दार्चुला । कति राम्रो होली फागुनमा……. दार्चुलासहित सुदूरपहाडका गाउँबस्तीदेखी सहर बजारमा होली अर्थात फागु पूर्णिमा पर्वको रौनकता छाएको छ । २०८१ सालको फागु पुर्णीमा फागुन २९ गते भएपनि केहि दिन पहिलेदेखी नै विभिन्न समुह बनाएर गाउँगाउँमा खेलीने कनैया होली पर्वको लहर छाएको हो ।
होलीमा अयोध्या राज्य होस् या मिथिला राज्य, असत्यमाथि सत्यको जीत भएको कहानी, भगवान् विष्णुको नरसिंह अवतार सहित पोराणिक कथाहरुको वर्णन, परिवारिक सम्बन्ध र प्रकृति तथा रितुहरुको बर्णन गर्ने गरिएको लेकम गाउँपालिका–२ का होली संकलक विद्याप्रसाद जोशीले बताउनुभयो । पौराणिक वर्णनसंगै रंग र उमंगको पर्व होलीका धेरै विशेषताहरु छन् । त्रेता युगमा भगवान् विष्णुका परम भक्त प्रह्लादसँग होलीलाई जोडेर हेरिन्छ । दौत्यराज हिरण्यकशिपुका पुत्र प्रह्लादलाई उनको आफ्नै फुपू होलिकाले आगोमा भस्म पार्न लाग्दा उनी आफै आगोमा भस्म भएको दिनका रूपमा ‘होली–पर्व’ पर्दापण भएको किम्बदन्ती छ । भगवान् विष्णुको नरसिंह अवतारको वर्णन अनि उत्पत्ति पनि होली अनि भगवानभक्त प्रह्लादका घटना क्रमसँग सम्बन्धित रहेको उहाँले बताउनुभयो । नारद पुराण र भविष्य पुराणमा होलीको महत्त अनि चलनको चर्चा गरिएको छ । भगवान् श्रीकृष्णलाई दूध खुवाएर मार्न आएकी राक्षसनी पुतनाको पनि आजकै दिन बालक कृष्णले वध गरेको उल्लेख गरिएको छ । यसरी पुतनाको बध भएपछि गोपालवासीहरूले जयजयकार गर्दै आजको दिनको रंगिन उत्सव मनाएको कथा पनि धार्मिक ग्रन्थहरूमा पढ्न पाइन्छ ।
होलीमा विभिन्न रंगको प्रयोग गरिन्छ । नीलो रंगले मानवता र धैर्यतालाई दर्साउँछ भने पहेँलो रंग भगवान् श्रीकृष्णको प्रिय रंग मानिन्छ । होलीका बेला सौभाग्यको सूचक रातो रंगको प्रयोग पनि आज व्यापक गरिन्छ । वास्तवमा भन्ने हो भने होलीले मानिस अनि रंगहरूबिचको सम्बन्ध अनि रंगले पार्ने उत्साहजनक प्रभाव देखिन्छ । बालकदेखि युवा र बृद्ध मानिसहरु समेत होलीमा रमाएका दृश्यहरु जताजतै हेर्न पाइन्छ । होलीको रमाइलो र गुन्जयमान ध्वनीले गाउँघर देखि शहरबजारको माहोल रंगिचंगी भएको छ ।
दार्चुलाका कुनैकुनै क्षेत्रमा आइतबारदेखी नै होली खेल्न शुरु गरिएको छ । भने अधिकासं गाउँ सहरमा मंगलबारदेखी होली भइरहेको लेकम–६ का महेश नाथले बताउनुभयो । रङको पर्व होली पुर्णीमाको दिनसम्म धुमधामकासाथ खेलेर समाप्त हुनेछ । होली पर्वमा बिशेषगरी मादल र झ्यालीको तालमा कनैया होली कथा गाउँने, नाच्ने, गाउँने, एक आपसमा रंग दल्ने, लोला हान्ने लगायतका गतिबिधिहरु भइरहेका छन । जिल्लाको धेरैजसो बिद्यालयहरुले शिक्षक, अभिभावक र बिद्यार्थीहरुको संलग्नतामा होली खेल्ने गरेका छन । होली खेलेर संकलन भएको पैसाबाट भोज गर्ने र बचत भएको रकमले बिभिन्न सामाग्रीहरु खरीद गर्ने प्रचलन समेत पाइन्छ । सभ्य र मर्यादित भएर होली खेल्न स्थानीय प्रशासनले सबैमा अनुरोध गरेको छ ।

गाउँघरमा बढ्दो आधुनिकताले होली पर्वको परम्परागत महत्व र रौनक घट्दै गएको छ । गाउँघरमा साथीभाइ, आफन्त जम्मा भई घरघरमा मौलिक गीत गाउँदै नाच्दै होली खेल्ने चलन पछिल्लो समय घट्दै गएको हो । मौलिक परम्परा र संस्कृतिभन्दा माथि उठेर भड्किलो पाराले होली मनाउने र डिजेको प्रयोग बढी गर्ने संस्कार गाउँमा भित्रिएको छ । गाउँमा मौलिक गीत गाएर नाचेर होली अर्थात् फागु खेल्नुको सट्टा वनभोज जाने र रमाउनेको जमात बढ्दै गएको छ । युवापुस्ताले संस्कार, संस्कृतिको महत्वभन्दा पनि रमाइलोका लागि मात्र होली पर्व मान्ने चलन बढ्दै गएको लेकम–५ का कृष्णदेब जोशीले बतायनुभयो । धार्मिक मान्यतालाई समेत अंगालेर उत्साह अनि सद्भावका रूपमा सबैले होली पर्व मनाउनुपर्ने उहाँको भनाई छ ।

विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।




