दार्चुला । आगामी फागुन २१ गतेको प्रतिनिधिसभा चुनावका लागि नेकपा एमालेले दार्चुलाबाट केन्द्रीय सदस्य गणेशसिंह ठगुन्नालाई एकल उम्मेदवार सिफारिस गरेको छ। आइतबार (आज) बसेको एमाले जिल्ला कमिटी दार्चुलाको बैठकले पूर्वमन्त्री समेत रहनुभएका नेता ठगुन्नाको एकल नाम सिफारिस गरेको हो।
२०७० को दोस्रो संविधानसभा र २०७४ सालको प्रतिनिधिसभामा दार्चुलाबाट निर्वाचित नेता ठगुन्ना २०७९ मा गठबन्धनका साँझा उम्मेदवार नेपाली कांग्रेस केन्द्रीय सदस्य दिलेन्द्र प्रसाद बडूसंग पराजित हुनुभएको थियो। बलियो आन्तरिक एकताका साथ विकासबादी नेता ठगुन्नालाई आगामी निर्वाचनमा उम्मेदवार बनाएर जनताको माझमा जाने निर्णय गरिएको एमाले जिल्ला कमिटी अध्यक्ष ज्ञानेन्द्र घर्तीले जानकारी दिनुभयो। बदलिँदो राजनीतिक परिस्थितिमा ११औं राष्ट्रिय महाधिवेशनपछि एमाले नयाँ उर्जाका साथ अगाडि बढेको उहाँको भनाइ छ।
जिल्ला कमिटी अध्यक्ष ज्ञानेन्द्र घर्तीको अध्यक्षतामा आयोजित प्रतिनिधिसभा उम्मेदवार सिफारिसका लागि बसेको एमाले जिल्ला कमिटी दार्चुलाको नवौं पूर्ण बैठकमा केन्द्रीय कमिटी सदस्य गणेश सिंह ठगुन्ना, पूर्व केन्द्रीय कमिटी सदस्य हरदेब जोशी, प्रदेश कमिटी सदस्यहरू, जिल्ला कमिटी पूर्वअध्यक्ष रामदत्त जोशी, जिल्ला कमिटी पदाधिकारी र सदस्यहरू, पालिका कमिटी अध्यक्ष र जनसंगठनका जिल्ला अध्यक्ष लगायत सरोकारवालाहरूको सहभागीता रहेको जिल्ला कमिटी सचिव उमेश जोशीले बताउनुभयो।
बैठकलाई सम्बोधन गर्दै नेता ठगुन्नाले आफुमाथि पार्टी र नेता कार्यकर्ताहरूले गरेको माया र विश्वासका लागि धन्यवाद व्यक्त गर्दै नेतृत्व हस्तान्तरणको लागि आफु तयार रहेको र त्यसका लागि उपयुक्त वातावरण विस्तारै बन्ने प्रष्ट पार्नुभयो। इमानदारी र लगनशीलताका साथ आफुहरू जनताको माझमा जानुपर्ने र जिल्ला र जिल्लाबासीका लागि समर्पित भएर काम गर्ने बताउनुभयो। शुद्ध पार्टी निर्माणका लागि अवसरवादी कार्यकर्ताहरूलाई फिल्टर गरेर जानुपर्ने बेला आएको बताउदै उहाँले एमालेको नीति अनुसार समाज र जनताको पक्षमा काम र व्यवहार गर्न सबै नेता कार्यकर्तालाई सुझाव दिनुभयो। समानुपातिकतर्फ दार्चुलाबाट एमालेले जहेन्द्र सिंह ऐतवाललाई उम्मेदवार बनाएको छ। आगामी निर्वाचनमा एमालेले ऐतिहासिक जित हासिल गर्ने उहाँको भनाइ छ।
बैठकमा एमाले पूर्व केन्द्रीय सदस्य हरदेव जोशी, पूर्व जिल्ला कमिटी अध्यक्ष रामदत्त जोशी, जिल्ला कमिटी अध्यक्ष ज्ञानेन्द्र घर्ती लगायत धारणा राख्ने सबै नेताहरूले एकताबद्ध भई भारी बहुमतका साथ जित हासिल गर्न नेता गणेश सिंह ठगुन्नालाई एकल उम्मेदवार सिफारिस गरेर जनता मतदाताको माझमा जानुपर्ने धारणा राखेका थिए। नेता ठगुन्नालाई सर्वसम्मतरूपमा एकल सिफारिस गर्ने निर्णय गर्दै नवौं जिल्ला कमिटी बैठक सम्पन्न भएको जिल्ला कमिटी उपाध्यक्ष परमानन्द जोशीले बताउनुभयो।





प्रतिक्रिया