दार्चुला । आगामी फागुन २१ गतेको लागि निर्धारित प्रतिनिधि सभाको लागि दार्चुलाबाट राजनीतिक दलहरुले प्रत्यक्ष तर्फका उम्मेदवारको टुङ्गो लगाएका छन् । प्रमुख राजननीतिक दल नेकपा एमाले, नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी लगायतका दलहरुले उम्मेदवारको टुङ्गो लगाएका हुन ।
२०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा समानुपातिक तर्फ दार्चुलामा पहिलो दल बनेको नेकपा एमालेले एक मात्रै प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको दार्चुलामा गणेश सिंह ठगुन्नालाई उम्मेदवार बनाएको छ । पार्टीले केन्द्रीय सदस्य तथा सुदूरपश्चिम संयोजक समेत रहेका ठगुन्नालाई दार्चुलाबाट प्रतिनिधि सभा प्रत्यक्षतर्फ उम्मेद्धार बनाउने निर्णय गरेको हो । यस अघि जिल्ला किमिटीले पनि ठगुन्नालाई उम्मेद्धारको लागि एकल सिफारिस गरेको थियो । ठगुन्ना दार्चुलाबाट २०७० सालको दोस्रो संविधानसभा र २०७४ सालको प्रतिनिधिसभामा निर्वाचित हुनुभएको थियो । नेपाल सरकारको मन्त्री समेत भइसकेका ठगुुन्ना यस पटक पनि दार्चुलाबाट प्रत्यक्षतर्फ चुनावी मैदानमा उत्रिएका छन् ।
त्यस्तै नेपाली कांग्रेसले यस पटक दार्चुलाबाट धर्मानन्द जोशीलाई प्रतिनिधि सभा प्रत्यक्ष उम्मेद्धार बनाएको छ । जिल्ला समितिबाट उम्मेद्धारको लागि ४ जनाको नाम सिफारिस गरिएकोमा पार्टी केन्द्रले जोशीलाई उम्मेद्धार बनाउने निर्णय गरेको कांग्रेस दार्चुलाका सचिव पुलेन्द्र बहादुर कार्कीले बताउनुभयो । यस अघि जिल्ला कार्य समितिले एकल सिफारिस गरेका विगठित प्रतिनिधि सभा सदस्य दिलेन्द्र प्रसाद बडूले आगामी निर्वाचनमा उम्मेदवार नहुने घोषणा गरे संगै दार्चुलाबाट जोशीले टिकट पाएका हुन् । महाधिवेशनको विषयलाई लिएर विभाजन भएको कांग्रेसले विवादकै बिच जोशीलार्ई उम्मेदवार बनाएको छ ।
पार्टीभित्रको आन्तरीक विवाद उत्कर्षमा रहेको कांग्रेस यस पटक कमजोर मनोवृती लिएर चुनावी गतिविधिमा लागेको छ । विषेश महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कांग्रेसलाई निर्वाचन आयोगले आधिकारीकता दिए पछि देउवा पक्षले सर्वाेच्चमा रिट दायर गरेको छ। पार्टी भित्रको आन्तरिक विवाद र गुटबन्दीका कारण कमजोर अवस्था पुगेको कांग्रेसले दार्चुलाको राजनीतिमा यसअघि चुनाव नलडेका जोशीलाई टिकट दिएको भन्दै कांग्रेस भित्र नै विवाद देखिएको छ । यस्तै झन्डै २ दर्जन राजनीतिक दलहरु बिचको एकता पछि बनेको नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले यस पटक दार्चुलाबाट लक्ष्मण दत्त जोशीलाई उम्मेदवार बनाएको छ । एकता अघिको माओवादी केन्द्रबाट जोशी २०६४ सालको संविधान सभा निर्वाचनमा दार्चुलाबाट निर्वाचित हुनुभएको थियो । त्यस यता दार्चुलामा माओवादी लगायत उक्त एकता घटकका राजनीतिक दलको प्रभाव कम देखिएको छ। नेकपा दार्चुलाले प्रतिनिधिसभा निर्वाचनको लागि प्रत्यक्ष तर्फ ५ जना उम्मेदवारको नाम सिफारिस गरेको थियो । त्यस मध्ये केन्द्रले जोशीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले यस पटक दार्चुलाबाट प्रत्यक्षतर्फ राजेश सिंह सामन्तलाई उम्मेदवार बनाएको छ । नेपाली कांग्रेस निकट शिक्षक संघबाट राजनीति सुरु गरेका सामन्त शिक्षक संघको जिल्ला अध्यक्ष समेत भईसकेका व्यक्ति हुन् । रास्वपाले यस पटक जिल्लामा संगठन विस्तार देखि लिएर पार्टीका गतिविधिलाई सक्रिय रुपमा अगाडी बडाएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी फागुन २१ गतेको लागि निर्धारित प्रतिनिधि सभा निर्वाचनको लागि दार्चुलाबाट राजेश चन्दलाई उम्मेदवार बनाएको छ । जिल्लाबाट उम्मेदवारको लागि ३ जनाको नाम पठाएकोमा केन्द्रले चन्दलाई टिकट दिएको हो । लेकम गाउँपालिका वडा नम्बर ३ घर भएका चन्द नेपाली सेनाका सेवानिवृत महासेनानी (कर्नेल) हुनुहुन्छ ।
पहिलो पटक संसदिय निर्वाचनमा भाग लिन लागेको नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले यस पटक सम्भवतः दार्चुलाबाट सबैभन्दा कान्छो उम्मेदवार उठाएको छ । नेकपाले पार्टीको जिल्ला इन्चार्ज समेत रहेका युवा नेता नवराज भट्टलाई उम्मेदवार बनाएको छ । नेकपा जिल्ला कमिटीले भट्टको नाम उम्मेदवारको लागि एकल सिफारिस गरेको थियो । मार्माको मटेला घर भएका ३२ वर्षीय भट्ट पेशाले इन्जिनियर हुनुहुन्छ ।
यस्तै नेकपा संयुक्तले दार्चुलाबाट विद्या जोशीलाई उम्मेदवारको टिकट दिएको छ । सबै राजनीतिक दलले माघ ६ गते (आज) प्रत्यक्षतर्फ उम्मेदवारहरूको मनोनयन दर्ता गर्ने तयारी गरेका छन्।




