दार्चुला । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) यतिबेला सुदूरपश्चिम भ्रमणमा हुनुहुन्छ । रास्वपाले बालेनलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारेको सन्दर्भमा यो भ्रमण केवल चुनावी प्रचार वा राजनीतिक औपचारिकता मात्रै होइन, नेतृत्वको परिपक्वता र संवेदनशीलता परीक्षण गर्ने अवसर पनि हो। तर बालेनको यो अवसर गहिरो संवाद र एजेन्डा वा दृष्टिकोण जनतासामु प्रस्तुत गर्नेभन्दा चटके र सतही उपस्थितिमा सीमित रह्यो।

माघ १३ गते कैलालीको टीकापुर हुँदै सुदूरपश्चिम प्रवेश गरेका बालेनले एकैदिन कैलाली र कञ्चनपुर तथा त्यसपछि डडेल्धुरा, बैतडी, दार्चुला हुँदै बझाङ सम्मको भ्रमण सकाउनुभयो। भ्रमण तालिका व्यस्त देखिए पनि व्यवहारिक रूपमा यो भ्रमण हतारो र औपचारिकतामा सीमित रह्यो। सुदूरपश्चिमका केही ठाउँमा बालेन गाडीबाट समेत ओर्लिएनन् । उनलाई स्वागत गर्न फुल माला, खादा इत्यादी लिएर उभिएका समर्थक बालेन नरोकिइ हिनेपछि खिस्स परेर खर्किए । कतिपय ठाउँमा समर्थन र दर्शकको भिडले घण्टी बजाएको हेर्न सम्म पाए। अधिंकास ठाउँमा बालेनको भ्रमण ५ मिनेट भन्दा बढी भएन । गाडीबाट ओर्लिएर सिधै पार्टी कार्यालय प्रवेश गरे। जनताबीच उभिएर आफ्ना एजेन्डा सुनाउने र उनीहरूको पीडा, अपेक्षा र सम्भावनाबारे अन्तरसंवाद गर्ने प्रयाससम्म गरेको देखिएन।

भावी प्रधानमन्त्री बन्ने आकांक्षा बोकेको राजनीतिक नेतृत्वले कुनै पनि क्षेत्र भ्रमण गर्दा त्यहाँका जनजीविका, संरचनागत समस्या, विकासका सम्भावना र जनजीवनको यथार्थ बुझ्ने कुरालाई प्राथमिकता दिनुपर्थ्यो। सुदूरपश्चिम शिक्षा, स्वास्थ्य, रोजगारी, पूर्वाधार, सीमा समस्या र राज्यको दीर्घ उपेक्षाबाट गुज्रिएको भूगोल हो। तर बालेनको भ्रमणमा यी विषय कतै उठेनन्, न त जनतासँग सुन्ने चाहना नै देखियो। बरू केही मिनेट उम्मेदवार र कोर टिमका नेता, कार्यकर्तासंग भेट गरेर समय बिताउदा जनता हेरेको हेरेइ भए।

सुदूरपश्चिम भ्रमणकै दौरान बालेन बुधबार दिउँसो दार्चुलाको दोस्रो ठूलो बजार गोकुलेश्वर पुगे। जुन दार्चुला र बैतडीको सिमा क्षेत्रको बजार हो । बालेनले टेकेको दार्चुलाको भू-भाग भनेको जम्मा जम्मी १०० मिटर र यहाँ बिताएको समय ५-१० मिनेट मात्रै हो । बालेन हेर्न र उनको कुरा सुन्न दार्चुला र बैतडीका समर्थक गोकुलेमा भेला भएका थिए। तर यहाँ पुगेर पनि बालेनले न जनता संग कुनै संवाद गरे न आफ्नो कुनै धारणा नै राखे। बालेन चुनाव जितेमा रास्वपाबाट भावी प्रधानमन्त्रीका उम्मेदवार भनिएको नाताले मात्रै पनि दार्चुलाको मुख्य समस्या र सम्भावना के हो भन्ने सम्म भलाकुसारी गर्नुपर्थाे। दुई मिनेट भएपनि जनता तथा भेला भएका समर्थकलाई सम्बोधन गर्नुपर्थ्यो। रास्वपाका उम्मेदवारसहित केही नेतासंग बन्द कोठामा ५ मिनेट बिताएर बालेन फर्किदा जनता उनको कुरा सुन्न नपाएको भन्दै गुनासो गरिरहेका सुनिन्थे ।

यस बीच जनताबाट न बालेनले दार्चुलाको समस्या र सम्भावना बुझे, न मिचिएको सीमाको कुरा सुने, न महाकालीमा भारतको बलमिच्याई सुने न यस विषयमा केही समाधान सुनाए । बालेनको दार्चुला बसाई यस्तो थियो कि, मानौ कुनै सेलिब्रेटी घुम्दै गर्दा फ्यानहरुले बाटोमा रोकेका हुन् । दार्चुलाको विकास गर्ने, समस्या समाधान गर्ने वा देश बनाउने योजना के छ भनेर न कसैले बालेनलाई सोध्न पाए, न मैले यसरी समस्या समाधान गर्छु भनेर बालेनले एजेन्डा सुनाए।

बालेन आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापा–५ बाट उम्मेदवार बन्नुभएको छ र प्रतिस्पर्धा देशका प्रभावशाली तथा अनुभवी नेता पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग हुँदैछ। यस्तो राजनीतिक महत्व बोकेको प्रतिस्पर्धामा उभिएको व्यक्तित्वले सुदूरपश्चिमजस्तो उपेक्षित क्षेत्रलाई बुझ्ने गम्भीरता देखाउनुपर्ने थियो। पाँच–पाँच मिनेटको उपस्थितिले कुनै क्षेत्रको सामाजिक, आर्थिक र राजनीतिक यथार्थ बुझ्न सम्भव हुँदैन। भिडलाई भोटमा बदल्न मात्रै यो रणनीति अपनाइएको हो भने समाजका लागि दुर्भाग्य हुनेछ। जनकपुर पुगेर मधेशको छोरो भन्दै छोटोे सम्बोधन गरेका बालेनले सुदूरपश्चिमको भूमिमा दिनभरी घुम्दा एउटा प्रतिबद्धता वा कार्ययोजना सार्वजनिक गरेनन वा गर्न चाहेनन् । सांसदको समानुपातिक सूची बनाउदा सुदूरपश्चिमलाई उपेक्षा गरेको रास्वपाले प्रत्यक्ष निर्वाचनमा समेत भोट बैंकको रूपमा प्रयोग गर्न खोजेको त हैन प्रश्न उब्जेको छ!

सुदूरपश्चिम भ्रमणका क्रममा पनि समर्थकको भिड देखियो। तर त्यो भिड राजनीतिक बहसको होइन, सामाजिक सञ्जालका लागि सेल्फी र भिडियोमा सीमित रह्यो । राजनीति भनेको दृश्य व्यवस्थापन होइन, जनजीविका र जनभावनाको आत्मसात् हो। जनताको प्रश्न नसुनी नेतृत्व दाबी गर्नु परिवर्तनको राजनीति होइन, केवल सस्तो लोकप्रियताको प्रयोग मात्रै हुन सक्दैन भन्ने के विश्वास? नागरिक अधिकारकर्मीहरूले औँल्याएझैँ बालेनप्रतिको वर्तमान आकर्षण परम्परागत राजनीतिक नेतृत्वप्रतिको असन्तोष र आक्रोशको परिणाम मात्रै हो भने असन्तोषले मात्र विकल्प जन्माउन सक्दैन। विकल्प बन्नका लागि विचारको स्पष्टता, जनतासँग प्रत्यक्ष संवाद र आलोचना सहने राजनीतिक साहस आवश्यक हुन्छ—जुन बालेनको सुदूरपश्चिम भ्रमणमा अभाव देखियो। जनताको कुरा सुन्ने, समस्या बुझ्ने र सम्भावनाबारे छलफल गर्ने नेताको दायित्व पनि हो।

नेतृत्व भीडले होइन, जवाफदेहिताले निर्माण हुन्छ। गाडीबाट ओर्लिएर सिधै पार्टी कार्यालय छिर्ने र छतमा उभिएर घन्टी बजाउने शैलीले होइन, जनताबीच उभिएर प्रश्न सुन्ने र एजेन्डा सुनाउने सामर्थ्यले नेता भइन्छ। सुदूरपश्चिम भ्रमणले बालेनको राजनीतिक सम्भावनाभन्दा बढी उहाँको राजनीतिक चुनौती उजागर गरेको देखिन्छ। बालेनले आफ्ना र पार्टीका योजना/एजेन्डा सार्वजनिक गर्न ढिलाइ गर्नुहुदैन। जनताको आशा र आक्रोश स्वभाविक होला तर ताप्केबाट भुङरोमा नहोस भनेर सचेत र संवेदनशील बन्न तथा दल र नेताहरूका विगतका काम, वर्तमान योजना, एजेन्डा र भावि प्रतिबद्धता राम्रोसँग मनन गर्नु जरुरी देखिन्छ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

शक्तिशाली लटिनाथ मन्दिर जयपुरमा बृहत नवमी जात्रा, धार्मिक महिमा र जात्रा विशेष (भिडियो)

२०८२ कार्तिक १३, बिहीबार १८:२५ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?