दार्चुला । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले लेकम गाउँपालिकामा चुनावी समीक्षा कार्यक्रम सञ्चालन गरेको छ। बिहीबार वडा नम्बर ५ चौपातामा हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचन को समीक्षा तथा मतदातालाई धन्यवाद ज्ञापन कार्यक्रम आयोजना गरिएको रास्वपा लेकम गाउँपालिका सभापति महेश नाथले जानकारी दिनुभयो।
कार्यक्रममा बोल्दै सभापति नाथले प्रतिनिधि सभा निर्वाचनमा रास्वपाले मतका आधारमा निर्वाचन हारे पनि जनताको आवाजको प्रतिनिधि र सचेत नागरिकको रूपमा आफूहरूले नैतिक रूपमा चुनाव जितेको बताउनुभयो। दार्चुलाको सन्दर्भमा निर्वाचन परिणाम रास्वपाको पक्षमा नआए पनि जनताले परिवर्तनको स्पष्ट संकेत दिएको उहाँको भनाइ छ।
विभिन्न कारणले यस पटकको निर्वाचनमा पराजय बेहोर्नु परे पनि आगामी स्थानीय तह लगायतका अन्य निर्वाचनमा रास्वपा मजबुत रूपमा उत्रिने उहाँले बताउनुभयो। निर्वाचनमा आफ्नो अमूल्य मत दिएर हौसला प्रदान गर्ने सम्पूर्ण मतदाताप्रति सभापति नाथले धन्यवाद व्यक्त गर्नुभयो।
यसैबीच रास्वपाले लेकम गाउँपालिकामा पार्टी कार्यालय पनि स्थापना गरेको छ। गाउँपालिकाको वडा नम्बर ५ रिठाचौपातामा पालिकास्तरीय पार्टी कार्यालय स्थापना गरिएको सभापति नाथले जानकारी दिनुभयो।
कार्यक्रमकै अवसरमा लेकम गाउँ कमिटीको प्रमुख सल्लाहकार तथा अनुशासन आयोग प्रमुख नियुक्त गरिएको र पालिका कमिटीमा थप चार जना सदस्य मनोनयन गरिएको उहाँले बताउनुभयो। साथै, सोही अवसरमा २३ जना रास्वपामा प्रवेश गरेका छन्।
रास्वपा लेकम गाउँपालिका सभापति महेश नाथको सभापतित्वमा कार्यक्रम सञ्चालन भएको थियो। कार्यक्रममा रास्वपाका संस्थापक जिल्ला उपसभापति राजेन्द्र पन्त लगायतका नेता–कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको सभापति नाथले जानकारी दिनुभयो।




