दार्चुला । कुनै बेला यस्तो समय थियो, यो विद्यालयको नाम मात्र सुन्नासाथ श्रोतकेन्द्रस्तरीय विभिन्न प्रतियोगिताहरू—निबन्ध लेखन, वादविवाद, हिज्जे, चित्रकला, हाजिरिजवाफ तथा खेलकुदमा सहभागी अन्य विद्यालयहरूमा एक प्रकारको मानसिक दबाब सिर्जना हुन्थ्यो। प्रतियोगिता सुरु हुनुअघि नै “यो विद्यालय आएको छ भने अब जित्न गाह्रो छ” भन्ने धारणा बनिसकेको हुन्थ्यो। त्यो केवल संयोग थिएन, त्यो विद्यालयको शैक्षिक स्तर, अनुशासन, मेहनत र उत्कृष्ट विद्यार्थी उत्पादन गर्ने क्षमताको परिणाम थियो।

कुनै बेला यही विद्यालयबाट एकै वर्ष ६४ जना विद्यार्थी एसएलसीमा प्रथम श्रेणीमा उत्तीर्ण भई जिल्लामै उत्कृष्ट नतिजा ल्याएको गौरवपूर्ण इतिहास छ। त्यो इतिहास केवल कागजमा सीमित उपलब्धि थिएन, त्यो गाउँ क्षेत्रको शैक्षिक चेतना, मेहनत र विद्यालयप्रतिको सामूहिक विश्वासको प्रतीक थियो।

तर आज समय फेरिएको छ।

आज यही विद्यालय विभिन्न कार्यक्रममा सहभागी हुँदा दर्शक मात्र होइन, कतिपय आयोजकहरूबाट समेत “यो त फलानो विद्यालय” भन्ने हेपाहा दृष्टिकोण प्रकट भइरहेको देख्दा मन दुख्छ। यद्यपि अझै पनि कतिपय विधामा विद्यालयका विद्यार्थीहरू उत्कृष्ट प्रदर्शन गर्न सफल भइरहेका छन्, तर विद्यालय र सहभागीप्रति गरिने व्यवहारमा पहिलेको सम्मान र सकारात्मक दृष्टिकोण हराउँदै गएको महसुस हुन्छ।

यो अवस्था किन आयो ?
यसको गम्भीर समीक्षा आवश्यक छ।

विद्यालय कमजोर बन्दै जानु केवल विद्यालय प्रशासन वा शिक्षकको मात्र असफलता होइन। यसका पछाडि राज्य, अभिभावक, समाज, नेतृत्व पक्ष र बदलिँदो सामाजिक सोच सबै जिम्मेवार छन्। तर यी सबैमध्ये सबैभन्दा ठूलो र आधारभूत समस्या भनेको शिक्षक दरबन्दीको चरम अभाव हो।

यो विद्यालयले वर्षौंदेखि पर्याप्त शिक्षक नपाउने पीडा भोगिरहेको छ। विषयगत शिक्षकको अभाव हुँदा गुणस्तरीय पठनपाठन कसरी सम्भव हुन्छ ? एउटै शिक्षकले धेरै विषय र कक्षा धान्नुपर्ने अवस्था हुँदा अपेक्षित नतिजा कसरी आउँछ ? यद्यपि केही अस्थायी, करार तथा नगरपालिकाको दरबन्दीमा शिक्षक व्यवस्थापन गरिएको देखिन्छ, तर उहाँहरूलाई आवश्यक तालिम, अभिमुखीकरण र अवसरको व्यवस्था पर्याप्त छैन। राज्यका जिम्मेवार निकायले यो यथार्थ बुझ्न नसक्नु, वा बुझेर पनि बेवास्ता गर्नु, अत्यन्त दुःखद पक्ष हो।

ग्रेडेड हुनु केवल परीक्षा उत्तीर्ण हुनु मात्र होइन, त्यो विद्यालयमा गरिएको वार्षिक लगानी, विद्यार्थीको मेहनत, शिक्षकको समर्पण र अभिभावकको अपेक्षाको प्रतिफल पनि हो। त्यसैले कुनै बेला गाउँ क्षेत्रकै अब्बल मानिएको विद्यालय आज किन खस्किँदैछ भन्ने प्रश्नको उत्तर खोज्नु सम्बन्धित सबै पक्षको दायित्व हो। तहअनुसारको उपलब्धि विश्लेषण गर्नुको सट्टा एकैपटक SEE को नतिजालाई मात्र केन्द्रमा राख्ने प्रवृत्तिले पनि समस्या बढाएको छ।

अर्कोतर्फ अभिभावकहरूको भूमिका पनि कमजोर बन्दै गएको देखिन्छ। आफ्ना छोराछोरी विद्यालय गए कि गएनन्, कस्ता साथीहरूसँग हिँडडुल गरिरहेका छन्, मोबाइल र कुलतको प्रभावमा त छैनन् भन्ने विषयमा पर्याप्त चासो दिइएको पाइँदैन। बरु “छिटो विद्यालय जाऊ, छुट्टी भएपछि घर आएर घरधन्दा गर” भन्ने सोच बढी देखिन्छ।

झन् दुःखको कुरा, विद्यार्थी कुलततर्फ गइरहेको देखेर शिक्षकले सचेत गराउन खोज्दा कतिपय अभिभावकबाट उल्टै दबाब आउने गरेको सुनिन्छ—“मेरो बच्चा बिग्रिए बिग्रियो, तपाईंलाई के मतलब ?” भन्ने मानसिकताले शिक्षकको मनोबल कमजोर बनाएको छ।

त्यसैगरी शिक्षक तालिम, नियमित मनिटरिङ, गोष्ठी, निर्देशन, मेन्टरिङ तथा शैक्षिक सहजीकरणको अभाव पनि देखिन्छ। केही आदरणीय गुरुहरूमा देखिएको गैरजिम्मेवारीपन, नेतृत्व पक्षको कमजोरी, समाजमा अध्ययन संस्कृतिको कमजोर वातावरण, “पढेर के नै पाइन्छ र ?” भन्ने नकारात्मक भाष्य—यी सबै कारणले विद्यालयको शैक्षिक वातावरण प्रभावित भएको छ।

तर समस्या जति गम्भीर देखिए पनि समाधान असम्भव छैन।

यदि राज्य साँच्चै जिम्मेवार बन्ने हो भने यो विद्यालय फेरि पुरानै लयमा फर्कन सक्छ।

सबैभन्दा पहिले आवश्यक दरबन्दीअनुसार स्थायी शिक्षक व्यवस्थापन गरिनुपर्छ। विषयगत शिक्षकलाई स्पष्ट जिम्मेवारी दिई कार्ययोजनासहित पठनपाठन सञ्चालन गर्नुपर्छ। शिक्षकहरूलाई समय–समयमा तालिम, अभिमुखीकरण र क्षमता विकासका कार्यक्रम सञ्चालन गरिनुपर्छ।

त्यसैगरी अभिभावकलाई विद्यालयसँग जोड्ने गरी नियमित सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न आवश्यक छ। समाजका प्रतिष्ठित व्यक्तित्व, सफल पूर्वविद्यार्थी तथा विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तिहरूलाई विद्यालयमा आमन्त्रण गरी विद्यार्थीलाई प्रेरणा दिने वातावरण निर्माण गरिनुपर्छ। देशभित्रै अवसर छन्, मेहनत र शिक्षा कहिल्यै व्यर्थ जाँदैन भन्ने सकारात्मक सन्देश फैलाउन सक्नुपर्छ।

सबैभन्दा महत्वपूर्ण कुरा—यो विद्यालयमा कम्तीमा एक जना भए पनि स्थायी दरबन्दीमा कार्यरत अनुभवी शिक्षकलाई प्रधानाध्यापकको जिम्मेवारीसहित पठाइनुपर्छ भन्ने जनविश्वास र अपेक्षा छ। नेतृत्व बलियो भयो भने विद्यालयलाई पुनः व्यवस्थित गर्न सहज हुन्छ।

सम्बन्धित निकायले अब पनि यो विद्यालयप्रति उदासीन बन्न मिल्दैन।

राज्यले हेर्नु पर्दैन ?
कार्ययोजना माग्नु पर्दैन ?

दरबन्दी मिलान र विद्यालय मर्जका कुरा वर्षौंदेखि सुनिँदै आएका छन्, तर व्यवहारमा विद्यालयले अझै अपेक्षित राहत पाउन सकेको छैन।

अब समय केवल आश्वासनको होइन, कार्यान्वयनको हुनु पर्दछ। हामीले आफ्ना केटाकेटी अन्त पठाएर सिंगो गाउँको शैक्षिक धरोहर कमजोर बनाउने होइन, बरु संस्थाको सुधारमा पहल, पैरवी, दबाब सिर्जना र सकारात्मक सुझाव दिनेतर्फ अग्रसर हुनुपर्छ। यद्यपि केही विशेष परिस्थितिका कारण बाहिर जानुपर्ने अवस्था आउन सक्छ, त्यसलाई अन्यथा ठान्नु पनि हुँदैन।

यो विद्यालयको गौरवशाली इतिहास मर्न दिनु हुँदैन।

हिजो जिल्लामै उत्कृष्ट नतिजा दिने विद्यालय फेरि उठ्न सक्छ—यदि राज्य जिम्मेवार बन्यो भने, यदि समाज जागरूक बन्यो भने, यदि अभिभावक सचेत बने भने, र यदि विद्यालयभित्र अनुशासन, जिम्मेवारी तथा सकारात्मक नेतृत्व स्थापित भयो भने।

विश्वास गरौँ—
यो पटक अवश्य पनि विद्यालयले आवश्यक स्थायी दरबन्दी प्राप्त गर्नेछ।
विद्यालयले फेरि गुमेको लय समात्नेछ।
फेरि उत्कृष्ट नतिजा निकाल्नेछ।

र फेरि एक दिन यस्तो समय आउनेछ, जहाँ यस विद्यालयको नाम सुन्नासाथ अन्य विद्यालयहरू सम्मानका साथ प्रतिस्पर्धा गर्न तयार हुनेछन्।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?