दार्चुला । नेपाली कांग्रेसका सभापति गगन थापाले निर्वाचन जित्ने प्रायोजनका निम्ति मात्र केही पात्र एक ठाउँमा उभिएको टिप्पणी गर्नुभएको छ । शनिबार काठमाडौं निर्वाचन क्षेत्र नम्बर–४ मा पार्टी कार्यकर्तासँगको भेटघाटका क्रममा उहाँले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लक्षित यस्तो टिप्पणी गर्नुभएको हो ।

चुनाव जित्नका निम्ति मात्र विगतमा दायाँबायाँ फर्किएका पात्र एकै ठाउँमा जम्मा भएको उहाँले आरोप लगाउनुभयो । हिजो दायाँबायाँ फर्किएका, कांग्रेस, एमाले वा माओवादी छाडेर आएका व्यक्तिहरू एउटै उद्देश्यका निम्ति जम्मा हुनु नयाँपन नभएको उहाँले बताउनुभयो ।

उहाँले नयाँ भनिएका दलहरूसँग दृष्टिकोण र प्रतिबद्धता नभएको पनि टिप्पणी गर्नुभयो । नयाँ अनुहार हुँदैमा नयाँपन नहुने उहाँले जिकिर गर्नुभयो ।
सभापति थापाले नयाँ र पुरानोबीचको वास्तविक भिन्नता विचार, दृष्टिकोण र प्रतिबद्धतामा हुने बताउनुभयो ।

देश बनाउन सुझबुझ, धैर्यता र जिम्मेवारीबोध आवश्यक पर्ने भन्दै थापाले आगो लगाउन सजिलो हुने भए पनि देश बनाउन चेतना, धैर्य र होसमा भएको शक्ति चाहिने टिप्पणी गर्नुभयो ।

कार्यक्रममा गगन थापाको भनाइ पढ्नोस्–

यदि तपाईंलाई कसैले योपटक म पुरानो पार्टीलाई भोट दिन्नँ, म नयाँलाई दिन्छु भन्छ भने तपाईं एकछिन अडिएर उसलाई एउटा प्रश्न सोध्नुहोस्– पुरानो र नयाँको परिभाषा के हो ? प्रत्येक कुरा पहिला नयाँ हुन्छ, समयक्रममा त्यो पुरानो हुन्छ । पुराने र नयाँबीचको भेद के हो ? तपाईंहरू अडिएर त्यहाँ प्रश्न गर्नुपर्छ । यदि, नयाँ नै खोजेको हो भने आजको दिनमा फागुन २१ गते चुनावको मैदानमा आउँदै गर्दा नेपालको सबैभन्दा नयाँ पार्टी माघ ६ गते अधिवेशन गरेर गगन थापालाई सभापति बनाएर आएको पार्टी कांग्रेस नेपालको सबैभन्दा नयाँ पार्टी हो । योभन्दा नयाँ पार्टी कुनचाहिँ छ अहिले ? नयाँ भनेको अनुहार नयाँ होइन, यो बदलेर आएको पार्टी हो । पार्टीहरू रातारात जम्मा एउटा प्रयोजनको लागि हिजोसम्म दायाँ र बायाँ फर्किएको मान्छे जम्मा एउटा प्रयोजनको लागि एक ठाउँमा आएको छ । त्यो जम्मा एउटा उद्देश्य छ, चुनाव जित्ने हो, त्यही हो नयाँको परिभाषा ? चुनाव जित्नको लागि हिजो कांग्रेस छाडेर आएको मान्छे भए पनि भयो, एमाले छाडेर आएको मान्छे भए पनि भयो, माओवादी छाडेर आएको मान्छे भए पनि भयो । नयाँको परिभाषा के हो ? नयाँको परिभाषा चुनाव जित्नु मात्रै हो ? चुनाव जित्न त माओवादीले पनि जित्यो नि ! नयाँ भएर जित्यो । तर, त्यो होइन नि । कमिटमेन्ट के हो ? दृष्टिकोण के हो ? यो प्रश्न घरघर लिएर जानुपर्छ । नयाँ खोजेको हो भने कांग्रेस हो । यो पुरानो कांग्रेस होइन, बदलिएको कांग्रेस हो । तपाईंहरूले घरघर गएर बताउनुपर्छ– यो कांग्रेसले देश समाल्छ, देश समाल्ने शक्ति चाहिएको छ । आगो लगाउन बडो सजिलो हुन्छ, भाद्र २४ गते लाग्यो त एकैदिनमा ! के बाँकी छ ? खरानी भएको छ । तर, बनाउनलाई सुझबुझ भएको शक्ति चाहिन्छ । बनाउनलाई होसमा भएको शक्ति चाहिन्छ । बनाउनलाई सम्हाल्ने शक्ति चाहिन्छ, धैर्य चाहिन्छ, चेतना चाहिन्छ । यो कांग्रेससँग त्यो ऊर्जा पनि छ, कांग्रेससँग आँखामा सपना पनि छ । पेटमा भोक पनि छ, आगो पनि छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

शक्तिशाली लटिनाथ मन्दिर जयपुरमा बृहत नवमी जात्रा, धार्मिक महिमा र जात्रा विशेष (भिडियो)

२०८२ कार्तिक १३, बिहीबार १८:२५ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?