दार्चुला ।दार्चुलाको महाकाली नगरपालिका–४ मा प्रहरी हवल्दार योगेन्द्र घर्तीको हत्या गरिएको घटनामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ भने अन्य चार जना फरार भएका छन् । घर्तीको हत्यामा संलग्न रहेको आशंकामा महाकाली नगरपालिका–४ बस्ने २० वर्षीया दिपिका पाल, २१ वर्षीया पायल लुहार र सुरेन्द्र बमलाई पक्राउ गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी) पदमबहादुर विष्टले जानकारी दिनुभयो ।
उहाँका अनुसार घटनामा संलग्न तथा सहयोगीको भूमिका खेलेका अन्य चार जना भने फरार भएका छन् । फरार हुनेमा बियर बारका सञ्चालक आशिक पाल, उनकी जेठो श्रीमती लक्ष्मी बडु, भाइ मनिस पाल र शव व्यवस्थापनमा सहयोग गर्ने राजेन्द्र डडाल रहेका छन् ।
पक्राउ परेकी दिपिका पाल भने आशिक पालकी कान्छी श्रीमती भएको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानका क्रममा कान्छी श्रीमती दिपिकालाई जिस्काएको भन्दै उनका श्रीमान आशिकले प्रहरी हवल्दार घर्तीमाथि कुटपिट गरेका थिए । पक्राउ परेकाहरुले आशिक र उनका भाइले कुटपिट गरेर हत्या गरेको बयान प्रहरीलाई दिएपनि त्यसको सत्यापन परीक्षणको काम भइरहेको जनाएको छ ।
एसएसपी विष्टकाअनुसार घर्तीको टाउकोमा धारिलो हतियार प्रहार गरिएको पाइएको छ । घटनापछि फरार रहेकाहरुको खोजी कार्य भइरहेको छ भने घटनाबारे थप अनुसन्धान जारी रहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
मंगलबार विहान जिल्लाको महाकाली नगरपालिका वडा नम्बर ४ बङ्गाबगडमा प्रहरी हवल्दार योगेन्द्र घर्ती मृत फेला परेका थिए । बङ्गाबगडको रिङ्नताल बंगाबगड क्षेत्रमा रहेको पुजा वियर बारको पछाडीपट्टी घर्तीको शव फेला परेको हो । आफन्तहरूले हत्यामा संलग्नको खोजी गरि कडा कार्वाहीको माग गरेका छन् ।




