लामो संघर्षपछि दुहुँको ‘थल सिलिङचौरा बहुउद्देश्यीय झोलुङ्गे पुल’ श्रमिकले पाए ३६ लाख ६४ हजार रुपैयाँ

दार्चुला । दार्चुलाको दुहुँ गाउँपालिकास्थित थलसिलिङचौरा (बल सिलिङचौरा) बहुउद्देश्यीय झोलुङ्गे पुल निर्माणमा खटिएका श्रमिकहरूले लामो संघर्षपछि आफूहरूले पाउनुपर्ने ज्याला तथा निर्माण सामग्रीबापतको रकम प्राप्त गरेका छन्। जिल्ला प्रशासन कार्यालय दार्चुलाको निरन्तर पहल र समन्वयपछि निर्माण कम्पनीले ३६ लाख ६४ हजार ९ सय रुपैयाँ भुक्तानी गरेको हो।

जिल्ला प्रशासन कार्यालयले सोमबार जारी गरेको प्रेस नोटअनुसार पुल निर्माणको जिम्मा लिएको जगदम्बा दोभान संगम ज्वाइन्ट भेन्चरका सञ्चालक बसन्त बुढाथोकीबाट श्रमिकहरूलाई उक्त रकम भुक्तानी गराइएको हो। प्रशासनका अनुसार २१ लाख ३४ हजार ९ सय रुपैयाँ श्रमिकहरूको बैंक खातामा जम्मा गरिएको छ भने १५ लाख ३० हजार रुपैयाँ चेकमार्फत भुक्तानी गरिएको छ।

आर्थिक वर्ष २०७६/७७ मा निर्माण सुरु भई २०७८ सालमै सम्पन्न भएको उक्त बहुउद्देश्यीय झोलुङ्गे पुलमा काम गरेका श्रमिकहरूले निर्माण सम्पन्न भएको पाँच वर्ष बितिसक्दा पनि पारिश्रमिक नपाएको भन्दै पटक–पटक आन्दोलन गर्दै आएका थिए। केही दिनअघि मात्र पीडित श्रमिकहरूले पुलमा तारबार लगाएर आवतजावत नै अवरुद्ध गरेका थिए। यसअघि पनि जिल्ला प्रशासन कार्यालयमा भएको छलफलमा एक महिनाभित्र बाँकी रकम भुक्तानी गर्ने सहमति भएको थियो। तर उक्त सहमति कार्यान्वयन नभएपछि श्रमिकहरू पुनः आन्दोलनमा उत्रिएका थिए।

लामो समयदेखि स्थानीय प्रशासन, गाउँपालिका तथा सम्बन्धित निकाय धाउँदा पनि समस्या समाधान नभएको भन्दै श्रमिकहरूले निरन्तर संघर्ष गरिरहेका थिए। अन्ततः प्रशासनको सक्रिय पहलपछि निर्माण व्यवसायीले बाँकी रकम भुक्तानी गरेको हो।

यसैबीच, जिल्ला प्रशासन कार्यालयले जिल्लाभित्र सञ्चालन भइरहेका विभिन्न निर्माण आयोजनामा संलग्न निर्माण व्यवसायी तथा ठेकेदारबाट ज्याला, मजदुरी तथा निर्माण सामग्रीबापतको रकम नपाएको भन्दै आउने उजुरी बढ्दै गएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

प्रशासनले निर्माण व्यवसायी तथा ठेकेदारलाई सम्बन्धित श्रमिक, व्यक्ति वा फर्मले पाउनुपर्ने रकम यथाशीघ्र भुक्तानी गर्न तथा ठेक्का सम्झौताअनुसार तोकिएको समयसीमाभित्र गुणस्तरीय रूपमा निर्माण कार्य सम्पन्न गर्न निर्देशन दिएको छ। अन्यथा प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनीसमेत जिल्ला प्रशासन कार्यालयले दिएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?