दार्चुला । दार्चुलासहित सुदूरपश्चिममा बिसु पर्वको रौनक शुरु भएको छ । नयाँ वर्षको पहिलो दिनलाई सुदूरपहाडमा धुमधामका साथ बिसु पर्वका रूपमा मनाउने चलन छ । बिसु पर्व विशेषगरी सुदूरपश्चिमका सात वटा पहाडी जिल्लामा मनाउने गरिन्छ । दार्चुला, बैतडी, अछाम, डोटी, डडेल्धुरा, बझांग र बाजुरामा यो पर्व वैशाख १ गते मनाउने प्रचलन छ ।
देवर भाउजु, नन्द भाउजु र साली भिनाजुले एक आपसमा सिस्नुपानी छ्यापेर यो पर्व मनाइन्छ । देवर, नन्द नहुने भाउनु र भाउजु नहुने देवर, भिनाजु नहुने साली र साली नहुने भिनाजुले बिसु तिहारको दिनमा आफैले भए पनि शरीरमा सिस्नो लगाउनु पर्ने परम्परा छ । हरेक वर्ष बिसु पर्वमा मिठामिठा खानाका परीकार बनाउने र विशेष गरेर सिस्नु लगाउने प्रचलन रहिआएको छ । बिसुका दिन सिस्नो लगाउँदा वर्षभरी शरीरमा कुनै पनि रोग नलाग्ने जनविश्वास छ ।
शरीरमा सिस्नो लगाउँदा छालामा भएका खटिरा निको हुने र छालासम्बन्धी रोग निर्मूल हुने जनविश्वास पनि छ । रोजगारीका लागि भारत गएका सुदूरपश्चिमेली नयाँ वर्षका लागि घर फर्किएका छन् । काम गर्नका लागि भारत पसेकाहरू बिसु मनाउन घर फर्किने गर्दछन ।
सुदूरपश्चिमको महत्वपूर्ण पर्वका रूपमा रहेको बिसु पर्व आउनु पूर्व नै जिल्लामा रहेका सबै घर रातो माटो र कमेरो माटोले लिपपोत गर्ने गरिन्छ । बैशाख सुरु भएसँगै रोग ब्याधी, महामारी र अनिकालको समय शुरु हुने भएकाले त्यसको रक्षाका लागि सिस्नो लगाउँदै घर परिवारका सदस्यसँगै बसेर बिसु मनाउने चलन रहेको छ ।
बिसु पर्वमा पढाइ र रोजगारीको सिलसिलामा गाउँ बाहिर गएकाहरु र कामको लागि भारतका विभिन्न शहर गएकाहरु घर फर्किने भएकोले गाउँघरमा चहलपहल बढेको छ ।सुदूरपहाडमा बिसु पर्वलाई भव्य रुपमा मनाउने चलन धेरै पहिले देखि चलिआएको छ । पुरानो वर्षलाई बिदाइ तथा नयाँ वर्षको स्वागत गर्ने पर्व पनि भएकोले दशैं तिहारपछि हिउँदमा खाली भएका गाउँ बस्तीमा यती बेला चहलपहल बढेको छ ।
दार्चुलाको मार्मा क्षेत्रमा बिसु पर्वलाई विशेष रुपमा मनाइन्छ । बिसुको अवसरमा तीन देखि पाँच दिनसम्म गाउँ गाउँमा देउडा लगायत विभिन्न खेल खेल्ने, धामी चल्ने, छलिया खेल्ने चलन रहेको मार्माका स्थानीय प्रकाश टमटाले बताउनुभयो । मार्मा र नौगाडमा १ गते विभिन्न देवता मान्ने धामीहरु चल्छन ।
सिप्टीमा दुर्गाको मन्दिरमा धामी कामेर (चलेर) चामल पैटने र त्यहाँबाट कामेकै अवस्थामा विनायक धारदेखि दुर्गाको मन्दिर थानसम्म पुगेर फर्किएपछि बिसु जात सेलाउने परम्परा रहेको छ । पहिलो दिन १ गते विभिन्न सांस्कृतिक गतिविधिसंगै धामी चल्ने र सिस्नु खेल्ने, मिठो परिकार खाने चलन छ भने दोस्रो दिनदेखि विशेषगरी देउडा र छलिया खेल खेल्ने प्रचलन छ । मार्मा क्षेत्रमा विशेषगरी दुर्गा भगवतीको नाममा बिसु मनाउने चलन रहेको उहाँले बताउनुभयो ।




