दार्चुला । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रतिनिधि सभा निर्वाचनको परिणामलाई स्वीकारेका छन् । चुनावी प्रारम्भिक मत परिणाम अनुसार पार्टीले हार बेहोर्दै गर्दा उपसभापति शर्माले संयमित भएर मतदाताको फैसला स्वीकार्य भएको बताएका हुन् ।
उनले ०६४ सालमा जसरी सशस्त्र द्वन्द्वबाट आएको माओवादीले जितेर उदाएको थियो त्यही संयम दोहोर्याउँदै रास्वपा आइरहेको भन्दै उक्त परिणामलाई स्वागत गरेका हुन् ।
उनले भनेका छन्, ‘बुलेटबाट उदाएको माओवादीलाई स्वागतको संयम दोहोर्याउँदै ब्यालेटबाट आउँदै गरेको रास्वपालाई स्वागत । ०७९ मै प्रस्तुत संकेतका दृष्टिले यो अप्रत्याशित होइन । चर्को आशा अर्को निराशामा बदलिनु हुन्न, देशको मूल प्रश्नमा साथ र खबरदारी दुवै रहनेछ ।’
उपसभापति शर्माले रास्वपाको यो परिणाम अप्रत्याशित नभएको बताएका छन् । उनले ०७९ को चुनावमै रास्वपले उक्त सङ्केत देखाइसकेको भन्दै अहिले आएको यो परिणाम अप्रत्याशित नभएको बताए । रास्वपा ०७९ को असारमा गठन भएर मंसिरमा चुनाव लड्दा राष्ट्रिय दलको मान्यतासहित चौथो ठुलो दल बनेको थियो । ०७९ को निर्वाचनमा कांग्रेस सबैभन्दा ठुलो दल बनेको थियो ।




