दार्चुला । गत बिहीबार सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनबाट निर्वाचित दार्चुलाका सांसद गणेशसिंह ठगुन्नासहितको टोलीले जिल्लाका नौं वटै स्थानीय तहमा धन्यवाद तथा भेटघाट कार्यक्रम सञ्चालन गर्ने भएको छ।

एमालेको तर्फबाट निर्वाचित प्रतिनिधि सभा सदस्य ठगुन्नासहितको टोलीले जिल्लाका नौं वटै स्थानीय तहमा मतदातालाई धन्यवाद ज्ञापन तथा भेटघाटका लागि कार्यक्रम सञ्चालन गर्न लागेको एमाले जिल्ला कमिटीका सचिव उमेशराज जोशीले जानकारी दिनुभयो।

सांसद ठगुन्नासहितको टोलीले शुक्रबार नौगाडबाट कार्यक्रम सुरु गर्ने र नौं वटै स्थानीय तहमा चैत ४ गतेसम्म कार्यक्रम सञ्चालन गरी चैत ५ गते जिल्ला स्तरीय कार्यक्रम आयोजना गर्ने तयारी रहेको उहाँले बताउनुभयो।

प्रतिनिधि सभा निर्वाचनमा मतदान बहिष्कार गरेका नौगाड गाउँपालिका–१ को नागु र अपिहिमाल गाउँपालिकाको झुस्कु लगायतका टोलहरूमा पनि भेटघाट तथा छलफल कार्यक्रम गरिने सचिव जोशीले जानकारी दिनुभयो।

धन्यवाद तथा भेटघाट कार्यक्रमअन्तर्गत शुक्रबार (भोली) नौगाड गाउँपालिकाको सुण्डमुण्डमा दिउँसो १२ बजे भेटघाट तथा धन्यवाद ज्ञापन कार्यक्रम राखिएको छ। सोही दिन स्वर्गीय नेता विरबहादुर ठगुन्नाको सालिकमा माल्यार्पण गर्ने कार्यक्रम रहेको छ भने बेलुकी नौगाड–१ नागुमा भेटघाट तथा छलफल कार्यक्रम आयोजना गरिनेछ।

त्यस्तै फागुन ३० गते दिउँसो ३ बजे मार्मा गाउँपालिकाको लटिनाथमा र बेलुकी वडा नम्बर १ को दह गुल्जरमा कार्यक्रम आयोजना गरिनेछ। चैत १ गते अपिहिमाल गाउँपालिकाको खण्डेश्वरी–झुस्कुमा कार्यक्रम सञ्चालन गरिने सचिव जोशीले जानकारी दिनुभयो।

यसैगरी चैत २ गते बिहान ९ बजे शैल्यशिखर नगरपालिकाको गोकुलेश्वरमा कार्यक्रम गरी सोही दिन दिउँसो २ बजे लेकम गाउँपालिका स्तरीय कार्यक्रम रिठाचौपातामा सञ्चालन गरिनेछ। चैत ३ गते बिहान ९ बजे मालिकार्जुन गाउँपालिकाको शंकरपुरमा र दिउँसो २ बजे महाकाली नगरपालिकाको सदरमुकाम खलंगामा कार्यक्रम सञ्चालन हुने छ।

चैत ४ गते बिहान १० बजे दुहुँ गाउँपालिकाको चल्लेगडामा र दिउँसो ४ बजे व्याँस गाउँपालिका स्तरीय भेटघाट कार्यक्रम सञ्चालन गरिनेछ। चैत ५ गते जिल्ला सदरमुकाममा जिल्ला स्तरीय कार्यक्रम आयोजना गर्ने तालिका रहेको सचिव जोशीले जानकारी दिनुभयो।

यसअघि सांसद ठगुन्नाले जिल्ला सदरमुकाम खलंगा र मालिकार्जुन पुगेर स्वर्गीय राष्ट्रवादी नेता प्रेमसिंह धामीको सालिकमा माल्यार्पण गर्नुका साथै मतदातालाई धन्यवाद ज्ञापन तथा सुझाव संकलन गर्नुभएको थियो।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?