दार्चुला । बैतडीको पाटन नगरपालिका–८ खोड्पे जसुलीखाली निवासी संस्कारशिरोमणि ज्योतिषाचार्य पण्डित गणेशप्रसाद पन्त विगत २७ वर्षदेखि दलित बस्तीमै पुगेर वैदिक विधिअनुसार धार्मिक संस्कार सम्पन्न गर्दै सामाजिक समावेशिता र जातीय विभेदविरुद्ध अभियान सञ्चालन गर्दै आउनुभएको छ ।

श्री वनारसीधाम विश्वनाथ ज्योतिर्लिङ्ग मन्दिरका मूल पुजारीसमेत रहेका पन्तले सप्ताह, शिवपुराण, लघुरुद्राभिषेक, महारुद्राभिषेक, सत्यनारायण पूजा, विवाह, व्रतबन्ध, न्वारन, गृहप्रवेश, वास्तुशान्तिलगायत विभिन्न धार्मिक कर्मकाण्ड दलित समुदायमै सम्पन्न गर्दै धार्मिक चेतना फैलाइरहनुभएको हो ।

पन्तका अनुसार उहाँले हालसम्म ३७ सप्ताह, २३ शिवपुराण, २८७ लघुरुद्राभिषेक, १८१ महारुद्राभिषेक, ६७५ सत्यनारायण पूजा, ५८३ ग्रहशान्ति, २९ शतचण्डी तथा ५५ अखण्ड रामायणसहित सयौँ धार्मिक अनुष्ठान दलित बस्तीमै सम्पन्न गरिसक्नुभएको छ ।

उहाँले १ हजार ३७५ भन्दा बढी सिल्पी समुदायका व्यक्तिलाई जनैधारण गराइसकेको तथा २९९ दलित महिलालाई वैदिक परम्पराअनुसार दूबधागो–दोरक धारण गराइएको जानकारी दिनुभयो। पन्तका सहयात्री आचार्य कृष्ण दमाईँले पशुपति क्षेत्रमा आयोजित कोटिहोम महायज्ञमा व्याँसपीठबाट प्रवचनसमेत दिनुभएको थियो ।

ज्योतिषाचार्य पन्तले धर्मग्रन्थले कुनै पनि मानवमाथि जातीय वा लैङ्गिक विभेद नगरेको उल्लेख गर्दै छाउपडी, छुवाछुत तथा सामाजिक बहिष्कारजस्ता कुरीति धर्मका नाममा स्थापित विकृत अभ्यास भएको बताउनुभयो।

“धर्म मानवताको आधार हो, विभेदको होइन,” उहाँले भन्नुभयो, “आज पनि धेरै ठाउँमा दलित समुदायका घरमा ब्राह्मण पुगेर विवाह, न्वारन वा व्रतबन्ध गराउँदैनन्। चिहानघाटसम्म विभेद हुने अवस्था अन्त्य गर्न धार्मिक अगुवाहरू नै अग्रसर हुनुपर्छ।”

दलित समुदायभित्र समेत आपसी छुवाछुत र पानी–भान्साको विभेद रहेको उल्लेख गर्दै उहाँले समाजमा व्यापक चेतनाको आवश्यकता रहेको औँल्याउनुभयो।

सन्ध्या पूजाका क्रममा अथर्ववेदलाई “दलितको वेद” भन्दै अपमानपूर्वक व्यवहार गर्ने प्रवृत्तिप्रति पनि पन्तले आपत्ति जनाउनुभयो। आधुनिक विज्ञान, सञ्चार र प्रविधिको आधार वैदिक ज्ञानपरम्परामै निहित रहेको दाबी गर्दै उहाँले शिल्पकार समुदायमाथिको विभेद सभ्य समाजका लागि लज्जास्पद विषय भएको बताउनुभयो।

दलित बस्तीमा वैदिक कर्मकाण्ड सञ्चालन गर्न थालेपछि आफ्ना पुर्ख्यौली ५७५ यजमान गुमाउनुपरेको अनुभव सुनाउँदै पन्तले सामाजिक सञ्जालमार्फत आलोचना र गालीगलौज भए पनि आफू मानवता र धर्ममार्गबाट विचलित नभएको बताउनुभयो ।

प्रत्येक हिन्दू परिवारमा वेद, पुराण, शालिग्राम, तुलसी, शङ्ख–घण्ट तथा पाञ्चायन देवताको स्थापना गराउने दीर्घकालीन अभियानसमेत सञ्चालन गरिरहेको पन्तले बताउनुभयो ।

धार्मिक क्षेत्र, मन्दिर र संस्कार सबैका लागि समान रूपमा खुला हुनुपर्नेमा जोड दिँदै उहाँले सामाजिक न्याय, धार्मिक समावेशिता र वैदिक मानवतावादलाई एकै सूत्रमा बाँधेर अभियान अघि बढाइरहेको बताउनुभयो।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?