दार्चुला । दार्चुला सदरमुकाम खलंगामा डिउटीमै रहेका एक जना प्रहरी हवल्दार मृत फेला परेका छन् । मंगलबार विहान जिल्लाको महाकाली नगरपालिका वडा नम्बर ४ बङ्गाबगडमा डिउटीमा रहेका प्रहरी हवल्दार योगेन्द्र घर्ती मृत फेला परेका हुन । घटना गयराती नै भएको बताइएको छ।
बंगाबगडकोे सामुदायिक प्रहरी सेवा केन्द्रमा कार्यरत प्रहरी हवल्दार घर्ती डिउटीमा रहेकै बेला मृत फेला परेका हुन् । बङ्गाबगडको रिङ्नताल बंगाबगड क्षेत्रमा रहेको पुजा वियर बारको पछाडीपट्टी घर्तीको शव फेला परेको हो । पुजा वियर बारको भित्र रगत लागेको देखिएको स्थानीयले बताएका छन् । भने बार सञ्चालक गयराती देखि सम्पर्कविहिन रहेको बताइएको छ ।
प्रहरी हवल्दार घर्तीको सोमबार राती हत्या गरिएको भन्दै आफन्तहरूले हत्यामा संलग्नको खोजी गरि कडा कार्वाहीको माग गरेका छन् । प्रहरीले भने यस विषयमा थप पुष्टी गरेको छैन् । मृतक घर्तीको टाउँकोमा धारिलो हतियार प्रहार गरेर हत्या र शरीरमा रड प्रहार गरि हत्या गरिएको हुन सक्ने आशंका गरिएको छ । अहिले मृतक घर्तीको शव पोष्टमाटमको लागि जिल्ला अस्पतालमा राखिएको छ ।
स्थानीयहरुका अनुसार गयराती ९ बजेको समयमा उक्त क्षेत्रमा हो हल्ला भइरहेको थियो । प्रहरीले भने घटनाबारे विवरण खुलाएको छैन । घटना स्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानको टोली खटिएको छ । घटनाको सुक्ष्म र गम्भीर तवरले अनुसन्धान सुरु गरिएको दार्चुला प्रहरीले जनाएको छ । अहिले जिल्ला प्रहरी, प्रशासन कार्यालय र घटनास्थलमा सुरक्षा सतर्कता बढाइएको छ।




