दार्चुला । नयाँ वर्ष २०८३ तथा बिसु पर्वको अवसरमा दार्चुलाको नौगाडमा खुला वडा स्तरीय भलिबल प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ। नौगाड वडा नम्बर ६, धुलिगडास्थित नौगाडेश्वरी गाउँ खेलकुद विकास समितिले नयाँ वर्षको रौनकलाई थप उत्साहजनक बनाउन यो प्रतियोगिता आयोजना गर्न लागेको हो।
प्रतियोगितामा महिला तथा पुरुष भलिबलत र अन्य विभिन्न खेल तथा सांस्कृतिक कार्यक्रम सञ्चालन गरिने समितिका समितिका सचिव प्रकाश टमटाले जानकारी दिनुभयो । प्रतियोगितामा पुरुष भलिबल तर्फको विजेताले नगद ७५ हजार ५ सय ५५ रुपैयाँ र उपविजेताले ३५ हजार ५ सय ५५ रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्नेछन्। त्यस्तै महिला भलिबलतर्फ प्रथम हुने टिमलाई १५ हजार ५ सय र द्वितीय हुनेलाई ८ हजार ५ सय रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ। खेल अवधिभर उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी, स्पाइकर र डिफेन्डर लगायतलाई विधागत पुरस्कार समेत प्रदान गरिनेछ।
खेलकुदसँगै स्थानीय कला र संस्कृतिको जगेर्ना गर्न लोक नृत्य, सांस्कृतिक झाँकी, रस्सा तान्ने र मेच दौड जस्ता रोचक प्रतियोगिताहरू पनि सञ्चालन हुनेछन्। आयोजकका अनुसार प्रतियोगितामा सहभागी हुन चाहने टिमले वैशाख १ गतेदेखि ३ गते बिहान १० बजेसम्म दर्ता गरिसक्नुपर्नेछ भने खेलको औपचारिक उद्घाटन वैशाख ३ गते दिउँसो २ बजे गरिनेछ। प्रतियोगितामा सहभागी हुने खेलाडीहरूले अनिवार्य रूपमा आफ्नो सक्कल नागरिकता साथमा ल्याउनुपर्ने प्रावधान राखिएको छ।





