दार्चुला । बलात्कार आरोप लागेका दार्चुलाको नौगाड घर भएका पूर्वप्रहरी भुपेन्द्र सिंह ठगुन्ना पक्राउ परेका छन् । अपराध अनुसन्धान कार्यालयको टोलीले ठगुन्नालाई भारतको बैंग्लोरबाट पक्राउ गरेको हो ।
ठगुन्नालाई पक्राउ गरेर प्रहरीले थप अनुसन्धानका तथा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय वीरेनद्रनगर सुर्खेत पठाएको छ ।
ठगुन्ना विरुद्ध जाजरकोटकी एक युवतीले बलात्कारा आरोपमा जाहेरी दिनुभएको थियो । ति युवती गत २५ मंसिरदेखि काठमाडौंको माइतीघर मण्डलमा ठगुन्नामाथि कारबाहीको माग गर्दै अनशनमा बसिरहनुभएको थियो ।
दार्चुला नौगाड गाउँपालिका वडा नम्बर २ सुन्डमुन्ड घर भएका ठगुन्ना विरुद्ध जिल्ला अदालत, सुर्खेतबाट पक्राउ पुर्जी जारी भएको थियो । पक्राउ पुर्जी जारी भएपछि ठगुन्ना फरार भएका थिए । सो क्रममा प्रहरीले भारतको बैंग्लोरबाट पक्राउ गरेको हो ।
२५ मंसिर २०८० मा ति युवतीले भुपेन्द्र सिंह ठगुन्नाविरुद्ध जबरजस्ती करणीको मुद्दा दर्ता गराउनुभएको थियो ।
त्यतिबेला प्रहरी कर्मचारी रहेका ठगुन्ना निलम्बित भए र जिल्ला अदालतले उहाँलाई २ लाख ५ हजार रुपैयाँ धरौटीमा छाडेको थियो ।
गत जेठमा आफूमाथि पुनः जबरजस्ती करणी भएको भन्दै ती युवतीले ७ असोजमा जाहेरी दिनुभएको थियो । प्रहरीले १० असोजमा मुद्दा दर्ता गरी जबरजस्ती करणीसहितको अनुसन्धान सुरु गरेको थियो।
मुद्दा दर्ता हुँदासम्म उनी करिब तीन महिनाको गर्भवती भइसकेकी थिइन् ।
यसैबीच, सर्वोच्च अदालतबाट ताप्लेजुङ सरुवा भएका ठगुन्ना २१ साउनदेखि कार्यालयमा हाजिर हुन नगएपछि कोशी प्रदेश प्रहरी कार्यालयले १४ कात्तिकमा उहाँलाई सेवाबाट हटाएको थियो ।
भुपेन्द्र हाजिर नभएकोले सेवाबाट हटाइएको थियो ।





प्रतिक्रिया