कम्मान रावल, दार्चुला ।
सिसा फुटेर टुक्रिए जस्तो
जिन्दगी फुटेर-
भुइँमा टन्न जिन्दगीहरू बनेका छन्।
सुर्यका किरण पृथ्वीमा पुगेजस्तो
जिन्दगी छरिएर-
धरतीमा विशृङ्खल छन्।
भारी; जिन्दगी बोक्दै छ दिनभरि
सवारी; हुँदै छ जिन्दगीको रातो कार्पेटमा।
आभारी; छ जिन्दगी,निधार फुटाउने प्रती
जुवारी; गाउछ जिन्दगी कहिलेकाहीँ।
मैले बाटोमा हिँड्दै गर्दा,
जिन्दगी बुट टल्काउन बसेको देखे।
मैले मलामी भएर हेर्दा,
जिन्दगी चिता सल्काउन लागेको देखे।
जिन्दगी रक्सी र चुरोटको लतमा छ
जिन्दगी ठिकमा कम,बढी गलतमा छ।
लुतो लागेको कुकुर जस्तो-
जिन्दगी नाजुक हालतमा छ।
फुट्नु,टुक्रिनु,र छरिनु-
यो सबै जिन्दगीको आदतमा छ।
जिन्दगी धर्मको युद्धमा पनि थियो
एउटा जिन्दगी बुद्धमा पनि थियो।
जिन्दगी हिमाल चढ्दा हिउँ सँगै पुरियो
जिन्दगी पहाड घुम्दा पहाडमै ठोक्कियो।
एउटा जिन्दगी चितामा थियो
“आत्मा अमर हो,” गितामा थियो
एउटा जिन्दगी काँधमा थियो
अर्को जिन्दगी बाँधिदै,बाँसमा थियो।
मैले देखे-
जिन्दगी नाङ्गै आयो नाङ्गै जाँदै छ
खरानी बन्यो हावा उडाउदै छ।
माटोमा मिल्यो खै कहाँ गयो
एक थोपा जिन्दगी थोपामै बिलायो।
जिन्दगी यसरी सन्कियो
जिन्दगी रूखमा झुन्डियो।
जिन्दगीको घाँटी रेटियो
जिन्दगी खोला किनारमा भेटियो।
जिन्दगी खरानी भयो
जिन्दगी माटो बन्यो।





प्रतिक्रिया