दार्चुला । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि दार्चुलामा नेकपा (एमाले) ले जिल्लाभरी प्रचारप्रसार अभियान तिब्र पारेको छ । नेकपा एमालेको तर्फबाट प्रतिनिधिसभा उम्मेदवार बनेका गणेशसिह ठगुन्नाको पक्षमा जनलहर थपिदै गएको भन्दै नेता, कार्यकर्ता उत्साहित बन्दै गाउँघरको मतदाता भेटघाट तथा प्रचार अभियानमा खटिएका छन् ।
एमालेको तर्फबाट उम्मेदवार बनेका पूर्वमन्त्री ठगुन्ना नेतृत्वको मुख्य प्रचारप्रसार टोलीले बिहिबार (आज) मालिकार्जुन गाउँपालिकाको वडा नम्बर ४ हुनैनाथ र वडा नम्बर ५ डाडाकोटमा मतदाता भेटघाट तथा प्रचारप्रसार कार्यक्रम गरेको छ । प्रचार तथा भेटघाट अभियानको क्रममा नेकपा (एमाले) को नीति तथा नेतृत्व मन पराएर नेपाली काँग्रेस र नेकपा पार्टी परित्याग गरि जसुली लोहार, गजी राम लोहार, नरिराम लोहारले पार्टीमा प्रवेस गरेको टोलीमा सहभागी दौलतसिंह ठगुन्नाले जानकारी दिनुभयो । एमाले प्रवेस गरेका तीनै जनालाई उम्मेदवार ठगुन्नाले खादा तथा टीका लगाई पार्टीमा स्वागत गरेको उहाँले बताउनुभयो । पूर्वमन्त्री तथा एमाले सुदूरपश्चिम प्रदेशका संयोजक समेत रहेका ठगुन्नाले विगतमा सुरु गरेका महत्तपूर्ण योजना सम्पन्न गर्दै जिल्लाको समग्र क्षेत्रको विकासका लागि अझै धेरै काम गर्न आफुले जनताको मत मागिरहेको बताउनुभयो ।
चुनावी प्रचारको क्रममा दुहुँ गाउँपालिका वडा नम्बर ५ मखमाली, गरमोरा गाउँमा घरदैलो गरी सुत्खोला पुगेको एमाले जिल्ला कमिटी सचिव उमेशराज जोशीले जानकारी दिनुभयो । यस्तै व्याँस गाउँपालिकाको वडा नम्बर ४ सुन्सेरामा वडा स्तरीय कार्यक्रम गरेको र वडावडामा प्रचारप्रसार भइरहेको व्याँस गाउँकमिटी अध्यक्ष निर्मला धामीले जानकारी दिनुभयो । मतदाता भेटघाटका क्रममा लेकम गाउँपालिका वडा नम्बर १ चौडमा नेपाली कांगेश परित्याग गरी भुवन प्रकाश भट्ट एमालेमा प्रवेस गरेको एमाले जिल्ला कमिटी सदस्य अमर कार्कीले जानकारी दिनुभयो । लेकम, मार्मा, दुहुँ सबै भेग तथा वडावडामा मतदाता भेटघाट तथा प्रचारप्रसार कार्य तिब्रताका साथ भइरहेको एमाले जिल्ला कमिटी अध्यक्ष ज्ञानेन्द्र घर्तीले बताउनुभयो ।




