दार्चुला । अमेरिकाले भर्खरै सम्पन्न प्रतिनिधिसभा सदस्य चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्राप्त गरेको सफलताका लागि सभापति रवि लामिछानेलाई बधाई दिएको छ ।
दक्षिण तथा मध्य एशियाली मामिलासम्बन्धी अमेरिकी विशेष दूत सर्जिओ गोर र रास्वपाका सभापति लामिछानेबीच हिजो टेलिफोन वार्ता भएको र गोरले चुनावमा प्राप्त सफलताका लागि बधाई दिनुभएको काठमाण्डौमा रहेको अमेरिकी दूतावासले जनाएको छ ।
दूतावासकाअनुसार विशेष दूत गोरले हिजो सभापति लामिछानेसँग संवाद गर्नुभएको थियो । त्यस अवसरमा विशेष दूत गोरले नेपाल र अमेरिकाबीचको कूटनीतिक सम्बन्ध र भावी सहकार्यका विषयमा समेत चर्चा गरेको दूतावासले उल्लेख गरेको छ । साथै अमेरिकी सरकार नेपालको नयाँ सरकारसँग सहकार्य गर्न उत्सुक रहेको दूतावासले जनाएकाे छ ।
गएको फागुन २१ गते भएको चुनावमा रास्वपाले झन्डै दुईतिहाइ बहुमत प्राप्त गरेको छ ।




