्थ्य संस्थाको स्तरोन्नती गर्न लागेको हो । स्थानीय तहहरुलाई कात्र्तिक मसान्त भित्र निर्माणको प्रक्रिया थाल्ने समेत निर्देशन दिईएको छ ।





