दार्चुला । प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा आज भएका खेलमा गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेश विजयी भएका छन् ।

वीरगञ्जमा भएको खेलमा गण्डकीले लुम्बिनी प्रदेशलाई ८ विकेटले हरायो । लुम्बिनीले दिएको २०८ रनको लक्ष्य गण्डकीले ४४ ओभर १ बलमा २ विकेट गुमाएर भेटायो । गण्डकीका अर्जुन कुमालले नटआउट १०३ रन बनाए । प्रतियोगितामा अर्जुनको यो दोस्रो शतक हो । यसअघि उनले कोशी प्रदेशसँगको खेलमा शतक बनाएका थिए । लुम्बिनीका सन्तोष यादव र दिनेश बोहराले १/१ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको लुम्बिनी ४५ ओभरमा २०७ रन बनाउँदा अलआउट भयो । लुम्बिनीका सन्तोष यादवले ८२ रन बनाए । गण्डकीका विपिन खत्रीले ४ विकेट लिए ।

यो जीतसँगै गण्डकी ८ खेलमा ७ अङ्कसहित तालिकाको आठौँ स्थानमा छ । लुम्बिनी ७ खेलमा ७ अङ्कसहित नेट रन रेटका आधारमा सातौँ स्थानमा छ ।

यस्तै जनकपुरमा भएको खेलमा सुदूरपश्चिमले नेपाल पुलिस क्लबलाई ५६ रनले हरायो । सुदूरपश्चिमले दिएको १९२ रनको लक्ष्य पछ्याएको पुलिस ३५ ओभर १ बलमा १३५ रनमा अलआउट भयो । पुलिसका गुल्सन झाले ५० रन बनाए । सुदूरपश्चिमका हेमन्त धामी र शेर मल्लले ३/३ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिमले ४० ओभर ४ बलमा १९१ रन बनाउँदा सबै विकेट गुमायो । सुदूरपश्चिमका नारायण जोशीले ८२ रन बनाए । पुलिसका दिनेश खरेलले ४ विकेट लिए ।

यो जीतसँगै सुदूरपश्चिम ९ खेलमा १२ अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ । पुलिस ८ खेलमा ९ अङ्कसहित तेस्रो स्थानमा छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?