अमेरिका र इरानबिच पछिल्लो समय असफल बनेको वार्तापछि फेरि संवाद शुरू हुन सक्ने संकेत देखिएको छ ।
पाकिस्तानका सेना प्रमुख असीम मुनीर नेतृत्वको उच्चस्तरीय प्रतिनिधिमण्डल इरानको राजधानी तेहरान पुगेको बीबीसीले जनाएको छ । टोलीमा पाकिस्तानका गृहमन्त्री मोहसिन नक्वी पनि सहभागी हुनुहुन्छ ।
इरान सरकारको आधिकारिक स्रोतले यो भ्रमणका तस्बिर सार्वजनिक गरेको छ । यो भ्रमणलाई अमेरिका–इरानबिच पुनः वार्ता गराउने प्रयासका रूपमा हेरिएको छ ।
यसअघि वार्ता निष्कर्षविहीन बनेपछि अहिले दुवै देशबीच पाकिस्तानी मध्यस्थतामार्फत सन्देश आदान–प्रदान भइरहेको इरानको भनाइ छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि हालैको अन्तर्वार्तामा इरानसँग फेरि वार्ता हुन सक्ने बताउनुभएको थियो ।
उहाँले युद्ध अन्त्य नजिक पुगेको दाबी गरे पनि आवश्यक परे थप कारबाही हुन सक्ने संकेत पनि दिनुभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । हर्मुज जलमार्गमा जहाज आवतजावतको विषय अझै अन्योलपूर्ण छ ।
पाकिस्तानको सक्रिय कूटनीतिक पहलकाबीच अमेरिका–इरान सम्बन्ध पुनः संवादतर्फ उन्मुख हुने संकेत देखिए पनि क्षेत्रीय तनाव भने अझै कायमै रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
दुई देशबीचको दुई हप्ते युद्ध विरामको समय आउँदो हप्ता सकिँदैछ ।




