दार्चुला । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि दार्चुलामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । शुक्रबार (आज) एक कार्यक्रमका बीच जिल्ला अदालत दार्चुलाको पुरानो कार्यालयको भवनमा कार्यालयको उद्घाटन गरिएको हो ।
न्यायपरिषद्को सिफारिसमा निर्वाचन आयोगले दार्चुला जिल्ला अदालतका न्यायाधीश भुवन गिरीलाई मुख्य निर्वाचन अधिकृत तोकेको छ । मुख्य निर्वाचन अधिकृत एवं दार्चुला अदालतका न्याधिस भुवन गिरीले कार्यालय उद्घाटन गर्नुभएको हो ।
कार्यालय उद्घाटनको अवसरमा प्रमुख जिल्ला अधिकारी अनिल पौडेल, जिल्लास्थित विभिन्न राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकायका प्रमुखहरू तथा सरोकारवालाहरूको सहभागिता थियो ।
प्रतिनिधि सभा निर्वाचनका लागि दार्चुलामा ९२ हजार ९४८ जना मतदाता कायम भएका छन्। प्रतिनिधि सभा निर्वाचनका लागि नयाँ थपिएका दुई हजार ६०८ सहित ९२ हजार ९४८ जना मतदाता कायम भएका हुन ।
वि.सं.२०७९ को निर्वाचनमा ९० हजार ७८२ जनाले मतदान गरेका थिए। दार्चुलामा ४७ हजार ७५५ जना पुरुष तथा ४५ हजार १९३ जना महिला मतदाता रहेका छन्।




