श्री कमलबहादुर शाहज्यू,
मुख्यमन्त्री, सुदूरपश्चिम प्रदेश सरकार
विषय: कुर्सीमा टाँसिनुभन्दा जनमतको सम्मान गर्दै अविलम्ब राजीनामा दिन खुला आह्वान।
माननीय मुख्यमन्त्रीज्यू,
नमस्कार।
आज यो पत्र कुनै राजनीतिक स्वार्थ वा पूर्वाग्रहले प्रेरित भएर होइन, सुदूरपश्चिमका नदीहरूमा उर्लिएको बाढी, डाँडाकाँडामा खसेको पहिरो, अनि बजेट र नीतिको अभावमा ठप्प बनेको प्रदेशको प्रशासनिक एवं विकास निर्माणको गतिहीनता देखेर दुखेको एउटा सचेत नागरिकको हृदयबाट लेखिँदै छ।
लोकतन्त्रको सुन्दरता संख्याको खेलमा मात्र होइन, उच्च नैतिक आचरण र जनभावनाको कदर गर्नुमा रहन्छ। तर, आज सुदूरपश्चिमको सत्ता राजनीति इतिहासकै असम्पादनशील र निराशाजनक मोडमा उभिएको छ। प्रदेश सभामा प्रष्ट बहुमत भएका दलहरू नेकपा र नेकपा (एमाले) बीच संयुक्त सरकार सञ्चालनको स्पष्ट सहमति भई तपाईँको सरकार स्पष्ट अल्पमतमा परिसकेको छ। संसद्मा बहुमत सिद्ध गर्ने वा विश्वासको मत पाउने कुनै सम्भावना छैन भन्ने कुरा दिवास्वप्नजस्तै छर्लङ्ग भइसकेको छ।
अझ दुःखी बनाउने कुरा त के छ भने, प्रदेश सभाबाट समयमै बजेट पारित हुन नसकेर ‘बजेट होलिडे’ को गम्भीर अवस्था सिर्जना भएको छ। एकातिर विपद्को यो कहर छ- जहाँ बाढी, पहिरो र डुबानले जनताको जीवन अस्तव्यस्त छ। अर्कोतिर विपद् व्यवस्थापन र राहतका लागि खटिनुपर्ने प्रदेश सरकार बजेटविहीन र दिशाहीन बनेको छ।
बजेट पास नहुँदा त्यसको प्रत्यक्ष असर तल्ला तहसम्म परेको छ। स्थानीय पालिकाहरूमा प्रदेश समपूरक अनुदानमा कति बजेट विनियोजन गर्ने हो, भन्नेमा अन्यौलता सिर्जना भएको छ।
आगामी माघदेखि स्थानीय निर्वाचनको आचारसंहिता लाग्ने चर्चा छ भने यही आर्थिक वर्षभित्रै प्रदेश निर्वाचनसमेत गर्नुपर्ने परिदृश्य देखिँदै छ। यस्तो अवस्थामा बजेट कहिले निर्माण हुने कहिले पास हुने अनि कहिले कार्यान्वयनमा जाने ?
विकास बजेट खर्च नै हुन नसकी सिङ्गो प्रदेश प्रणाली नै असफल हुने गम्भीर खतरा उत्पन्न भएको छ। यदि यो सङ्कट लम्बिँदै गयो र प्रदेश असफल भयो भने, त्यसको कलङ्कको टीका इतिहासमा तपाईँकै निधारमा लाग्ने निश्चित छ।
”नेतृत्व त्यो हो जसले सत्ताको मोहभन्दा माथि उठेर समयको पदचाप बुझ्न सक्छ। पद पाउनु योग्यता होला, तर सही समयमा मार्गप्रशस्त गर्नु उच्च राजनीतिक संस्कार हो।”
आजको युवापुस्ता अर्थात् जेन्जी (Gen Z) आन्दोलनको मर्म र स्पिरिट भनेकै उत्तरदायी राजनीति, पारदर्शी शासन र जनमुखी नैतिकता हो। तर, विश्वासको मत पाउने आधार गुम्दा पनि कुर्सीमा टाँसिरहने यो शैलीले जेन्जीको मर्ममाथि मात्र होइन, लोकतान्त्रिक मूल्य-मान्यतामाथि नै ठूलो व्यङ्ग्य गरिरहेको छ।
मुख्यमन्त्रीज्यू, पद आफैँमा अन्तिम सत्य होइन। पद त जनताको सेवा गर्ने माध्यम मात्र हो। जब माध्यम नै अवरुद्ध हुन्छ, तब कुर्सीमा अडिनुको औचित्य सकिन्छ।
अतः, सुदूरपश्चिमका बाढीपीडित जनताको घाउमा मलम लगाउन, स्थानीय पालिकाको अन्यौलता चिर्न, बजेटको गतिरोध अन्त्य गरी प्रदेशलाई पुनः गतिशीलता दिन र लोकतान्त्रिक मर्यादाको रक्षाका लागि तुरुन्त र अविलम्ब मुख्यमन्त्री पदबाट राजीनामा दिनुहोस्।
तपाईँको एउटा विवेकपूर्ण राजीनामाले प्रदेशलाई निकास दिनेछ र इतिहासमा तपाईँको नैतिकताको सम्मान रहनेछ। कुर्सी छाड्नु हार होइन, जनता र संविधानप्रतिको इमान्दारिता हो।
सद्बुद्धि र मार्गप्रशस्तताको अपेक्षासहित,
सुदूरपश्चिमका चिन्तित र सचेत युवाहरू





प्रतिक्रिया