दार्चुला । दार्चुलाको नौगाड गाउँपालिकामा नसर्ने रोगहरुको चेकजाँच तथा सामान्य आयुर्वेदिक औषधि उपचार शिविर सञ्चालन हुने भएको छ । नागरिक आरोग्य केन्द्र नौगाडको मासिक कार्ययोजना अनुसार गाउँपालिकाका ६ वटै वडाहरुमा शिविर सञ्चालन हुन लागेको हो ।
शिविरमा ३० वर्ष माथिका नागरिकहरुमा नसर्ने रोगको परीक्षण तथा सामान्य आयुर्वेदिक औषधि उपचार सेवा प्रदान गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुष्कर सिंह धामीले जानकारी दिनुभयो । शिविर माघ २९ गते देखि फागुन १५ गते सम्म सञ्चालन हुने उहाँले बताउनुभयो ।
माघ २९ गते गाउँपालिकाको वडा नम्बर १ को ईयरकोट स्वास्थ्य चौकी, कसाडमा शिविर सञ्चालन हुने छ । त्यस्तै फागुन १ गते वडा नम्बर २ को सुण्डुमुण्डु आधारभूत स्वास्थ्य ईकाईमा, फागुन ४ गते वडा नम्बर ३ को खार स्वास्थ्य चौकीमा, फागुन ६ गते वडा नम्बर ४ को सिप्टी स्वास्थ्य चौकीमा, फागुन १० गते वडा नम्बर ५ को सौकेबगड आधारभूत स्वास्थ्य इकाई केन्द्र र फागुन १५ गते वडा नम्बर ६ को धुलिगडा स्वास्थ्य चौकीमा शिविर सञ्चालन हुने प्रमुख प्रशासकीय अधिकृत धामीले जानकारी दिनुभयो ।
शिविर सबै वडाहरुमा विहान १० बजेदेखि दिउँसो ४ बजे सम्म सञ्चालन हुने छ। आफ्नो पायक पर्ने स्थानमा शिविर सञ्चालन हुने दिन उपस्थित भएर सेवा लिन आग्रह गरिएको छ ।




